काठमाडौं, १३ पुस । गृहमन्त्री शक्ति बस्नेतले
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि
नेपाल प्रहरीले आक्रमण नगरेको दाबी गर्नुभएको छ ।
शनिबार विराटनगर–जोगवनी नाकाका धर्ना
दिने क्रममा झडप हुँदा महतो घाइते हुनुभएको थियो
। सोमबार राष्ट्रिय मानव अधिकार आयोगका
पदाधिकारीलाई घटनाबारे जानकारी गराउँदै
गृहमन्त्री बस्नेतले महतोसहितका नेताहरू
जोगवनीबाट नाराबाजी गर्दै विराटनगरको
रानी भन्सार नाकामा आएको र प्रहरीले पटक–
पटक चेतावनी दिँदा पनि नहटेको बताउनुभयो ।
आयोग स्रोतका अनुसार प्रदर्शनका क्रममा केही
आन्दोलनकारी भारततर्फ गएर नेपाली
सुरक्षाकर्मीलाई ढुंगा हानेको र त्यस क्रममा
भारतीय सुरक्षाकर्मीले पनि लाठीचार्ज गरेको
दाबी पनि उहाँले गर्नुभएको थियो ।
‘अधिकांश आन्दोलनकारी नेपालतर्फ थिए भने
केहीले भारतीय भूमि जोगवनीतर्फ गएर नेपालतर्फ
ढुंगा हानेका थिए’ बस्नेतको भनाइ उद्धृत गर्दै
स्रोतले भन्यो– ‘पछि महतो घाइते भएको भन्दै
भारततर्फबाट एम्बुलेन्समा ल्याइयो । महतो
आन्दोलनकारीले हानेको ढुंगा लागेर घाइते
हुनुभएको हो कि भारतीय प्रहरीको लाठी लागेर
अझै खुल्न बाँकी छ । तर, नेपाल प्रहरीले आक्रमण
गरेको छैन् ।’
उहाँले गृहमन्त्रीले महतोको स्वास्थ्य अवस्था अहिले
गम्भीर नरहेको दाबी गर्नुभयो । गत शनिबार
विराटनगरस्थित रानी भन्सार कार्यालय नजिक
प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा
महतो घाइते हुनुभएको थियो ।
घटनाबारे आजै गृहमन्त्री बस्नेतले व्यवस्थापिका
संसदलाई समेत जानकारी गराउनुभएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...