-->
थोत्रा लुगा खोसाखोस

पुस १५, २०७२- लोथर २ स्थित
युर्तिका ९ वर्षीय रमेश
चेपाङको जाडोमा लगाउने न्यानो
लुगा छैन । टिसर्ट नयाँजस्तो देखिए
पनि हाफ पाइन्ट च्यातिएको छ । यिनै
लुगामा जाडो कटाउनु उनको बाध्यता
छ ।
लुगा फाटेको वर्ष दिन हुन लाग्यो ।
नयाँ किन्न नसक्दा उनी साँझ
पर्नासाथ घर छेउको कुनामा आगो
बाल्छन् । छेउमा पराल ओछ्याउँछन् । र,
त्यही आगो छेउमा निदाउँछन् ।
घरमा अन्नको जोरजाम भएको दिन
आधा पेट भए पनि खान पाउँछन् । नहुँदा
भोकै । ‘जाडो छ,’ उनले भने, ‘लाउने लुगा
छैन ।’ केही समयअघि गाउँमा सहयोगी
मार्फत जुटेको लुगा आइपुग्यो । एकपटक
लगाइसकेका लुगा लगिएको थियो ।
लुगा आउने खबरले टाढाटाढादेखि
गाउँले जम्मा भए । त्यही भीडमा थिए
रमेश पनि । लुगा भुइँमा राख्न नपाउँदै
खोसाखोस हुन थाल्यो ।
उनले भीडमा छिरेर आफूलाई ठिक्क हुने
लुगा लिने प्रयास गरे । त्यो पनि
नभएपछि जस्तो भए पनि लिन्छु भनेर लुगा
खोजे । पाउन सकेनन् । उनी निराश भए ।
‘लुगै पाइन,’ उनले फाटेको हाफ पाइन्ट
देखाउँदै भने, ‘यो लुगाले जाडो भएको छ
।’ उनलाई लाजभन्दा बढी जाडोबाट
कसरी बच्ने चिन्ता छ ।
यो समस्या उनको मात्र होइन ।
अधिकांशले जाडोमा न्यानो लुगा
लगाउन पाएका छैनन् । ओड्ने ओछ्याउने
नहुँदा आगोको भर पर्नुपरेको छ । केही
गाउँले भने न्यानो खोज्दै ओडार चहार्ने
गरेका छन् । गाउँमा थोत्रा लुगा लिएर
जाँदा खोसाखोस हुन्छ ।
अरूले एकपटक लगाइसकेको पाउँदा उनीहरू
दंग पर्छन् । ‘नयाँ किन्न सकिँदैन,’
माइलीमाया चेपाङले भनिन्, ‘अरूको
जडौरी लगाएर बस्नुपरेको छ ।’ उनले
त्यही पाउन पनि सास्ती खेप्नुपरेको
बताइन् । थोत्रा टालेफाटेका लुगा
लगाउनुपर्ने बाध्यता चेपाङ समुदायमा छ
। न्यानो लुगा नहुँदा बढी मात्रमा
बालबालिका प्रभाविन छन् । चिसोले
रोगसमेत देखिएको छ ।
चिसोले निमोनिया भई बर्सेनि
बालबालिकाको ज्यानै जाने गरेको छ
। ‘नयाँ लुगा लगाउने हाम्रो भाग्यमा
लेख्या छैनजस्तो छ,’ बलराम चेपाङले भने,
‘अरूले दिएको जडौरी लिन ठूलै सास्ती
खेप्नुपर्छ ।’ उनले बिहान बेलुकाको छाक
जुटाउन पनि उस्तै छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.