कृष्णको अलौकिक चित्रण र राजनीति
मिथक
महाभारत युद्धका नायकहरू पर्दामा अरू नै देखिए पनि पर्दापछाडिका योजनाकार भने कृष्ण नै बुझिन्छ । कंशको मृत्युपछि जरासन्धले कृष्ण–बलरामसँग बदलाको भाव राखेको थियो। जरासन्धको आक्रमणबाट जोगिन कृष्णले सम्पूर्ण यादवहरूलाई बसाइँ सराए द्वारकामा । द्वारका समुद्र र पहाडको किल्लाद्वारा सुरक्षित थियो ।
जरासन्धलाई पराजित गर्ने र भारतवर्षमा पुनः संघीय संरचनाको स्वायत्त गणराज्यको स्थापना गर्ने योजनामा सहयोगी हातको खोजीमा थिए कृष्ण । पाण्डवको बारेमा कृष्णले सुनेका थिए, तर भेटेका थिएनन् । पाण्डव कृष्णकी फुपू कुन्तीका सन्तान थिए ।
कुन्तीलाई कुन्तीका पिताका मित्र कुन्तीभोजले सानैमा धर्मपुत्री बनाएर लगेका थिए । त्यसो हुँदा कुन्तीसँग कृष्ण, वसुदेवको नियमित सम्पर्क थिएन । कुन्तीसहित पाण्डवहरू लाक्षागृहमा जलेर मरेको चर्चा कृष्णसम्म पुगेको थियो । तर, द्रौपदी स्वयम्बरपछि कृष्णको पाण्डवसँग भेट भयो । अर्जुन कृष्णकै समवयस्क थिए ।
आफ्नो योजनामा अर्जुन सहायक हुन सक्ने अन्दाज कृष्णलाई पहिल्यै थियो । कृष्ण र अर्जुनको गहिरो मित्रता कायम भयो । यो मित्रता कायम रहनुमा द्रौपदीको पनि त्यत्तिकै हात देखिन्छ । पछि कृष्णले आफ्नी बहिनी सुभद्राको विवाह गराइदिएर अर्जुनसँगको मित्रतालाई अझ सुदृढ
बलराम भने सुभद्रालाई दुर्योधनसँग विवाह गराइदिने पक्षमा थिए । बलरामले कृष्णले गर्न लागेको कुनै कामको पनि विरोध गरेको देखिँदैन । कृष्णको क्षमता र नेतृत्वलाई बलरामले सजिलै स्वीकारेको बुझिन्छ ।
कृष्ण कहिल्यै पनि ‘किङ’ भएनन् । तर, ‘किङमेकर’को रूपमा कृष्णको भूमिका महाभारतमा स्पष्ट देखिन्छ । युधिष्ठिरलाई चक्रवर्ती सम्राट् तुल्याउन कृष्णकै हात छ ।
कृष्णको सल्लाहबिना युधिष्ठिर कुनै कदम चाल्दैनथे । कृष्णको सल्लाहबिना युधिष्ठिरले गरेको काम भनेको दुर्योधनसँगको जुवा मात्र हो । कृष्णले पछि आफू भएको भए जुवा खेल हुनै नदिने भनेबाट यो कुरा स्पष्ट हुन्छ ।
युधिष्ठिरलाई राजसूय यज्ञ गर्न उक्साएर भीमको हातबाट जरासन्धलाई मराएपछि कृष्णको योजनाले साकार रूप लिन लागेको थियो । तर, युधिष्ठिरले खेलेको जुवाले त्यसलाई धराशायी पारिदियो ।
युधिष्ठिरको राजसूय यज्ञमा कृष्णले ब्राह्मणहरूको पाउ धुने काम जिम्मा लिएर आफूलाई ‘लो प्रोफाइल’मा राख्ने चतुरता गरेका थिए । तर भीष्मको सल्लाहमा युधिष्ठिरले कृष्णलाई प्रमुख अतिथि घोषणा गरेपछि शिशुपालले त्यसको विरोध गर्यो ।
शिशुपाल कृष्णकै अर्की फुपूको छोरा थिए । शिशुपाललाई कृष्णले राजसूय यज्ञकै समारोहमा वध गरिदिए । शिशुपाल, जरासन्धजस्ता महत्वपूर्ण हस्तीको मृत्युपछि कृष्णका अवरोध धेरै हटिसकेका थियो ।
