-->
पीडा जङ्गली हात्तीको

झापा, १५ पुस । झापा गरामनी २ खोपबाडीकी
पार्वती गदाइली राति अनिदो बसेको महिनौँ
भइसक्यो । जङ्गली हात्तीको त्रासले उनी रातभर
सुत्न पाउँदिनन् । ‘रातभरी हात्ती खेदाउनुपर्छ, सुत्नै
पाइँदैन नि,’ घरको सिकुवामा शनिबार बिहान
मकै छोडाएर बसेकी उनले भनिन्, ‘टस बालेर
खोलैखोला खेदाएर जङ्गल पुर्याउछौँ तर
एकैछिनमा फेरि आइपुग्छन् ।’ हात्तीले धानको कुन्यू
सखाप पार्ने डरले यस गाउँका अधिकांशले थ्रेसर
लगाएर थन्क्याइसके । ‘तर, घरभित्रकै अन्न पनि
खाइदिन्छ भन्ने डर छ,’ गदाइली भन्छिन्, ‘ज्यान
जोगाउनै मुस्किल छ । गाउँको केरा, बाँस खाएर
केही बाँकी छैन ।’
झापाकै व्यस्त शहर बिर्तामोडबाट नजिकै पर्छ
खोपबाडी । कुनैबेला बाहुनडाँगीबासीलाई बढी
दुःख दिने जङ्गली हात्तीले अहिले झापाका
विभिन्न स्थानमा उपद्रो मच्चाउँदैछन् ।
गरामनीका विभिन्न स्थानमा हात्तीले क्षती
पुर्याउँदा यस क्षेत्रका बासीन्दा राति निदाउन
पाएका छैनन् । ‘पाइला हेर्नुस् न खमारभरी ।
यहिँबाट आउँछन् हात्ती,’ हात्तीको पाइला
देखाउँदै खोपबाडीका इश्वरीप्रसाद भण्डारीले
भने, ‘हात्ती नआएको दिन छैन । कहिले दिउँसै
आउँछन्, कहिले मध्यराति ।’ खोपबारीका
बासिन्दा रातभर आगो तापेर बस्छन् । दुइवर्षअघि
यहाँ मगर थरका एक पुरुषको ज्यान लिएको थियो
जङ्गली हात्तीले । त्यसकारण हात्तीको नाम
सुन्नेबित्तिकै उनीहरुको निन्द्रा हराउँछ ।
गाउँदेखि नजिकै चारआली जङ्गल छ । जङ्गलको
नजिकै पोखरी । हात्ती त्यही जङ्गल र पोखरीमा
रमाएर बसेका छन् । भोक लाग्नासाथ हात्ती गाउँ
पस्छन् । ‘८/१० वर्ष भयो हात्तीले दुःख दिएको,’
भण्डारी भन्छन्, ‘अरुबेला आउँथे जान्थे । अहिले
चाहिँ जङ्गलमै छन् ।’
खालबाडीकै बासिन्दा खडानन्द निरौलाको
खमारको धान खाइदियो हात्तीले । उनले खेतमा
लगाएको उखु, मकैबारी, सागपात, सुपारीका बोट
सबै सखाप पारिदियो । हात्तीले धेरैजनाको घर
भत्काएर लथालिङ्ग बनाइदिएको छ ।
निरौलाको मिल भत्काइदियो । टिन
च्यातिदियो । सुपारी भाँचिदियो । भाग्ने
हुँदा उनी घाइते भए । आफ्नो पीडा सुनाउन
खालबाडीबासी गाविस हुँदै वन कार्यालयसम्म
पुगे । तर, कतैबाट सुनुवाई भएन ।
अहिले उनीहरुले चोकचोकमा बत्ती जडान गरेका छन्
। तर, हात्ती पनि बाठा रहेछन् । लोडसेडिङको
मौका छोप्छन् । खालबाडीबासी राति
शौचालय जान डराउँछन् । बिहान छोराछोरी
क्याम्पस जाँदा पुर्याउन जान्छन् अभिभावकहरु ।
थाहै नपाई आईपुग्छन् हात्ती । उनीहरु भागेर ज्यान
जोगाउँदैछन् ।
जङ्गलबाट निस्किएपछि खालबाडी, खोपवाडी
हुँदै हात्ती कहिले दुवागढी त कहिले भद्रपुरसम्म
पुग्छन् । खोपबाडीमै शसस्त्र प्रहरीको बेस क्याम्प
