-->
नयाँ वर्षमा बेल्जियम हान्ने योजना, २ पक्राउ

पुस १५, २०७२- बेल्जियन
प्रहरीले नयाँ वर्षको
पूर्वसन्ध्यामा ब्रसेल्समा हमलाको
योजना बनाएको आशंकामा २
जनालाई पक्राउ गरेको छ । आइतबार र
सोमबार ब्रसेल्सलगायत फ्लेमिस
ब्राबान्ट र लिजे प्रान्तमा व्यापक
सुरक्षा तलासी गर्दा सैन्य कपडा र
कम्प्युटरहरू बरामद गरेको थियो । तर कुनै
हतियार, विस्फोटक पदार्थचाहिँ फेला
परेका छैनन् ।
नोभेम्बर १३ को पेरिस हमला यता
बेल्जियम उच्च सतर्कतामा छ । हमलाको
योजना नै बेल्जियममै बनेको थियो । एक
मुख्य योजनाकार नै अझै त्यही फरार
अवस्थामा छन् ।
यसपटक पक्राउ पर्नेहरूचाहिँ पेरिस
हमलासँग जोडिएका छैनन् । पक्राउ
पर्नेमध्ये एकचाहिँ आतंककारीहरूसँग
प्रत्यक्ष सम्पर्कमा रहेको आशंका
गरिएको छ । उनीहरू ब्रसेल्सका
‘सांकेतिक निसाना’ मा हान्ने
योजनामा रहेको पाइएको
सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले बरामद गरेको सामग्रीमा
इस्लामिक अतिवादी समूह आईएसको
प्रचारवस्तुसमेत परेको अधिकारीहरूले
बताए । पेरिस हमलालगत्तै ब्रसेल्स
आक्रमणकै डरका कारण ४ दिन पूरै ठप्प
भएको थियो ।
स्कुल, विश्वविद्यालय र मेट्रो रेल सबै
बन्द रहे । पेरिस हमलाका मुख्य
योजनाकार अब्देलहामिद अबाहुद पनि
एक बेल्जियन नागरिक हुन् । उनले केही
समयअघि सिरिया यात्रासमेत गरेका
थिए ।
यसैगरी बेल्जियन प्रहरीसहित
युरोपभरको संयन्त्रले सलाह अब्देसलामको
व्यापक खोजी गरिरहेको छ । उनी पनि
ब्रसेल्समै जन्मेका हुन् । उनी पनि पेरिस
हमलासँग प्रत्यक्ष सम्बन्धित छन् ।
उनका भाइ ब्राहिमले पेरिस हमलाकै
क्रममा आफूलाई बमले उडाएका थिए ।
पछिल्ला वर्षमा बेल्जियमले इस्लामिक
अतिवादी घटना नियन्त्रण गर्न संघर्ष
गरिरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.