उता दुर्योधनलाई पनि चक्रवर्ती सम्राट् हुने रहर थियो । उत्तराधिकारको विषयलाई लिएर पाण्डव र कौरवको युद्ध हुने नै भयो । कृष्णले युद्ध हुन नदिन प्रयास पनि गरे । युद्ध हुने पक्का भएपछि यादवहरूमा विभाजन भयो ।
कृतवर्माको नेतृत्वको यादव सेना दुर्योधनको पक्षमा गयो भने सात्यकीको समूह पाण्डवको पक्षमा । कृष्ण आफू निहत्था अर्जुनको सारथि बनेर बसे ।
अर्जुनको सारथिको रूपमा कृष्णले सम्पूर्ण युद्धलाई आफ्नो योजनाअनुसार हिँडाए र अन्यमा पाण्डवको पक्षमा विजय दिलाउन सफल भए । कृष्णको चतुरता यसमा के देखियो भने कृष्ण आफू विपक्षीको नजरमा पनि तटस्थ नै देखिइरहे युद्धभर । तर, गान्धारीको नजरमा भने कृष्ण नै युद्धको ‘कोरियोग्राफर’ थिए ।
नागहरूसँगको दुश्मनी
महाभारतमा नागहरूको विनाशको दुईवटा महत्वपूर्ण प्रसंग छ । पहिलो खाण्डववनदाह, र दोस्रो जन्मेजयको सर्पसत्र । पाण्डवहरूले इन्द्रप्रस्थमा राज्य खडा गरिसकेपछि कृष्ण र अर्जुन यमुनामा जलविहारको लागि गएका थिए । जलविहारपछि उनीहरूले खाण्डववनमा आगो लगाइदिए ।
चारैतिरबाट आगो लगाइदिएर कुनै पनि प्राणीलाई वनबाट निस्कन दिएनन् । खाण्डव वनमा नागहरूको बस्ती थियो । आगोबाट तक्षक नागबाहेक सबै जनावर, पक्षी र नागहरूको मृत्यु भयो । नागहरूलाई इन्द्रको आ श्रय थियो ।
इन्द्रको सारथि मातलीको छोरीको विवाह नागसँग भएको प्रसंग यहाँ उल्लेखनीय छ । इन्द्रपदमा आसीन नहुनेलाई सर्पयोनीमा पुग्ने श्रापको सन्दर्भ पनि यहाँ जोड्न सकिन्छ । इन्द्रपुत्र अर्जुनको एक नागकन्या उलुपीसँग विवाह भएको थियो । उलुपीबाट अर्जुनको एक पुत्र इरावत पनि पैदा भएको थियो ।
महाभारत युद्धको सफलताको लागि नरबलिको आवश्यकता परेको भनी कृष्णले इरावतको बलि दिन लगाएका थिए । उता खाण्डववनका नागहरूलाई इन्द्रले बचाउन गरेको प्रयास सफल हुन सकेन । खाण्डववन दाह पाण्डवहरूको राज्यमा बस्ती बिस्तारको लागि गरिएको भनिए पनि नागहरूको विनाश गर्नुमा कृष्णको चासो देखिन्छ । नागको पनि कृष्ण र अर्जुनसँग दुश्मनी रह्यो ।
महाभारत युद्धमा तक्षक नागले दिएको अमोघ अस्त्र नै कर्णले अर्जुनमाथि प्रहार गरेका थिए । त्यसबाट कृष्णले नबचाएका भए अर्जुनको त्यहीँ प्राणान्त हुने थियो । इन्द्रप्रस्थबाट जरासन्ध वधको लागि जाँदै गर्दा बाटोमा कृष्णले अर्जुन र भीमलाई नागहरूको बस्ती भोगवती क्षेत्र देखाएका थिए । नागहरूको बारेमा कृष्णको विशेष चासो यो प्रसंगबाट पनि छर्लंग हुन्छ ।
कृष्णको मुखबाट व्यक्त गराइएको गीतामा प्रतिपादित दर्शनले कृष्णलाई अमर तुल्याएको छ । ज्ञान, भक्ति र कर्मको अनौठो संयोग यसमा फेला पर्छ । असाधारण व्यवहार, सार्वकालिक दर्शन र कर्तव्यप्रतिको लगावको प्रणेता भएका कारण मानिसले कृष्णलाई मानवताभन्दा माथि उठाएर सोच्न थाले ।
