१५ पुस, काठमाडौं । गृहमन्त्री शक्ति बस्नेतले
राष्ट्रिय मानवअधिकार आयोगमा सोमबार बयान
दिँदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो
नेपाली प्रहरीको कुटाइबाट घाइते नभएको दाबी गरे
। मन्त्री बस्नेतले यस्तो दाबी गरिरहँदा ‘महतोलाई
सडकमा लडाएर प्रहरीले लाठी हानेको’ भिडियो
इन्टरनेटमा छ्याप्छ्याप्ती भइसकेको थियो ।
भनेपछि, गृहमन्त्रीले झूठो दाबी गरे कि ? या
इन्टरनेटमा फैलिएको भिडियो नै झूठो हो ?
घटनाक्रमको विश्लेषण गर्दा गृहमन्त्रीको भनाइ र
प्रचारित भिडियो दुबै सत्य हुन सक्ने आधार देखिएका
छन् ।
यसरी भयो घटना
नाकाबन्दी कडा बनाउने भन्दै महतो शनिबार
वीरगञ्जबाट बिराटनगर पुगेका थिए । जोगबनीबाट
केही कार्यकर्ता लिएर नारावाजी गर्दै नेपालतिर
आएका उनी रानी भन्सार नाकाको मुखैमा
कार्यकर्तासहित धर्ना बसे ।
यसअघि मोर्चाले धर्ना दिँदै आएको ठाउँभन्दा १००
मिटर वरै बसेपछि प्रहरीले उनीहरुलाई हटाउन सामान्य
बल प्रयोग गर्यो । त्यसपछि दुबै पक्षबीच झडप भयो ।
झडपका क्रममा महतोसहितका दुई-तीन जनालाई
केही प्रहरीले घेरेको र एक प्रहरीले लाठी हानेको दृश्य
इन्टरनेटमा फैलिएको भिडियो फुटेजमा देखिन्छ ।
भिडियोमा देखिएका व्यक्तिको पोशाकका
आधारमा उनी महतो नै हुन् भन्ने अनुमान गर्न सकिए
पनि अनुहार चिनिँदैन । उक्त भिडियो फुटेज रानी
भन्सारको सीसीटीभीले कैद गरेको बताइन्छ ।
गृहमन्त्री शक्ति बस्नेतले भने उक्त भिडियोको
आधिकारिकतामाथि प्रहरीले अध्ययन गरिरहेको
अनलाइनखबरलाई बताए ।
‘मैले पनि भिडियो हेरेको छु, तर त्यसमा राजेन्द्र
महतोको प्रष्ट अनुहार देखिएको छैन,’ मन्त्री बस्नेतले
अनलाइनखबरसित भने, ‘विगतमा पनि धेरै किसिमका
नक्कली र भ्रामक भिडियोहरु इन्टरनेटमा भाइरल
बनेका उदाहरण छन्, त्यसैले यसको सत्यतामाथि हामी
अनुसन्धान गर्दैछौं ।’
भिडियोमा महतोको टाउको वा शरीरमा
प्रहरीको लाठी लागेको प्रष्ट देखिएको छैन ।
सो झडपका क्रममा महतोलाई कार्यकर्ताले जोगाएर
भारतको जोगवनीतर्फ लगेका थिए । महतोसहित
कार्यकर्ताहरु जोगवनीमा पुगेपछि नेपालतर्फ ढुंगा
हान्ने क्रम सुरु भयो । तर, विगतको शैली विपरीत
यसपटक भारतीय एसएसबीले नै प्रदर्शनकारीलाई त्यहाँ
टिक्न दिएन । एसएसबीले लाठीचार्ज गरेपछि उनीहरु
भागाभाग भए ।
भारतको जोगवनीतर्फ लागेको करिब आधा
घन्टापछि महतोसहित नौ जना घाइतेलाई एम्बुलेन्समा
राखेर नेपालतर्फ ल्याइएको गृहमन्त्री बस्नेतको दाबी
छ ।
शंकाको आधार
यदि महतो नेपाल प्रहरीकै लाठीबाट घाइते भएका
थिए भने किन अस्पताल नगएर भारतको जोगवनीतर्फ
गए ? हिँड्दै जोगवनी गएका उनलाई आधा घन्टापछि
एम्बुलेन्समा हालेर नेपालतर्फ ल्याइनुले उनले टाउकोमा
भारतीय प्रहरीको लाठी लागेको हुन सक्ने सरकारी
अधिकारीहरुको आशंका छ ।
रक्सौल नाकामा राजेन्द्र महतो एसएसबीका लागि
चिर परिचित भए पनि जोगवनीमा सायद उनी
नौला थिए ।
घटनापछि सदभावना पार्टीका महासचिव मनिष
सुमनले जारी गरेको विज्ञप्तिमा नेपाल प्रहरीले
ताकीताकी लाठी र बुट प्रहार गर्दा महतोको
टाउकोमा चोट लागेको उल्लेख गरेका थिए ।
बिराटनगरको गोल्डेन अस्पतालको आइसीयूमा
राखिएका महतोलाई जाँचका क्रममा ठूलो चोट भने
कतै पनि देखिएन । अस्पतालमा महतोलाई भेटेका
अनलाइनखबरकर्मी धु्रव भट्टराईले डाक्टरलाई उधृत गर्दै
जनाएअनुसार टाउकोमा सामान्य डामबाहेक
शरीरमा चोटपटक थिएन । सिटीस्क्यानले उनको
टाउको पनि सद्दे देखाएको थियो । बरु सुगर र प्रेसरले
महतोलाई सताएको चिकित्सकहरुले बताएका थिए ।
तर, के महतो कुनै गम्भीर चोटपटकबिनै टाउकोमा पट्टी
बाँधेर सुगर र प्रेसरको उपचार गराइरहेका छन् त ?
