आज जेठ २५ गतेदेखि रमदान सुरु भएको छ । रमदान इस्लाम धर्मावलम्बीहरूको पर्व हो । आजदेखि मुसलमान समुदायका महिला–पुरुष दुवै एकमहिने (रोजा) व्रत बस्छन् । एकमहिने व्रतलाई मुसलमान समुदायले पवित्र धार्मिक उत्सव मान्छन् । इस्लामिक पात्रो हिजरीका अनुसार नवौं महिना हो, रमदान ।
गर्भवती र रजस्वला भएका महिला पनि रोजा बस्दैनन् । त्यस्तै यात्रा गर्दा, बिरामी भएको अवस्थामा रोजा अनिवार्य छैन । विविध परिस्थितिले रोजा बीचैमा रोकिएकाहरूले अर्को महिना पूरा गर्ने चलन छ । रोजा अवधिभर सूर्योदय हुनुभन्दा करिब २ घन्टाअघि नै सेहेरी (बिहानको खाना) खान्छन् । त्यस्तै, सूर्यास्तपछि मात्रै इफ्तारी (साँझको खाना) खान्छन् । योबाहेक दिनभर खाना खान वा पानी पिउन र जानेर थुक पनि निल्न बर्जित छ, रोजाको नियमअनुसार ।
वर्षभरिका अन्य महिनामा भन्दा रमदानमा अल्लाहको अझै समीप पुग्न सकिने विश्वास मुसलमानले गर्दै आएको देखिन्छ । त्यसैले यो महिनामा अल्लाहको विशेष प्रार्थना गरिन्छ । रोजा अवधिभर मुख्यतः बढीभन्दा बढी समय निकालेर कुरआन पाठ गर्नेे, आफूले जानेका इस्लामिक ज्ञान एकापसमा साटासाट गर्ने, दिनमा पाँचपटक नमाज पढ्ने गरिन्छ । अन्य महिनामा भन्दा रमदानमा ७० गुणा बढी पुण्य कमाइने विश्वासले यसो गरेको मानिन्छ । नखाने, नपिउने मात्र रोजा होइन । रोजा अवधिभर अनाश्यक गफसमेत गर्दैनन् । गीत गाउने, नाच्नेलगायत मनोरञ्जनात्मक क्रियाकलाप पनि गर्दैनन् । यौन सम्बन्ध पनि राख्दैनन् । अन्यथा, रोजा भंग र अर्थहीन भइजाने कुरआनमा उल्लेख गरिएको छ ।
धार्मिक दृष्टिकोणसँग मात्र जोडिएको छैन, रोजाभित्र दीन–दुःखीलाई खाना खुवाउने, लत्ताकपडा दिने, दान दिने पनि हुन्छ । समाजसेवामा पनि गर्छन् । खासगरी रोजाको सम्बन्ध समाज, परिवार, शरीर र मन–मस्तिष्कसँग रहन्छ । भोकै बसेर दिन दुःखीको सेवा गर्नुमा जीवन र जगत्कै गहिरो बुझाइ रहेको हुन्छ । यसलाई सामान्य अर्थमा परिभाषित गर्नु सामान्य नै हुन्छ । यो एउटा जीवनको अभ्यास मात्रै हो कि, मानिसहरू आफू भोको हुँदा पनि अरुको सेवा वा मानवताका लागि सोचून् ।
जेहोस्, रोजाले मुस्लिम समुदायलाई सरल जीवनको अभ्यास अवश्य नै गराउँछ ।स्वास्थ्य नै धन हो, यसमा दुईमत छैन । स्वास्थ्य पनि उत्तिकै जोडिएको छ, रोजामा । नियमित खाइरहेका मानिसले समय–समयमा व्रत बस्दा पाचनक्रियाले आराम पाउँछ र शरीरलाई धेरै कुरामा सन्तुलन गर्न सघाउँछ, यी कुरा वैज्ञानिक रुपमा पनि प्रमाणित भएको छ । पुर्खाले धेरै समयको अभ्यास, अनुभवले बनाएका नियममा पनि वैज्ञानिक तथ्य हुन्छन् ।
त्यस्तै, रोजा अवधिभर अनुशासित रहने, झुट नबोल्ने, झगडा, चोरीसँग टाढा रहने अभ्यास गरिन्छ, जसले मानिसको मन भड्किन पुगेको छ भने पनि सत्मार्गमा ल्याउँछ । त्यसैले व्यक्तिको अनुशासन र इमानदारितासँग जोडिएको कुरा हो, रोजा । रोजा अवधिभर दिन दुःखीको सेवामा तल्लिन हुन कुरआनमा भनिएको छ । एक महिना भोकै बसेर दिन दुःखीको सेवा गर्न मुसलमानहरू तल्लीन हुन्छन् । त्यस्तै, रोजा अवधिभर हरेक रात मुस्लिम समुदायका मानिस एउटै समूहमा बसी तराबीको नमाज पढ्छन् ।
आफूले एकापसमा जानेका कुरा साटासाट गर्छन् । यस्तो अभ्यासले छिमेकीबीच मित्रताको भावना बढाउँछ । त्यस्तै, सांसारिक वा भौतिक सुख छाडेर मानव हितमा लाग्न पनि रोजाले अभ्यस्त बनाउँछ । त्यसैले रोजा जीवनका हरेक पक्षसँग जोडिएको हुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...