महाभारत युद्धमा बदलाको भावनाले उत्प्रेरकको काम गरेको देखिन्छ । दुर्योधनको मृत्युपछि युद्ध जितेको खुसीयालीमा मस्त निदाएका निहत्था पाण्डवपक्षीहरू माथि द्रोणपुत्र अश्वत्थामाको नेतृत्वमा आक्रमण भएको थियो ।
आक्रमणमा द्रौपदीका छोराहरू, द्रौपदीका दाजु धृष्टद्युम्न, राजा द्रुपद आदिको निर्मम हत्या भयो । युधिष्ठिरपछि राजा भएका अभिमन्यु–पुत्र परीक्षितलाई तक्षक नागले दरबारमै आएर हत्या गरिदियो । परीक्षित यादव र पाण्डव दुवैका वंशज थिए । पिताको हत्याको बदला लिन परीक्षितपुत्र जन्मेजयले सर्पहरूलाई आहुति दिने सर्पयज्ञको आयोजना गरे ।
यसमा हजारौं सर्प र नागहरूलाई ज्युँदै आगोमा होमियो । नागवंश मावली भएका आस्तिकले बाँकी नागहरूलाई बचाएका थिए । नागसँग कृष्णको अर्को द्वन्द्व कालियनागको प्रसंगमा पनि आउँछ ।
कालियनाग ब्रज नजिकै यमुना नदीको किनारमा बस्थ्यो । कृष्णले कालियनागलाई यमुना तीरबाट धपाएका थिए ।
नाग र कृष्णबीचको यो द्वन्द्वको झिनो सम्बन्ध गरुड र नागको दुश्मनीसँग जोड्न सकिन्छ । गरुडलाई विष्णुको वाहन मानिन्छ र कृष्ण विष्णुको अवतार । विष्णुको रामावतारमा लंकायुद्धको बेला रावणपुत्र मेघनादले नागपासमा बाँधेका राम र लक्ष्मणलाई गरुडले आएर मुक्त गरिदिएको थियो ।
गरुडले राम र लक्ष्मणलाई एक हितैषी भनेर आफ्नो परिचय दिएको प्रसंग यहाँ उल्लेखनीय छ । गरुडहरू नागका दास थिए । विष्णुको सहयोगमा गरुड नागको दासत्वबाट मुक्त भए । विष्णुले गरुडलाई नाग तथा सर्पहरूलाई आहारा बनाउन पाउने वर दिएका थिए ।
विष्णु र विष्णुका अवतार तथा सहयोगीहरू नागको दुश्मन बनेको इतिहास सम्भवतः यहीँबाट सुरु हुन्छ । शेषनागलाई विष्णुको बिछ्यौना भन्नुको तात्पर्य विष्णुबाट दबिएको भन्ने नै बुझिन्छ । कृष्णको नाति अनिरुद्धलाई वाणासुरले नागपासमा बाँधेर राखेको थियो । नागपासमा बाँध्नुको अर्थ नागहरूको सहयोगले कैद गर्नु हो ।
नातिलाई छुटाउन आउँदा कृष्णको वाणासुरसँग मात्र नभएर महादेवसँग पनि युद्ध भएको थियो । सर्पको गहना लगाउने महादेव प्रतीकात्मक अर्थमा नागहरूको इन्द्रपछिको अर्का संरक्षक थिए । युद्धमा महादेव र कृष्णको सन्धि भयो । कृष्णले अनिरुद्धलाई छुटाएर लगे, महादेवले वाणासुरलाई संरक्षण प्रदान गरे ।
इन्द्रसँग द्वन्द्व
कृष्णको इन्द्रसँग द्वन्द परेका केही प्रसंगहरू छन् । कृष्णले इन्द्रको पूजा गर्ने किसानहरूलाई भड्काएर इन्द्रको पूजा गर्नबाट रोकेका थिए । इन्द्रको बदला प्रकृतिको पूजा गर्न किसानलाई कृष्णले प्रेरित गरे । यसबाट इन्द्र कृष्णसँग रिसाएको कुरालाई पुराणमा गोवद्र्धन पर्वतको कथासँग जोडिएको छ ।