आखिर भिडियो फुटेजमा भने सेतो कपडामा खूनसमेत
आएको देखाइएको थियो ।
गृहमन्त्री शक्ति बस्नेतले मानवअधिकार आयोगमा
बयान दिने क्रममा महतोलाई प्रदर्शनकारीले हानेको
ढुंगा टाउकोमा लागेको हुन सक्ने बताएका थिए ।
उनलाई भारतीय प्रहरीले लाठी चार्ज गरेका हुन् या
नेपालका प्रहरीले भन्ने स्पष्ट थाहा नभएको
गृहमन्त्रीको भनाइ थियो ।
किन डिस्चार्ज भएनन् ?
शरीरमा कुनै गम्भीर चोट नभएका महतोको अवस्था
सामान्य छ । तर, उनी गत पाँच दिनदेखि अस्पतालमै
छन् । बिराटनगरको गोल्डेन अस्पतालले भने उनलाई
तीन दिन अगाडि नै डिस्चार्ज गरिदिएको थियो ।
स्रोतका अनुसार अस्पतालले डिस्चार्ज गर्दा महतो
असन्तुष्ट बनेका थिए । ‘मलाई अझै रिंगटा लागिरहेको
छ, यति चाँडै डिस्चार्ज गरिदिने ?’ भन्दै उनले
अस्पतालका चिकित्सकलाई महतोले असन्तुष्टि
पोखेका थिए ।
डिस्चार्ज भएर बिराटनगरमा बस्न नमिल्ने अवस्था
आएपछि महतोले धरानको वीपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानका निर्देशक विपी दासको
सहयोग मागेको स्रोत बताउँछ ।
स्वास्थ्यमन्त्री हुँदादेखि दाससित महतोको राम्रो
सम्बन्ध थियो । दासले तत्कालै बिराटनगरबाट
उनलाई धरानमा झिकाए र भर्ना गरे । त्यसपछि महतो
अहिले ढुक्क बनेका छन् । अहिले उनलाई क्याबिनमा
सारिएको छ । अझै केही दिन अस्पताल बसाइ
लम्ब्याउने महतो र दासको समझदारी छ ।
मंगलबार धरानका केही पत्रकार महतोको अवस्था
बुझ्न जाँदा उनले अलास-तलास परेको अभिनय गर्दै
बोलीसमेत सानो बनाएको एक पत्रकारले बताए ।
पत्रकारहरुसित उनी खासै बोल्न मानेनन् । यद्यपि
अरुबेला भने उनी आफूलाई भेट्न आउने कार्यकर्ता र
अस्पतालका कर्मचारी-नर्सहरुसित सामान्य अवस्थामै
गफ गरेर बबस्ने गरेको स्रोतको भनाइ छ ।
अस्पतालबाट डिस्चार्ज हुन महतो अनिच्छुक बन्नुमा
सम्भावित कारण यस्ता हुन सक्छन् ।
१. आराम गर्नु । महिनौंदेखिको धर्ना बसाइबाट
थाकेका महतोलाई अस्पतालमा थकाइ मार्ने अवसर
जुरेको छ ।
२.सुगर र प्रेसरको उपचार गराउनू । उपचार खर्च सरकारले
व्यहोर्ने उनको विश्वास छ । आन्दोलनमा प्रहरी
दमनका कारण आफ्नो प्रेसर र सुगर बिगि्रएको उनले
बताउने गरेका छन् । बिराटनगरका चिकित्सकले पनि
सुगर र प्रेसर समान्य अवस्थामा आउन अझै केही दिन
लाग्ने बताएका थिए ।
३.महतोको अर्को उद्देश्य हो, आफू अस्पतालमा बसेर
आन्दोलन चर्काउनू । प्रहरीको पिटाइले गम्भीर घाइते
भएको सन्देश फैलाएर महतो एकातर्फ
आन्दोलनकारीलाई उत्तेजित पार्न चाहन्छन् भने
अर्कोतर्फ प्रहरीले आन्दोलनकारीमाथि चरम दमन
गरेको भनेर बाहिर सन्देश प्रवाह गर्न चाहन्छन् ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...