पुस १५, २०७२- रसुवागढी
नाकाबाट चिनियाँ पर्यटक
आउन थालेका छन् । दैनिक ३५ देखि ४५
जनाको हाराहारीमा उताका पर्यटक
आउने गरेका छन् । भूकम्पको सात
महिनापछि चीनले नेपाल घुम्नका लागि
केरुङबाट आफ्ना नागरिक पठाउन
थालेपछि आगमन बढेको हो ।
सीमादेखि एक किलोमिटर वर रहेको
अध्यागमन कार्यालयबाट अनुमति लिई
चिनियाँ पर्यटकहरू काठमाडौं भ्रमणमा
जाने गरेका छन् ।
दैनिक ३५ देखि ४५ जनाको
हाराहारीमा चिनियाँ आउने गरेको
अध्यागमन कार्यालय प्रमुख ओमप्रसाद
पाण्डेले बताए । ‘दिनमा ३५ भन्दा
माथिकै संख्यामा चिनियाँहरू आउँछन्,’
अध्यागमन कार्यालय प्रमुख पाण्डेले भने ।
रसुवागढी नाकाबाट चिनियाँ
पर्यटकले भाषा जानेका नेपालीमार्फत
गाडी खोजेर काठमाडौं भ्रमणका
लागि प्रस्थान गर्छन् । एउटा गाडीको
३० देखि ३५ हजार रुपैयाँप्रति गाडी
भाडा तिरेर काठमाडौं भ्रमणमा जाने
गरेका छन् । ‘धेरैजसो चिनियाँहरू टाटा
सुमो रिजर्भ गरेर काठमाडौं जाने गरेका
छन्,’ एक चालकले भने, ‘सुमो नपाए मात्रै
बस चढेर जाने गर्छन् ।’
चीनले आफ्नो क्षेत्रमा सडक सञ्जाल
विस्तार गरी रसुवागढी नाकासम्म
जोडेपछि चिनियाँ पर्यटक आउने क्रम
बढेको हो । पहिला बोर्डर ट्रेड
व्यापारमा सीमित हुने गरेको
रसुवागढी नाकाबाट गत वर्ष चीनले
पारि रेसुओ पोर्ट सञ्चालनमा
ल्याएपछि चिनियाँ पर्यटक र
सामानसमेत आउने क्रम बढेको स्थानीय
व्यापारीहरू बताउँछन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...