रिसाएका इन्द्रले अविरल पानी पारिदिए । चारैतिर जलमग्न भयो । कृष्णले किसान, ग्वाला र गाई सबैलाई गोवद्र्धन पर्वतमुनि लगेर सुरक्षित राखे । प्राकृतिक अतिवृष्टिको घटनाबाट बच्न कृष्णको बुद्धिमत्तापूर्ण व्यवहारलाई काव्यकारले इन्द्रसँगको द्वन्द्वसँग जोडिदिएका छन् ।
खाण्डववन दहमा नागहरूलाई बचाउन आएका इन्द्रसँग कृष्ण र अर्जुनको युद्ध भएको थियो, जसमा इन्द्रको पराजय भयो । जन्मेजयको भयले इन्द्रको शरणमा पुगेको तक्षकलाई लुकाएकोले इन्द्रसँग क्रुद्ध भएका जन्मेजयले तक्षकसहित इन्द्रलाई पनि आहुति दिने धम्की दिए ।
भौमासुरमाथि विजय प्राप्त गरेपछि भौमासुरले पहिरेको कुण्डल इन्द्रमाता अदीतिलाई फिर्ता गर्न स्वर्ग पुगेका कृष्णको फर्कने बेलामा इन्द्रसँग युद्ध भएको थियो । कृष्णपत्नी सत्यभामाको अनुरोधमा कृष्णले स्वर्गबाट पारिजात ल्याउन खोजेका थिए । तर देवतालगायत इन्द्रले अवरोध गरेपछि इन्द्रलाई पराजित गरेर कृष्णले पारिजात पृथ्वीमा ल्याएका थिए (भागवतपुराण दशमस्कन्ध, ५९ः३९, हरिवंशपुराण विष्णुपर्व, ७३ र ७५) ।
कृष्णको अलौकिक चित्रण
कृष्ण आफैंले आफ्नो अलौकिकताको कुरा एकदमै थोरै गरेका छन् । पुराणहरूमा कृष्णको चरित्र र व्यवहारलाई उत्तरोत्तर अलौकिक सिद्ध गर्ने प्रयास गरिएको छ । तर, कृष्ण स्वयम् भने गीतामा प्रतिपादित दर्शन कर्मवादको इमानदार पालक देखिन्छन्।
युद्धबाट विमुख भएका अर्जुनलाई प्रेरित गर्न कृष्णले देखाएको विश्वरूपलाई लिएर कृष्णको अलौकिकता सिद्ध गर्ने प्रयास गरिन्छ । वास्तवमा यो रूप अर्जुनले मात्र देख्छन् ।
विश्वरूपमा सृष्टि, स्थिति र प्रलयका तीनै रूप समानान्तर रूपले चलिरहेको देखाउँदै संसारको कर्ताधर्ता आफैं भएको बताएर अर्जुनलाई आश्वस्त तुल्याउन खोजेका छन् कृष्णले । विश्वरूपको प्रदर्शन अर्जुनलाई विश्वस्त तुल्याउने अन्तिम उपायको रूपमा कृष्णले प्रस्तुत गरेका हुन् ।
अर्जुन निराश थिए, हतप्रभ थिए र एकदमै कमजोर मनस्थितिमा थिए । यस्तो स्थितिको व्यक्ति कृष्णको जादुमयी प्रवचन र धाराप्रवाह अभिव्यक्तिबाट सम्मोहित हुनु स्वाभाविक थियो । त्यसै पनि कृष्णका कैयौं कर्महरू असाधारण प्रकृतिकै थिए ।
मान्छेको हातमा कर्तव्य पूरा गर्ने बाहेक केही विकल्प छैन, कर्तव्य निर्वाह गर्ने क्रममा भएका जुनसुकै घटना नियोजित भएको र लौकिक कर्ता वास्तवमै निमित्त कारकमात्र हुने दर्शन कृष्णले अर्जुनसमक्ष प्रस्तुत गरे । गहिरो सम्मोहनमा पुगेका अर्जुन कृष्णले जे–जे भन्दै गए ती ती कुरा चलचित्रवत देख्दै गए ।
कृष्णले आफ्नो अलौकिकताको अर्को प्रसंग द्रोणपर्वअन्तर्गत प्रागज्योतिषका भगदत्तसँग अर्जुनको युद्ध हुँदा चर्चा गरेका छन् । भगदत्तले अर्जुनमाथि प्रहार गरेको वैष्णवास्त्र कृष्णले आफ्नो छातीमा थापिदिए । अस्त्रले कृष्णलाई केही नोक्सान पु¥याएन ।
