१४ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम
भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डलाई
माओवादको रामनामी जपेर ‘खाओवाद’ को अभ्यास
गरेको आरोप लगाएका छन् ।
प्रचण्डले केपी ओलीसँग प्रेम गरेको र बैद्यसँग विवाह गर्न
खोजेको भन्दै डा. भट्टराईले प्रचण्डकाे चाहना दूध
आउन्जेलसम्म ओलीलाई दुहुने र त्यसपछि आफैं
प्रधानमन्त्री बन्ने रहेको आरोप लगाएका छन् ।
माओ दिवसका दिन प्रचण्डले भट्टराईमाथि
‘लिनप्याओवादी’ भएको आरोप लगाएका थिए ।
त्यसको जवाफ दिने क्रममा डा. भट्टराईले कडा
आरोप लगाउँदै प्रचण्डले वितगमा भारतसँग विन्तीपत्र
हालेको, लडाकुको रकम अनियमितता गरेको,
कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा पुर्याएको
लगायतका आरोप लगाएका छन् ।
‘सुनियोजित दुष्प्रचारको प्रतिवाद’ शीर्षकमा
भट्टराईले प्रचण्डलाई यसरी प्रश्न सोधेका छन्ः
हामीले नयाँ शक्ति निर्माण अभियानको क्रममा
अरुवारे नकारात्मक टीकाटिप्पणी गरेर समय खर्चनु
सट्टा आफ्ना सकारात्मक सोच, योजना र कार्यक्रम
जनसमक्ष सम्प्रेषण गर्न जोड दिने संकल्प गरेकाछौं र
त्यसमा हामी दृढ रहन चाहन्छौं।
तर केही मान्छेहरूले र खाशगरी हिजो संगै काम गरेका
एकजना स्थापित नेताले निरन्तर रूपमा हाम्रा
विरुद्ध गोप्य र खुला दुष्प्रचार र चरित्रहत्या
अभियान चलाइरहेका छन्। हिट्लरको प्रचारमन्त्री
ग्वेवल्सले ‘झुटो कुरा सय चोटि दोहोर्याए पछि
साँचो लाग्न थाल्छ’ भने झैं र संस्कृत नीतिशास्त्रमा
‘मौनम् सम्मति लक्षणम्’ भने झैं चूप लागेर बस्दा आम
जनसमुदायमा भ्रम पर्ने खतरा हुन्छ। त्यसैले कसैमाथि
नाजायज आक्रमण गर्न हैन आफ्नो जायज प्रतिरक्षा
गर्न हामीले अहिले केही बोल्नै पर्ने भएको छ।
बाहिर ‘माओवाद’ को नाउँ जमेर भित्र ‘खाओवाद’
को भद्दा अभ्यास गर्दै नेपाली कम्युनिष्ट
आन्दोलनलाई पतनको दिशामा डोर्याउन अग्रणी
भूमिका खेल्ने ती महानुभावलाई हाम्रा केही
प्रतिप्रश्न छन्:
१. २६ बर्षदेखि लगातार पार्टी प्रमुख भएर अहिले
पार्टी र आन्दोलनलाई यो दुरावस्थामा पुर्याउनमा
मुख्य भूमिका तपाईंको हुन्छ कि सहायक स्थानमा
रहेका वैद्य र बाबुरामको हुन्छ?
२. द्वन्दात्मक भैतिकवाद अनुसार कुनै वस्तु/घटना/
व्यक्तिको विकास र विनासको मुख्य कारण
आन्तरिक हुन्छ, वाह्य पक्ष सहायक मात्रै हुन्छ भन्ने
कुरालाई तपाईं मान्नुहुन्छ कि हुन्न? यदि मान्नुहुन्छ भने
तपाईंलाई मन नपर्ने सबै कुरा ‘वाह्य शक्ति’ कै कारणले
हो भन्ने दुराशयपूर्ण रटान वारम्वार किन लगाउनुहुन्छ?
त्यो कुन सिद्धान्त र मान्यताभित्र पर्छ ?
३. हालैको ‘कान्तिपुर’ को अन्तर्वार्तामा ‘थिंग्स
आर् नट ह्वाट दे सिम’ भन्दै नयाँ शक्ति
अभियन्ताहरुलाई ‘वाह्य शक्ति’ संग जोडेर हिलो
छ्याप्ने दुस्साहस गर्नु भन्दा पहिले तपाईंले आफ्ना
‘विदेशी प्रभु’ हरुसंगको सम्बन्धलाई खुला र पारदर्शी
बनाउने आँट गर्नु पर्दैनथ्यो? तपाईंका पटकपटकका
सिंगापुर, बैंकक, लण्डन भ्रमणहरू केकानिम्ति थिए र को
कोसंग के के भएको थियो भन्ने जानकारी तपाईं
जस्तो ‘देशभक्त’ले सोझा नेपाली जनतालाई गराउनु
पर्दैन ?समकालीन नेपालका कुनै पनि पार्टीका
शीर्ष नेताहरूमध्ये विदेशी दूत र एजेन्सीहरूसंग सबभन्दा
बढी उठवस र लेनदेन गर्ने व्यक्ति तपाईं नै हो भन्ने
कुरालाई अरुसंग आँखा जुधाएर खण्डन गर्न सक्नुहुन्छ ?