पनि छ । हात्ती आएको थाहा पाएसम्म शसस्त्रले
सहयोग गर्ने गरेको सोही ठाउँका दिनेश पराजुली
बताउँछन् । ‘साँझमा कतै जाने स्थिति छैन । उनी
भन्छन्, ‘प्रत्येक दिन एउटा न एउटा बिगार गरेकै हुन्छ
।’ सोही ठाउँकी कमला निरौला नानीहरुलाई
पिकनिक खुवाउन जङ्गलतिर जाँदै थिइन् । उनी
जतिबेलै हात्तीलाई नै सम्झिन्छिन् । उनले भनिन्,
‘राति मुसाले खत्र्याक्क गर्दा पनि हात्ती
आएजस्तै लाग्छ ।’
खोपबारीकै बासिन्दा मानबहादुर भुजेलको
चारजनाको परिवार छ । उनीहरु पालो गरेर सुत्छन्
। ‘आएर भिडेपछि त डाङडुङ पारिहाल्छ नि,’
बिहान भकारो सोहोर्दै गरेका उनले भने,
‘पसिसकेपछि त टेर्दै टेर्दैन ।’ उनका अनुसार सो
स्थानमा शरणार्थी हुँदा हात्ती त्यति आउँदैन
थिए । तर, शरणार्थी त्यहाँबाट हटेपछि हात्तीले
जङ्गल कब्जा गरेको उनी बताउँछन् । ‘हाम्रो दुःख
बुझ्न अहिलेसम्म कोही पनि आएको छैन,’ उनले भने ।
हात्तीले सोही स्थानका शेरबहादुर भुजेलको घरको
टाटी भत्काइदियो । व्यूँझिने बित्तिकै भागेर उनले
ज्यान जोगाए । भत्काएको बेरा टालटुल पारेर
उनी सुत्दैछन् । ‘निकै दिनदेखि तङ गरिरहेको छ
हात्तीले,’ उनले भने, ‘मेरो त तोरीबारी पनि
सखाप पारिदियो । शसस्त्रसँग पटेका मागेर
पड्काउँदा पनि उल्टै खेदाउँछ । मसिना हात्ती त
भाग्छन् । तर, ठूलो त झम्टेर आइहाल्छ ।’
८० वर्षीया जानुका खवास कान कम्ति सुन्छिन् ।
आँखा कम्ति देख्छिन् । उनको घरमा राखेको अन्न
सखापै पारिदियो हात्तीले । ‘एक बोरा मकै
थियो, दुइचार पल्ला चामल थियो, आधि बोरा
मकैको पिठो थियो,’ जाडोले थर्थर काँप्दै गरेकी
उनले भनिन्, ‘दबाइहरु, कागजपत्र टाक्टुक धुलोपिठो
पारिपदयो । दुइवटा बाक्सा फुटाइदियो ।’ उनी
अहिले आफ्नो घरमा सुत्दिनन् । नजिकै रहेको
सुकमाया खेवानीका जान्छिन् उनी । गाउँमा
हात्ती पसेको सुन्ने बित्तिकै यी वृद्धालाई लिएर
सुकमाया भाग्ने गर्छिन् । ‘साँझ पर्ने बित्तिकै
हात्ती गाउँ पस्छन्, आमालाई लिएर भाग्दा
खुट्टामा ठेस लागेर कत्ति लडिसकेँ,’ उनले भनिन्, ‘मैले
त पहिले हात्ती देखेकै थिएन । साह्रै डर लाग्यो ।’
‘हामीले चाहिँ वनको एउटा रुख ढाल्यौँ भने
समातेर थुन्छन् । हात्तीले चाहिँ हाम्रो घर
भत्काउँछ, चामल खाइदिन्छ, सरकारले केही गर्दैन,’
सोही ठाउँका रामप्रसाद खेवा आफ्नो पीडा
सुनाउन थाले, ‘हामी साहै्र मारमा पर्यौँ सर !
हात्तीले चामल, नुन, तेल, सबै खाइदिन्छ । हामी के
खानु ? सरकारसँग पुग्न पनि सक्दैनौँ हामी ।’
हात्तीले टाटी भत्काएपछि उनी सय रुपैयाँ घनाले
बाँस किनेर नयाँ टाटी लगाउँदैछन् । तर, हात्तीले
त्यही दिन भत्काइदिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.