काठमाडौँ, १५ पुस । पाँच वर्षमुनिका
बालबालिकाको मृत्युको प्रमुख कारक तत्वका
रुपमा रहेको शीघ्र कुपोषणको अवस्था नेपालमा
सङ्कटपूर्ण बन्दै गएको छ ।
पछिल्लो जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका
अनुसार ती उमेर समूहका करिब चार लाख ३० हजार
बालबालिका कुनै न कुनै रुपमा कुपोषणबाट
प्रभावित छन् । तीमध्ये दुई लाख ९० हजार
बालबालिका त शीघ्र कुपोषणबाट ग्रसित छन् ।
पूर्णस्तनपान, पूरक खाना, स्वास्थ्य सेवामा पहुँच,
खानामा पोषक तत्वको अभावजस्ता कारणले
नेपाली बालबालिकामा शीघ्र कुपोषणको
मात्रा बढी हुँदै गएको विश्व स्वास्थ्य सङ्गठनले
जनाएको छ ।
शिशुको शरीरअनुसारको तौल र उचाइ नभई
ख्याउटेपन हुनुलाई शीघ्र कुपोषण भन्ने गरिन्छ ।
यस्तो अवस्था अन्त्य गर्न एसिएफ नामक
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पहलमा ४०
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाले
संयुक्त रुपमा ‘जेनेरेसन न्युट्रिसन’ नामक अभियान
आजदेखि नेपालमा सञ्चालन सुरु गरेका छन् । पाँच
वर्षमुनिका बालबालिकालाई कुपोषणका कारण
हुने मृत्युबाट जोगाउन सबै किसिमका काम गर्न
सरकार र सरकारलाई आर्थिक एवम् प्राविधिक
सहयोग गर्ने दातृ निकायको ध्यानाकर्षण गराउनु
अभियानको ध्येय रहेको छ ।
साथै शीघ्र कुपोषणलाई जनस्वास्थ्यको
समस्याका रुपमा पहिचान गर्दै आवश्यक स्रोत
साधन परिचालन गर्न पैरवी गर्ने पनि लक्ष्य रहेको
छ । नेपाल सरकारले कुपोषण अन्त्य गर्न बहुक्षेत्रीय
पोषण योजना तयार गरी लागू गरिरहेको छ । सो
योजनालाई स्वास्थ्य, शिक्षा, महिला,
बालबालिका, कृषि विकासलगायत आठ
मन्त्रालयले कार्यान्वयन गरिरहेका छन् । चालु
आवमा सरकारले रु १० करोड सो योजनाका लागि
विनियोजन गरेको छ ।
कुपोषणसम्बन्धी सहस्राब्दी विकास लक्ष्य
हासिल गर्नका लागि पोषणमा लगानी वृद्धि
गर्न अभियानले जोड दिएको छ । एसिएफ नेपालका
कार्यक्रम निर्देशक मार्टिन रोसेलटले शीघ्र
कुपोषणको समस्यालाई राजनीतिक बहस बनाउन
आवश्यक भएको बताउनुभयो । स्वास्थ्य सेवा
विभाग, बालस्वास्थ्य महाशाखाका प्रमुख डा
राजेन्द्र पन्तले बालस्वास्थ्यको समस्याका रुपमा
रहेको कुपोषणलाई अन्त्य गर्न बहुक्षेत्रीय समन्वय
आवश्यक रहेकामा जोड दिँदै खाना खाने व्यवहार
तथा पौष्टिक खाना खानुपर्छ भन्ने सचेतना
समुदायसम्म पु¥याउनुपर्छ भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका वरिष्ठ कार्यक्रम
निर्देशक राधाकृष्ण प्रधानले पोषणमा सरकारी
लगानी वृद्धि भइरहेको र विकासका योजनामा
पोषणले स्थान पाउन सुरु गरेको बताउनुभयो ।
पोषणविज्ञ अनिरुद्ध शर्माले शीघ्र कुपोषणलाई
हटाउन पोषणयुक्त खानामा जोड दिनुपर्छ
भन्नुभयो । अभियानले समुदायस्तरमा पोषणका
बारेमा सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्नेछ । दैनिक नेपाल डट कम बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...