गरिब हुनुको पीडा: उत्कृष्ट विद्यार्थी भोकभोकै
बेनी (म्याग्दी): म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा सङ्कायतर्फको आन्तरिक परीक्षामा उत्कृष्ट गोपाल खत्री बिहान बेलुकी राम्रोसँग खान पाउँदैनन्। खत्री दृष्टिविहीन छन्। ब्रेललिपीको माध्यमद्वारा अध्ययन गर्छन्। घरको आर्थिक अवस्था कमजोर छ। साँझ बिहान राम्रोसँग खान पाउँदैनन्।
साथीहरुसँगै अध्ययन गरे तापनि अपाङ्गता भएका उनले सबैभन्दा धेरै अङ्क ल्याएर क्याम्पसमै उत्कृष्ट भएको खुसीलाई आफन्तसँग साटासाट गर्नसमेत सकेका छैनन्। दैनिक रुपमा पर्ने आर्थिक सङ्कटलाई सामना गर्नुपर्ने बाध्यताले उनको अनुहारमा कहिल्यै खुसी देखिँदैन।
खत्रीले क्याम्पसकै एक कर्मचारीको परिवारसँगै मासिक रकम उपलब्ध गराउने सहमतिमा खाना खाने गरे पनि तीन महिनाको खानाबापतको रकमसमेत तिर्न सकेका छैनन्।
ब्रेललिपि र केही कपी लिएर क्याम्पसमा जाने खत्रीले शैक्षिक सामग्रीको अभावमा समेत धेरै दिन आफ्ना जिम्मेवारी पूरा गर्न सकेका छैनन्। आफू भोकै क्याम्पस आएका दिनहरू गन्नसमेत मुस्किल हुने उनको भनाइ छ।
क्याम्पस प्रशासनको पहलमा मासिक रु चार हजारमा खाना खुवाउने व्यवस्था गरे पनि उनले रकम तिर्न नसक्दा नियमित खाना खान नजाने गरेको बताए।
'घरमै बिहानबेलुकी खाना पाक्दैन, कष्टकर जीवन विताएर भए पनि पढ्छु तर घरमा पैसा माग्न सक्दिनँ', खत्रीले भने। उनको बस्ने व्यवस्था क्याम्पसले गरे पनि बिहान बेलुकी खाने व्यवस्था र लत्ताकपडा, शैक्षिक सामग्री आदि आवश्यक चिजको प्रबन्ध हुन सक्ने हो भने जिल्लाकै नाम उच्च राख्ने गरी अध्ययन गर्ने उनको भनाइ रहेको छ।
आर्थिक अभावका कारण पढाइमा पर्याप्त समय दिन नसकेको बताउँदै आधारभूत आवश्यकता पूरा भए शिक्षाबाट क्याम्पसको शिर उच्च बनाउने गरी अध्ययन गर्ने दाबीसमेत उनले गरे।
उच्च माविमा प्रथम श्रेणीमा उत्तीर्ण भएका खत्री स्नातक तहको शिक्षा सङ्कायतर्फ मेजर अङ्ग्रेजीमा उत्कृष्ट विद्यार्थीसमेत हुन्।
उनले आन्तरिक परीक्षामा व्यवस्थापन, बिएड र बिएमा अध्ययरत विद्यार्थीमा सबैभन्दा धेरै अर्थात् ६५ प्रतिशत ल्याएर क्याम्पस प्रथमसमेत भएको क्याम्पस प्रमुख टीकाराम सापकोटाले बताए।
'उनको क्षमतालाई आर्थिक समस्याले रोक्ने प्रयास गरिरहेको छ। हामीले क्याम्पसबाट सकेको सहयोग गरेका छौँ', सापकोटाले भने।
क्याम्पसले छात्रवृत्तिसहित आवासको सुविधा उपलब्ध गराएको छ। क्याम्पसमा प्राध्यापक, कर्मचारी सबैका प्रिय खत्रीको समस्यालाई समाधान गर्न सबैको सहकार्य आवश्यक रहेको सापकोटाले बताए।
संघर्षमा पराजित भए पढाइ छोड्छु: खत्री
आर्थिक अवस्था अत्यन्त कमजोर रहेका कारण खत्रीले परिवारबाट सहयोग जुटाएर अध्ययन गर्ने सम्भावना न्यून रहेकाले सहयोगबाटै स्नातक तहको शिक्षा पूरा गर्ने सपना देखेका छन्। उनले एक छाक खाएर भए पनि पढाइलाई निरन्तरता दिने सोच बनाएका छन्।
सात जनाको परिवारमा एक्ला छोरा खत्रीले स्नातक तहको शिक्षालगत्तै शिक्षण पेसामै आबद्ध भएर परिवारको मुख्य आम्दानीको स्रोत बन्ने योजना बनाएका छन्।
खत्रीका दुई बहिनी पनि शारीरिक रुपमा अपाङ्ग छन्। बहिनी रमा दृष्टिविहीन र सङ्गीता कान नसुन्ने भएकाले उनीहरूको चिन्ताले समेत खत्रीलाई सताउने गरेको छ।
अपाङ्गता भएकाको क्षेत्रमा काम गर्ने दर्जनौं सङ्घसंस्था भए पनि अहिलेसम्म कुनै पनि सुविधा प्राप्त गर्न नसकेको बताउँदै खत्रीले धनी वर्गका लागि खोलिएका त्यस्ता सङ्घसंस्थाप्रति कुनै गुनासोसमेत नरहेको बताए।
अपाङ्गता भएका विद्यार्थीको समस्यालाई समाजमा फरक दृष्टिकोणले हेर्न गरिएकाले आफूले भविष्यमा शिक्षक भएर अपाङ्गता भएका क्षेत्रका बालबालिकालाई शिक्षामार्फत उज्वल भविष्य बनाउने लक्ष्य रहेको बताए। रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...