-->
सामुदायिक स्कुलमै ‘ए प्लस’

विराटनगर-४ पोखरियास्थित पोखरिया उच्च माविबाट ‘ए प्लस’ नतिजा आएको छ। पोखरिया स्कुलका १४ जना विद्यार्थीले एसएलसीमा ‘ए प्लस’ ग्रेड हासिल गरेका छन्। 
 
९० प्रतिशतभन्दा बढी अंक ‘ए प्लस’ ग्रेड हो। प्राचार्य खेमराज भट्टराईका अनुसार २१३ जना विद्यार्थीमध्ये ५२ जना विद्यार्थीले ‘ए’ र बाँकी सबै जना ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण भएका छन्। 
पोखरियामा अंग्रेजी र नेपाली दुबै माध्यममा पढाइ हुन्छ। अंग्रेजी माध्यमकाले ‘ए प्लस’ ल्याएका छन्। 
 
अंग्रेजी माध्यमबाट ८६ जनाले एसएलसी दिएका थिए। १२७ जना नेपाली माध्यमका थिए। ‘हाम्रो स्कुलबाट नेपाली अंग्रेजी दुबै माध्यमबाट कसैले पनि ‘बी प्लस’भन्दा कम नतिजा आएको छैन,’ भट्टराईले सेतोपाटीसँग भने, ‘यो रिजल्ट हाम्रो स्कुलको इतिहासकै राम्रो आएको छ।’ 
 
तराईमा ६ महिना चलेको आन्दोलनको रापतापमा परे पनि ‘ए प्लस’ नतिजा आउँदा स्कुल उत्साहित छ। ‘सबै अभिभावक, विद्यार्थी र शिक्षकको सामूहिक प्रयासबाट यो सम्भव भएको हो,’ प्राचार्य भट्टराईले भने, ‘विशेष गरेर अभिभावककै भूमिका छ भन्छु।’ 
 
निजी विद्यालयमा मात्र डिस्टिङ्सन आउने सामुदायिक स्कुलका विद्यार्थी सधैं फेल हुने आलोचनालाई चुनौती दिँदै भट्टराईले आफ्नो स्कुलमा अंग्रेजी माध्यम सुरू गरेका थिए। अहिले निजी स्कुलबाट विद्यार्थी निकालेर अभिभावक पोखरिया स्कुलमा भर्ना गर्छन्। 
 
‘शिक्षक साथीहरू दक्ष हुनुहुन्छ, हामी विद्यार्थी केन्द्रित सिकाइमा जोड दिन्छौं,’ भट्टराईले भने, ‘अभिभावकले आफ्ना छोराछोरीको गतिविधिबारे झक्झक्याइरहनुहुन्छ।’ भट्टराईका अनुसार संस्थागत स्कुलको रिजल्ट राम्रो हुनुमा पारिवारीक वातावरण पनि राम्रो छ, त्यो वातावरण बनाउन पोखरिया स्कुलले अभिभावकलाई सचेत नै गराएको छ। 
 
‘बच्चा कमजोर भयो भने ट्युसन, कोचिङमा पठाउनुहुन्छ,’ उनले भने, ‘बारम्बार स्कुलमा आएर जानकारी दिने गर्नुहुन्छ।’
 
यो स्कुलमा २०६८ सालबाट अंग्रजी माध्यमबाट पढाइ थालिएको थियो। ‘अंग्रेजी पढ्न बोर्डिङ गइरहनुपर्दैन, हामी १ कक्षादेखि नै अंग्रजी पढाउँछौं,’ भट्टराईले भने। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.