-->
राष्ट्रपति भण्डारी किन रिसाइन ?

काठमाडौं, ३२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विकास बजेट समयमै खर्च नहुने र आर्थिक वर्षको अन्त्यमा हतारमा बजेट खर्च गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएकी छिन् ।

बजेट समयमै आए पनि कार्यान्वयन नहुने र विकास बजेट न्यून खर्च हुने परिपाटीको अन्त्य भए मात्रै मुलुकमा पूर्वाधार विकास र आर्थिक विकास हुने बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘आर्थिक वर्ष सकिनै लाग्दासमेत २० प्रतिशत मात्रै विकास बजेट खर्च हुने र चालू खर्च शतप्रतिशत भएर थप खर्चको अख्तियारी मागिन्छ,’ मोफसलबाट आएका पत्रकारहरूसँग शीतलनिवासमा सोमबार आयोजित साक्षात्कारमा राष्ट्रपति भण्डारीले भनिन्, ‘यो शैलीले आर्थिक वृद्धि हासिल गर्न सकिन्न ।’

आमसञ्चारमाध्यम आर्थिक रूपमा निर्भर बन्नुपर्छ

स्वाधीन र स्वतन्त्र पत्रकारिताका लागि आमसञ्चारमाध्यम आर्थिक रूपमा आत्मनिर्भर बन्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले खराब कुराबारे सतर्कता, सजकता र चेतना दिएर राष्ट्रको पक्षमा बन्धुत्व र भ्रातृत्वको भावना विकास गराउनुपर्ने बताइन् । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय सञ्चार नीतिबारे सुझाब लिन मोफसलमा कार्यरत पत्रकारसँग सोमबार अन्तरक्रिया गरेको थियो ।  आमसञ्चार नीतिबारे सवाल तथा आगामी कार्यदिशा विषयक गोष्ठीमा सहभागी पत्रकारहरू राष्ट्रपति कार्यालयकै निम्तोमा शीतलनिवास पुगेका थिए । मोफसलका अगुवा ४० जना पत्रकारलाई राष्ट्रपति कार्यालयले बेलुकीको खानासहित निम्तो गरेको थियो ।

कर्मचारी संयन्त्र जिम्मेवार

राष्ट्रपति भण्डारीले समयमा विकास निर्माणका काम सम्पन्न नहुनु र बजेट कार्यान्वयन नहुनुमा मुख्य गरी कर्मचारी संयन्त्र र उपभोक्ता जिम्मेवार रहेको बताइन् । ‘बजेट कार्यान्वयनको मुख्य जिम्मेवारी कर्मचारी संयन्त्रको हो,’ राष्ट्रपतिले भण्डारी भनिन्, ‘रोटेपिङ घुमेजस्तो घुमेर मात्र मुलुकको विकास सम्भव हुँदैन ।’

जागिर र पेन्सन पकाउने काम मात्र गरेर देश बन्दैन

कर्मचारीले जागिर खाने र पेन्सन पकाउने उद्देश्य मात्रै राख्न नहुने भन्दै राष्ट्रपति भण्डारीले नतिजा आउने गरी काम गर्नुपर्ने बताइन् । पूर्वाधार विकास गरेर मात्रै मुलुकको आर्थिक विकास गर्न सकिने भएकाले बजेट कार्यान्वयन र विकास निर्माणका कामलाई सहज ढंगले अघि बढाउन मिडियाले समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.