कृष्णको यो हस्तक्षेप अर्जुनलाई चित्त बुझेन । अर्जुनलाई सम्झाउन कृष्ण वैष्णावस्त्र आफूबाहेक अरू कसैले झेल्न नसक्ने तथ्य बताउँछन् । आफू साक्षात् विष्णु भएकोले मात्र त्यसो गर्न सकेको तथ्य अर्जुनलाई अवगत गराउँछन् ।
धृतराष्ट्रको दरवारमा द्रौपदीको वस्त्रहरण गर्दा कृष्ण अदृश्य भएर सहयोग गरेको कारण द्रौपदी नांगिनबाट जोगिएको चर्चा गरिन्छ । खासमा द्रौपदीको उत्तरीय मात्र खोसिएको हो र जतिजति वस्त्र तानियो त्यतित्यति नाना रङका अनेक वस्त्रहरू थपिएका भनिएको छ । यसको अर्थ एउटै वस्त्र लम्बिएको होइन । खोसिएको उत्तरीयको स्थानमा कृष्ण वा कसैले भिन्न भिन्न रङका उत्तरीयहरू दिँदै गएको हुन सक्छ । यसलाई कृष्णको अलौकिक चरित्र सिद्ध गर्न पछिका कविहरूले मेहनत गरेका हुन् ।
धृतराष्ट्रकै दरवारमा कृष्णलाई कैद गर्न खोजेको अर्को घटना पनि छ । कृष्णले यो घटनालाई तिलस्मी ढंगले आफ्नो विराट रूपको प्रदर्शन गरेर प्रतिकार गरेको बताइन्छ । भर्खरैमात्र कृष्णले धृतराष्ट्रको सभामा प्रभावशाली प्रवचन गरेका थिए ।
सभालाई सम्झाउँदै कृष्णले दुर्योधन, कर्ण, शकुनी र दुष्सासनलाई कैद गरेर पाण्डवहरूसमक्ष सुपुर्दगी गरिदिनुपर्ने प्रस्ताव पनि राखेका थिए (उद्योगपर्व, १२८ः४८) ।
हस्तिनापुरमा यादवहरूका सेनापति कृतवर्माको नेतृत्वको एक अक्षौहिणी सेना पहिलेदेखि नै थियो । सभामा स्वयम् कृतवर्मा र अर्का यादव सेनापति सात्यकी पनि उपस्थित थिए । कृष्णसभाबाट सात्यकी र कृतवर्माको हात समातेर निस्केका थिए । दुर्योधनले कृष्णलाई कैद गर्न नसक्नुको कारण यी दुई सेनापतिको उपस्थिति मुख्य कारण थियो, न कि कृष्णको अलौकिक विराट रूप ।
कृष्णको चरित्र
कृष्णको चरित्र अलौकिकै नभए पनि साधारण मात्र चाहिँ थिएन । कृष्णमा बल, विद्या, चातुर्यता, कौशलता, युद्धकला सबैको अनौठो सम्मि श्रण थियो । कृष्ण राजनीति र कूटनीतिमा पनि पोख्त थिए । साम, दान, दण्ड, भेद नीतिमा चुस्त थिए । यति हुँदाहुँदै पनि कृष्णलाई एक शान्तिकामी व्यक्तिको रूपमा बुझ्नुपर्ने हुन्छ । कृष्णले युद्धलाई कहिल्यै प्र श्रय दिएनन् । जरासन्धको लगातारको आक्रमणबाट बच्न मथुरा नै त्यागे ।
जरासन्धको वध पनि रक्तपातविहीन थियो । शिशुपालको सय गल्तीसम्म माफ दिए । कौरव र पाण्डवबीच सन्धि गराउन पनि कृष्ण अन्तिम अवस्थासम्म लागिरहे । युद्ध हुन नदिने र पाण्डवलाई राज्य दिलाउने युगल उद्देश्यको लागि कृष्ण सक्रिय थिए । योग्य र सही व्यक्ति नेतृत्वमा हुनुपर्छ भन्ने सिद्धान्त कृष्णको थियो । कृष्ण समाजको अग्रगामी विकासको पक्षमा थिए । इन्द्रको परम्परागत सत्ताविरुद्ध कृष्णले आफूलाई उभ्याएबाट पनि यो पुष्टि हुन्छ । जरासन्धको एकल निरंकुश राजतन्त्रको पक्षमा पनि कृष्ण देखिँदैनन् ।
