आगामी माघ २७ देखि २९ गतेसम्म राजधानीमा
आयोजना हुने नेकपा एमालेको विद्यार्थी संगठन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी
युनियन (अनेरास्ववियु)को २२ औं महाधिवेशनको
तयारी सुरु भएको छ । नयाँ नेतृत्व लिन विद्यार्थी
नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । केही
दिनमा उम्मेदवारी समेत घोषणा हुने तयारी
भइरहेका बेला विभिन्न विद्यार्थी नेताहरु नेतृत्व
लिन कसरत गरिरहेका छन् । पार्टीबाट टिकट पाउन
र चुनावी प्रचारप्रसार अभियानमा लागिरहेका
छन् । यसैक्रममा अनेरास्ववियु महिला विभाग
प्रमुख तथा सचिवालय सदस्य कमला बोहरा पनि
चुनावी दौडमा होमिएकी छिन् । सचिव पदकी
दावेदार बोहरा आफूले सजिलैसँग टिकट पाउने
बताउँछिन् । विद्यार्थीको अधिकार प्राप्ति र
पिछडिएको सुदूरपश्चिम क्षेत्रबाट पहिलोपटक
प्रतिनिधित्व गर्दै सचिवमा पदका लागि
मैदानमा उत्रिएको उनले बताइन् । यसै सेरोफेरोमा
सचिव पदकी उम्मेदवार बोहरासँग दैनिक नेपालले
गरेको कुराकानीको सम्पादित अंशः
अनेरास्ववियुको सचिवमा दाबी गर्नुभएको छ,
कस्तो छ तयारी ?
सर्वप्रथम त संगठनका सम्पूर्ण विद्यार्थी
साथीहरुलाई सम्झिन चाहन्छु । देशभरका जिल्ला
अध्यक्षहरुसँग, सम्भावित प्रतिनिधिहरुसँग भेटवार्ता
र फोनवार्ता भइरहेको छ । आफ्ना एजेण्डाबारे
जानकारी गराउँदैछु । सबैको सकारात्मक
प्रतिक्रिया पाएकी छु ।
तपाईँको चुनावी एजेण्डा के हो ?
म अहिले संगठनको केन्द्रीय महिला विभाग प्रमुख
पनि हुँ । अहिले हामीले संगठनमा अनिवार्य रुपमा
३३ प्रतिशत महिला सहभागिता लागू गराएका
छौँ । हाम्रो विधानमा ३५ प्रतिशत अनिवार्य
सहभागिता लेखिएको छ । जुन कार्यान्वयन हुन
सकेको छैन् । त्यसलाई कार्यान्वयन गर्ने मेरो मुख्य
एजेण्डा हो । विद्यार्थीका समस्या सांगठनिक
रुपमा उठाउने, समाधान गर्न पहल गर्ने प्रयास गर्नेछु
।
अर्काे कुरा हाम्रो संगठनमा सुदूरपश्चिमबाट यो
तहमा महिलाहरु कोही छैनन् । सचिव पदमा दाबी
गर्ने म नै पहिलो हुँ ।
सचिव पदमा दाबी त गर्नुभयो, टिकट पाउनुहुन्छ
त ?
टिकट पाउन कुनै गाह्रो छैन् । सचिवको
उम्मेदवारका लागि चाहिने क्षमता योग्यता पूरा
गरेर आएकी छु । संगठनको जिम्मेवारी सफल ढंगबाट
पूरा गरेकी छु । त्यसकारण मैले टिकट पाउँछु ।
महिलाहरुलाई चुनौति छ भन्छन् नि ?
अवश्य पनि महिलालाई धेरै खालका चुनौति छन् ।
सामाजिक, आर्थिक भन्दा पनि ठूलो राजनीतिक
क्षेत्रमा चुनौति छ । आफ्नै संगठनभित्र पनि धेरै
चुनौति छन् । गुटहरु छन्, आ–आफ्ना मान्छेलाई
प्राथमिकता दिने राम्रो क्षमता भएको
मान्छेलाई स्थान नदिने परिपाटी छ । त्यसलाई
अन्त्य गरेरै अगाडि बढ्छु ।
सचिव पदमा दाबेदारी गर्नुभयो, टिकट पनि
पाउँछु भन्नुहुन्छ, जित्नुहुन्छ त ?