संविधान जारी गर्ने पूर्वसन्ध्यामा आफैले विन्तिपत्र
हालेर दिल्ली भ्रमण गर्नुको रहस्य के थियो र कुरो
कहाँ रड्केर देश र जनताले यो कष्ट व्यहोर्नु परिरहेको
हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ नदिई कुरो
चपाएर उम्कन पाइन्छ ?
४. गत भदौमा २ दिन पर्खेर आन्दोलनकारीहरूको
चित्त बुझाएर संविधान जारी गरेको भए कुन आकाश
खस्थ्यो वा कुन विदेशीले के वहानामा नाकावन्दी
गर्न सक्थ्यो? आफ्नो स्वार्थमा धक्का लागे
विदेशीको हौवा खडा गर्ने तर आफ्नो स्वार्थ
सिद्धि गर्न चाहिं विदेशी सामु लम्पसार पर्ने यो
कस्तो राष्ट्रवाद हो?अहिले पनि तपाइँ पुन:
प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हुनुहुन्छ र ओली
सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने
दाउमा हुनुहुन्छ भन्ने कसैलाई थाहा छैन भन्ने
ठान्नुहुन्छ ?
५. ‘लिनप्याओवादी’ र ‘आलोकप्रवृत्ति’ को सधैं
पार्टीभित्र शिकार हुँदै आएको व्यक्तिलाई अहिले
तपाईंले उल्टै ‘लिनप्याओवादी’ भन्ने धृष्ठता गर्नु
‘कागले आफ्नो नाम आफै काड्छ’ भनेजस्तो भएन र ?
आखिर ‘आलोकप्रवृत्ति’को पुनरावृत्ति तपाईंकै वैठक
कोठा भित्रबाट मात्रै पटक पटक भैरहनुलाई संसारले
कसरी बुझ्ने होला ?
६. अहिले संविधान बनेको जश बोकेर सत्ताको भर्यांग
चढ्ने दाउमा तपाईं हुनुहुन्छ भन्ने कसलाई थाहा छैन र ?
तर त्यसक्रममा संविधानसभा र संविधानका
वास्तविक अभियन्तालाई संविधानविरोधी भनेर
मिथ्या प्रचार गर्नुभन्दा पहिले २०६७ सालको चर्चित
पालुंगटार बैठकमा विद्रोहको लाइन लिने वैद्यसंग
‘एकता’ प्रधान र शान्ति तथा संविधानको लाइन
लिने बाबुरामसंग ‘संघर्ष’ प्रधान भन्नु तपाईंको गल्ती
रहेछ भनेर स्वीकार गर्नु पर्छ कि पर्दैन ? अन्यथा ‘जता
काफल पाक्यो उतै चरी नाच्यो’ भन्ने उखान तपाईंमा
किन लागू नहुने ?
७. त्यत्रो त्याग र वलिदानको जगमा निर्मित
माओवादी आन्दोलन पछिल्लो चरणमा तपाईंकै
नेतृत्वमा चरम सत्तालिप्सा र भ्रष्टाचारको दलदलमा
निस्कनै नसक्ने गरी फसेको यथार्थ हो कि हैन ? हैन भने
अझै पनि बोगटी आयोग र शेरचन आयोगको प्रतिवेदन
सार्वजनिक गर्ने आँट छ ? तपाईं प्र म बन्नकोनिम्ति
सांसद खरिद गर्न विदेशीसंग पचासौं करोड मागेको
टेप सार्वजनिक भएको कुराको अहिलेसम्म किन कुनै
चित्तबुझ्दो खण्डन भएको छैन ? चर्चामा आएका दूर
संचार घोटाला, लडाकु शिविर घोटाला आदि कैयन्
भ्रष्टाचार प्रकरणवारे आम कार्यकर्ता र जनतालाई
सुसूचित हुने अधिकार छ कि छैन ? कि ‘माओवाद’ को
रामनामी जपे पछि सबै खत माफ हुन्छ ?
८. विचार-प्रवृत्तिगत ‘प्रेम’ सत्ताका खेलाडी के पी
ओलीसंग तर पुराना कार्यकर्ता भुलाउन ‘विवाह’ को
प्रस्ताव चाहिं विचरा वैद्यसंग गर्ने प्रवृत्तिलाई के
भन्ने होला ? मार्क्सवाद-लेनिनवाद-माओवादको
खोल ओढेर पुरानै सत्ता, शक्ति र सम्पत्तिको
घिनलाग्दो खेल खेल्ने यो प्रवृत्तिलाई ‘जडसूत्रिय-
अवसरवाद’ ( dogmato-opportunism) नभने के भन्ने ?
वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति
यही हो कि ?
९. त्यसैले तपाईं आफु शिशाको घरमा बसेर अरुको
परालको झोपडीमा ढुंगा नहान्नु नै वेश हुन्छ कि ?
‘नयाँ शक्ति अभियान’ यो फोहरको दलदलमा फसेको
समकालीन राजनीति भन्दा माथि उठेर नयाँ उन्नत
सोच र जनमुखी तथा पारदर्शी आचरण सहितको
वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने सचेतन पहल
हो भनेर बुझ्नुपर्ला कि ?

0 comments
प्रतिक्रिया दिनुहोस्...