-->
बजेट पारितपछि भद्र सहमति लागू हुन्छ : दाहाल

जेष्ठ २४, २०७३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि एमालेसँग भएको भद्र सहमति लागू हुने बताएका छन् । भद्र सहमति २ पक्षबीचको एउटा विश्वास र समझदारी रहेको र नभए सहमति तोडिने बताए ।

‘म जेन्टलम्यान (भद्र) छु । प्रधानमन्त्री पनि हुनुहुन्छ भन्ने लागेको छ’, प्रेस सेन्टर कास्कीले आयोजना गरेको भेटमा सोमबार उनले भने, ‘सबै कुरा अहिल्यै सार्वजनिक गर्न मिल्दैन ।’

केही समयअघि सरकार परिवर्तन हुने कुराले देशमा तरंग ल्याएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीसँग ९ बुँदे सहमतिपछि त्यो रोकिएको र त्यहाँभित्र अर्को ‘भद्र सहमति’ भएको बताए ।

भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन, संविधान जारीपछिको मधेसी, आदिवासी, जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यक रहेकोमा उनले जोड दिए ।  

साथै संघीयता, धर्म निरपेक्षता, सामाजिय न्याय, समानुपातिक समावेशीताको कार्यान्वयन अहिलेको चुनौति भएकाले यसको समाधानमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए ।

यतिबेला दलहरुबीच राष्ट्रिय एकता र सहमतिय सरकारका बिषयमा छलफल भइरहेको दाहालले बताए । बजेट पारितपछि सरकार परिवर्तन हुनसक्ने उनको भनाई थियो । आफुलाई बहुमतको सरकारको प्रधानमन्त्री बन्ने हतारो र इच्छा नभएको उनले दावी गरे ।

‘राष्ट्रिय सहमतिको सरकार जसको नेतृत्वमा बनेपनि मान्य छ,’ उनले भने, ‘हिजो आइतबारमात्रै बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको छ ।’ एक अर्को प्रसंगमा उनले भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेको बताए ।

माओवादी केन्द्र ४ नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि कृष्णबहादुर महरालगायत नेता लिएर दाहाल सोमबारै पोखरा आएका हुन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.