कृष्णको व्यक्तित्व आकर्षक थियो । बल, विद्यामा मात्र होइन, रूपमा पनि अनुपम थिए । भागवतपुराणका अनुसार यिनको आठवटी त पटरानी मात्र थिए । भौमासुरको कैदबाट छुटाएर ल्याएका सोह्र हजार एक सय स्त्रीसँग पनि यिनले विवाह गरे भनिएको छ ।
यी हरेक पत्नीबाट कृष्णको दसदस वटा छोरा भए भनेर भागवतपुराणमा अतिरञ्जित गरिएको प्रसंगलाई विचार गर्दा यी भनिएका संख्याका युवतीहरूसँग कृष्णको विवाह भएकै हो त भन्नेमा शंका पैदा हुन्छ । अझ दासीहरू पनि त्यत्तिकै थिए भनिन्छ । तर, महाभारतमा रुक्मिणीबाहेक अरू पत्नीको चर्चा छैन ।
कम उमेरमै राजनीतिको माखेसाङ्लोमा फसेका र सारा भारत वर्षलाई आफ्नो योजनाअनुसार हिँडाउन उद्दत कृष्णसँग अन्य विषयको लागि निकै कम समय रहन्थ्यो होला भन्ने अनुमान हुन्छ । तथापि बल, विद्या र सौर्यमा आफूलाई अब्बल देखाउन यिनी पछि पक्कै हटेनन् होला ।
कृष्णको मुखबाट व्यक्त गराइएको गीतामा प्रतिपादित दर्शनले कृष्णलाई अमर तुल्याएको छ । ज्ञान, भक्ति र कर्मको अनौठो संयोग यसमा फेला पर्छ । असाधारण व्यवहार, सार्वकालिक दर्शन र कर्तव्यप्रतिको लगावको प्रणेता भएका कारण मानिसले कृष्णलाई मानवताभन्दा माथि उठाएर सोच्न थाले । कविहरूले यसमा चार चाँद लगाइदिए । कृष्णको व्यक्तित्वको जुनसुकै आयाममा पनि दिव्यभाव देख्न थालियो । यशोदाको पुत्रभाव, अर्जुनको साख्यभाव, मीराको माधुर्यभाव जुनसुकै रूपमा पनि कृष्ण हाजिर भए ।
महाप्रयाण
कृष्णले यादवहरूमा मदिरा निषेधित गरेका थिए । सारा संसारलाई कर्तव्यको पाठ पढाउने कृष्ण आफ्नै समुदायमा एकता राख्न सफल भएनन् । महाभारत युद्धलाई लिएर पनि यादवहरूबीच एकमत हुन सकेन । सेनामा विभाजन देखियो । बलराम दुर्योधनको पक्षमा थिए । तर, कृष्णले पाण्डवलाई समर्थन गरेकोले बलराम युद्धबाट विमुख भएर तीर्थाटनमा हिँडे । कृष्णको विवेक, चातुर्य र रणकौशलताकै कारण अर्जुनले विजय हासिल गर्न सकेका हुन् ।
यादवहरू मदिराबाट मुक्त हुन सकेनन् । युद्धपछि सात्यकी र कृतवर्माबीचको मनमोटावले यदुवंशको विनाश निम्त्यायो । शान्तिको कामना गर्ने, धर्मलाई जोड दिने र कर्मको समर्थन गर्ने कृष्णको कुल यिनै कुराको अभावमा आपसी झगडाको कारण तहसनहस भयो । वृद्धावस्थामा कृष्णलाई घोर विरक्ति छायो । सारा भारतवर्षलाई औंलामा नचाउन सक्षम कृष्ण अन्तिम अवस्थामा एउटा सामान्य व्याधाको बाँणप्रहारबाट घाइते भए र यसै निहुँले उनले प्राण त्याग गरे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...