-->
नेपालमै बने ६ युवा प्याराग्लाइडर

स्याङ्जा: स्याङ्जाको वालिङ नगरपालिकाका पहलसिंह सुनार निकै खुसी छन्। वर्षौदेखिको प्याराग्लाइडर बन्ने ३५ वर्षीय चाहना अब पूरा हुने भएपछि उनमा खुसीको सीमा छैन। उनीलगायत पोखराका तीन जना र दुईजना विदेशी दक्ष प्याराग्लाइडर बन्न होसिएका छन्। 
 
मुलुकमै पहिलो प्याराग्लाइडिङ कक्षा सञ्चालनको अनुमति पाएको बाबु एडभेन्चर प्याराग्लाइडिङ स्कुलमा सुनारलगायत ६ जना पहिलो समूह अहिले अध्ययनरत छ। अनुमति पाएपछि पहिलो पटक दुई विदेशी (स्कटल्यान्ड र न्यूजिल्यान्ड ) नागरिकसहित चारजना नेपालीले प्याराग्लाइडिङ सम्बन्धी आधारभूत शिक्षा लिइरहेका छन्।
 
पोखराका नवीन परियार, माधव पहाडी, सुदिप गौतम, न्यूजिल्यान्डका मार्क, स्कटल्यान्डका डगज र वालिङका पहससिंह सुनारले बुधबार आधारभूत तालिम सकेका छन्।नेपाल नागरिक उड्ड्यन प्राधिकरणले गएको फागुन महिनामा स्याङ्जाको स्वरेक गाविसको मैदानमा प्याराग्लाइडिङ् स्कुल सञ्चालनको अनुमति दिएसँगै सानोबाबु सुनुवारले जेठको पहिलो सातादेखि अध्ययन÷अध्यापन सुरु गरेका हुन्। 
 
स्कुलमा सैद्धान्तिक २५ प्रतिशत र व्यावहारिक ७५ प्रतिशत ज्ञान दिइन्छ। अध्ययनका लागि नेपालीका लागि दुई लाख चार हजार र विदेशीका लागि दुई लाख ४० हजार नेपाली रुपैयाँ शुल्क लाग्छ। स्कुलका प्रमुख सानोबाबु सुनुवार र बालकृष्ण बस्यालले अध्यापन गराउँदै आएका छन्। 
 
केही महिनापछि यूरोपियन प्याराग्लाइडरले एडभान्स पाइलट कोर्स सिकाउने सुनुवारले बताए। स्कुल सञ्चालन भएपछि दक्ष प्याराग्लाइडिङ पाइलट उत्पादनका लागि सहज बनेकामा बाबु एडभेन्चर स्कुलका प्रमुख सुनुवार खुसी छन्। तीनचार वर्षदेखिको निरन्तर मेहनत सफल भएको उनी बताउँछन्। 

सुनुवार भन्छन, ‘पहिला १५ दिनको आधारभूत कोर्स हुनेछ। त्यसपछि एडभान्स, इन्टरमिडियट अनि टेन्डम गर्दै दुई वर्षे अवधिमा प्रशिक्षण पूरा हुन्छ।'यी सबै कोर्स पूरा भएपछि मात्र प्याराग्लाइडिङ तालिम प्राप्त पाइलट लाइसेन्स दिईने सुनुवारले जानकारी दिए। 
 
स्याङ्जाको स्वरेकलाई प्याराग्लाइडिङको उपयुक्त स्थल देखेका रामेछाप घर भई पोखरास्थित फेवातालमा व्यावसाय गर्दै आएका प्याराग्लाइडर सानोबाबु सुनुवारले मुलुकमै पहिलो प्याराग्लाइडिङ् स्कुल सञ्चालनका लागि अनुमति खोजेको थिए।
 
दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले नागरिक उड्यन मन्त्रालयद्वारा बाबु एडभन्चर स्कुल सञ्चालनका लागि अनुमति दिएको हो। प्याराग्लाइडिङ सिक्न दुवै आँखा स्वस्थ्य, दुवै कानले राम्रोसँग सुन्ने, एसएलसी वा सो सरह र अन्य जटिल रोग नभएका युवा वा युवतीको योग्य हुन्छन्। 
 
विगतमा आफूले विदेशमा पुगेर प्याराग्लाइडिङ सम्बन्धी प्रशिक्षण र लाइसेन्स लिँदाका कठिन यात्रा सम्झँदै सुनुवार भन्छन,‘ अब प्याराग्लाइडर बन्ने सपना नेपालमै पूरा हुने भएको छ।'
 
सुनुवारले सन् २००८ मा अमेरिकामा प्याराग्लाइडिङको प्रशिक्षण लिएको र सन् २०११ मा स्विट्जरल्यान्डबाट लाइसेन्स लिएको जानकारी दिए। लाइसेन्स नवीकरणका लागि विदेशमै जानु पर्ने बाध्यता अब नहुने उनी बताउँछन्। 
 
सन् २०१२ मा विश्वकै साहसिक एवार्ड पाउन सफल प्याराग्लाइडर सुनुवार स्वरेक १ मैदानलाई प्याराग्लाइडिङको गन्तव्य बनाउन विगत तीन वर्षदेखि लागि परेका हुन्। सर्बोच्च शिखर सगरमाथाको चुचुरोबाट प्याराग्लाइडिङमा उडेर हामफालेर उनलाई चार वर्ष पहिले नेसनल जियोग्राफीले वर्षकै साहसिक एवार्ड दिएको थियो। 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.