काठमाडौं, २७ जेठ । मुलुक पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा अन्तर्राष्ट्रिय चासो बढ्न थालेको छ । संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणप्रति ढिलासुस्ती भइरहेको भनिएका बेला सोही विषयलाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको हो ।
बेलायती प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चासो राखेको भोलिपल्ट बिहीबार अमेरिकी प्रतिनिधिले भेटेर संविधान कार्यान्वयन तथा पुनर्निर्माणका विषयमा जिज्ञासा राखेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार प्रधानमन्त्री ओली र दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री विलियम टोडबीच भएको भेटवार्तामा नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध र नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग लगायतका बिषयहरुमा पनि छलफल भएको छ ।
भूकम्पपछिको पुनर्निर्माणलाई गतिका साथ अघि बढाउनुपर्नेमा जोड दिएका सहायक विदेशमन्त्री टोडले आन्दोलनरत पक्षका सम्बन्धमा पनि चासो राखेका छन् ।
जवाफमा प्रधानमन्त्री ओलीले ९२ प्रतिशतले हस्ताक्षर गरे जारी गरिएको नेपालको संविधान उत्कृष्ट रहेको भन्दै असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएपनि कसैलाई त्यस्तो लागेको भए वार्ता र संवादमार्फत समाधान खोज्न सकिने जानकारी गराए । साथै उनले वार्तामा आग्रह गरेपनि अस्वीकार गरेर मुलुकलाई अस्थिर बनाउने प्रयास भइरहेको आरोप पनि लगाए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...