-->
संविधान कार्यान्वयनबारे अमेरिकी चासो

काठमाडौं: नेपाल भ्रमणमा रहेको दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री विलियम टोडले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री कमल थापासँग बिहीबार भेट गरी संविधान कार्यान्वयन र मधेसी दलका सम्बोधन हुन बाँकी मुद्दाबारे चासो राखेका छन्।
 
अमेरिकी दूतावासकी सूचना अधिकृत इनेक स्टोनह्यामले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका लागि भ्रमण केन्द्रित रहेको जानकारी दिइन्।
 
'नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणबारे भेटमा छलफल भएको थियो', उनले अन्नपूर्णसँग भनिन्, 'नेपालमा अमेरिकी लगानी बढाउन नेपालभित्र कस्तो वातावरण छ भन्नेबारे पनि उहाँले दलका नेता र सरकारी अधिकारीसँग चासो व्यक्त गर्नुभयो।'
 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल—अमेरिका द्विपक्षीय सम्बन्ध, भूकम्पपछिको पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयन, नेपालको आर्थिक विकासमा अमेरिकी सहयोगलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी वक्तव्यमा उल्लेख छ।अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री टोडले प्रधानमन्त्री ओलीको नेतृत्वमा संविधान कार्यान्वयनमा भइरहेका प्रयास र आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई गरिएको आह्वानको प्रशंसा गरेका थिए।
 
टोडले नेपालमा व्यापार गर्न वातावरण सहज र सुनिश्चित हुने विश्वास व्यक्त गरे। 'नेपालमा संविधानप्रति असन्तुष्टि राखेका दलहरूले वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने र संवादमार्फत नै सबै समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो', वक्तव्यमा भनिएको छ, 'उहाँले भूकम्पपछिको पुनर्निर्माणका बारेमा चासो राख्दै त्यसलाई गतिका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो।'
 
प्रधानमन्त्री ओलीले नेपालको संविधान जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, सभाका ९२ प्रतिशतले हस्ताक्षर गरेको, ८६ प्रतिशतले दफादफामा बहस गरी पारित गरेको, मौलिक हक र अधिकारका लागिमात्र संविधानका ३१ धारा छुट्ट्याइएको, पूर्ण समावेशी, समानुपातिक र सबैलाई सम्मानजनक र समान अधिकार सुनिश्चित गरेको उत्कृष्ट संविधान रहेको बताएका थिए।
 
प्रधानमन्त्री ओलीले संविधानमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै कसैलाई त्यस्तो लागेको भएमा तिनमा पनि वार्ता र संवादमार्फत समाधान खोज्न सकिने बताए। 'आफूले वार्तामा आउन असन्तुष्टलाई आग्रह गरेको तर त्यसलाई अस्वीकार गरेर मुलुकलाई अस्थिर बनाउने प्रयास गरेको प्रधानमन्त्रीले बताउनुभयो', वक्तव्यमा छ।
 
प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि अमेरिकी सरकारद्वारा ६६ वस्तुमा दिइएको कर सहुलियतको प्रशंसा गर्दै नेपालको मौलिक उत्पादन गार्मेन्ट, कार्पेटलाई पनि त्यसभित्र समेट्न सुझाव दिए।
 
नेपाल र अमेरिकाबीच व्यापार तथा आर्थिक साझेदारीका बारेमा वासिङ्टन डिसीमा भइरहेको 'टिफा' बैठक, मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा नेपाललाई सहयोगको सूचीमा राखी लगानी कार्यान्वयन प्रक्रिया अघि बढाएकोलगायत विषय उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई थप विस्तार र सुदृढ गर्नुपर्ने प्रधानमन्त्रीले बताएका थिए।
 
मंगलबारदेखि नेपाल भ्रमणमा रहेका अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री टोडले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटी संविधान कार्यान्वयन, मधेस आन्दोलन, शान्तिप्रक्रिया र नेपालको आर्थिक विकासबारे जिज्ञासा राखेको दाहालको निजी सचिवालयले जनाएको छ।
 
भेटमा दाहालले संविधान कार्यान्वयन, शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न, पुनर्निर्माणलाई तीव्रताका साथ सम्पन्न गर्न र देशको आर्थिक विकास गर्न राष्ट्रिय एकता आवश्यक रहेकोमा जोड दिएका थिए।
 
'राष्ट्रिय एकता र राष्ट्रिय सहमतिको सरकार निर्माणमा हाम्रो पार्टीका तर्फबाट मैले यसैमा केन्द्रित रहेर भरमग्दुर प्रयास गरिरहेको छु', भेटमा दाहालले भने, 'हामी हाम्रा अन्तर्राष्ट्रिय मित्रबाट विगतदेखि नै सहयोग प्राप्त गरिरहेका छौं। आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्छौं।'

परराष्ट्रमन्त्री थापासँग परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा टोडले संविधान निर्माणपछिको अवस्था र मधेस आन्दोलनको समाधानका विषयमा चासो राखेका थिए। मन्त्री थापाले संविधानमा असन्तुष्ट दललाई वार्तामा ल्याउन प्रयास भइरहेको बताए।
 
टोडले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग अन्तक्र्रिया गरी नेपालमा अमेरिकी लगानीकर्ताले गर्नसक्ने लगानीबारे छलफल गरेको अमेरिकी दूतावासकी सूचना अधिकृत इनेकले बताइन्। नागरिक समाजका प्रतिनिधिसँग पनि भेटवार्ता भएको उनले उल्लेख गरिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.