जित एकदमै निश्चित छ । मैले आगामी
कार्यकालमा सचिवको जिम्मेवारी पाउँछु ।
मलाई संगठनले दोस्रोपटक सचिवालय सदस्यको
जिम्मेवारी दिएको छ । महिला विभागको
जिम्मेवारी पनि दिएको थियो । मैले आफ्नो
विभागलाई राम्रो तरिकाले चलाएँ, परिचालन
गरेँ । मुखपत्र प्रकाशन, महिलाहरुलाई प्रशिक्षण,
अन्तरक्रिया, महिलाले उत्सवका रुपमा मनाउने
नारी, दिवस १६ दिने हिंसा विरुद्धको दिवस
महिलाहरुको मन जित्ने कार्यक्रम गरेको छु । मेरो
कार्यकालमा महिला विभाग संगठनमै सफल
विभाग बनेको छ । जसका कारण सहजै जित्ने
विश्वास छ ।
देशभरका प्रतिनिधिमा मैले पूर्वाग्रही ढंगबाट गुट
उपगुट गरेको छैन् । मैले उनीहरुलाई काम गरेको
आधारमा मुल्यांकन गर्नुस् भनेको छु । संगठनको मुल्य
मान्यतालाई बोकेको व्यक्ति संगठनको नेतृत्वमा
आउनुुपर्छ भन्ने मेरो मान्यता हो । संगठनलाई
गतिशिल बनाउन चाहने, क्षमतावान,
योग्यातावान व्यक्ति आजको आवश्यक भएकाले
सम्पूर्ण प्रतिनिधिले मलाई भरोसा गरेर
जिताउनुहुन्छ भन्ने विश्वास लिएकी छु ।
सचिव जितियो भने पहिलो काम के गर्नुहुन्छ ?
पहिलो काम संगठनलाई पुरानो ढर्राको सञ्चालन
प्रणालीलाई नयाँ तरिकाबाट चलाउँछु । संगठनका
कार्ययोजना कार्यान्वयन गर्ने, शैक्षिक
आन्दोलनका एजेण्डा कार्यान्वयन गर्ने मेरो
पहिलो उद्देश्य हो । अहिलेसम्म अनेरास्ववियु
क्यालेण्डर आफ्नो छैन् । सांगठनिक रुपमा क्यालेण्डर
निर्माण गरेर कार्यक्रम बनाउँछु । यो संगठनमा १०
लाख विद्यार्थी आबद्ध छन् । उहाँहरुको हितमा
संगठन हितकोष, विद्यार्थी कोष खोल्छौं । जस्तै
कुनै विरार्थी विरामी भयो अथवा अप्ठेरो पर्दा
सहयोग गर्न सकियोस । विद्यार्थी सहकारी
पनि चलाउँछौं । पर्चा पम्पलेट, विधानलाई
व्यवस्थित गर्ने, पढ्न नपाएका विद्यार्थीलाई
सहकारीमार्फत आर्थिक सहयोग महिला
विद्यार्थीलाई प्रशिक्षण दिने काम पनि गर्छाै ।
संविधानमा व्यवस्था गरिएका महिलाका
अधिकार कार्यान्वयनका लागि विशेष जोड
दिने, दबाब दिने काम पनि गर्छाै ।
अन्तिममा केही भन्नुहुन्छ ?
हाम्रो गौरवाशाली संगठन अनेरास्ववियुको
ऐतिहासिक २२ औं सम्मेलन हुँदैछ । यो सम्मेलनबाट
भोली नेकपा एमालेको नेतृत्व गर्न सक्ने राष्ट्र र
राष्ट्रियताप्रति बफादार नेतृत्व अनेरास्ववियुले
जन्माउन सकोस् ।
विद्यार्थीका शैक्षिक एजेण्डालाई नेपालको
माटो सुहाउँदो शैक्षिक एजेण्डा ल्याउने र जो
अलिकति क्षमता योग्यता भएका विद्यार्थी
विदेश जान्छन् ति विद्यार्थीलाई रोक्न खास
कार्यक्रम ल्याउनुपर्छ । रोजगारमुलक शिक्षा
आजको मुख्य आवश्यकता हो ।
हामीले राजनीतिक सफलता त हासिल गर्यौँ तर
सामाजिक चेतनामा परिवर्तन गर्न सकेनौं । अबको
नेतृत्वले यसलाई परिवर्तन गर्न पहल गर्नुपर्छ । भुमिका
खेल्नुपर्छ ।
भौगलिकताको हिसाबले पछाडि परेको
सुदूरपश्चिम, महिलाहरु सामाजिक र राजनीतिक
रुपमा अगाडि बढ्न सकेका छैन् । महिला हिंसा
पनि बढ्दो छ । म अनेरास्ववियुको नेतृत्वमा पुगेपछि
सुदूरपश्चिमका महिलालाई अगाडि बढाउन
भूमिका हुन्छ । समग्र राष्ट्रकै महिला आनदोलनको
नेतृत्वमा लागेकाले त्यहाँका महिलालाई विशेष
पहल गर्छु ।
विद्यार्थीको क्षेत्रमा विश्वविद्यालयमा पढ्ने
विद्यार्थीहरुलाई संगठनमा आवद्ध गर्ने, हामीले
पढ्ने शिक्षामा परिवर्तन ल्याउने कुरा, शैक्षिक
माफियाविरुद्ध सही शिक्षा नीतिलाई लागू
गराउन सांगठनिक हिसाबले नेतृत्व गर्ने, अन्त्य गर्न
लड्ने, समान शिक्षा छोराछोरीबीचको भेदभाव
हटाउन पहल गर्नेछु । त्यसकारण मलाई भोट दिएर
जिताउन सबै विद्यार्थी साथीहरुमा आग्रह गर्दछु
।

0 comments
प्रतिक्रिया दिनुहोस्...