काठमाडौं, पुस १८
- सुखी परिवारकी बुहारी भैदिएको भए ६ महिने
सुत्केरी इन्दिराले काखे छोरी नहुर्कंदासम्म वरको
सिन्को पर नसारिकनै बसीबसी खान पाउनुहुन्थ्यो ।
तर बिहान खाए बेलुका के खाउँ भन्ने अवस्था भएपछि
सुत्केरी ज्यान र काखको नानी भनेर सुख पाइएन ।
अलिअलि हिँडडूल गर्न सक्ने भएदेखि नै मरिमेटेर काममा
लाग्नुपर्यो ।
रामेछाप घर भएकी १९ वर्षिया इन्दिरा रोक्का
अहिले ६ महिने काखे छोरी र श्रीमानसँगै
काठमाडौंमा हुनुहुन्छ । चिसोको मौसम, सुत्केरी र
शिशुलाई त दिउँसोको पारिलो घाममा पनि
चिसो र स्याँठले सेक्छ । ज्यानमा अलिकति चिसो
पसेपनि असर गर्छ । तर हरक्षण तातो चाहिने सुत्केरी
इन्दिरा र ६ महिने शिशुको ज्यानले सितिमिती
न्यानो पाउँदैन । काचो ईंटा र टिनको छानो भएको
छाप्रोभित्र यसैपनि चिसो हुन्छ । त्यसमाथि
इन्दिराको काम भनेकै चिसो खेलाउने । मध्यरातमा
उठेर हिलो माटो डल्ला पार्दै ईंटा बनाउनुपर्छ ।
दिउँसो चल्ने हावामा त्यही ईंटा मिलाएर चाङ
लगाउनुपर्छ ।
६ महिने छोरी भोक र चिसोले रुन्छिन् । उनलाई
काखमा गुटुमुटु पारेर न्यानो बनाउनु त परको कुरा, दुध
चुसाउने फुर्सद पनि हुँदैन । १७ वर्षमै बिहे भो, बिहे
भएपछि नानी भो काम नगरी खान पाइ्एन हजुर यो
नानीलाई मार्न पनि त भएन कसरी हुर्काउने हो
आफैंलाई थाहा छैन एकछिन फुर्सद निकालेर
छोरीलाई दूध चुसाउँदै गरेकी इन्दिराले व्यथा
सुनाउनुभयो ।
आआफ्नै दुःखपीर, व्यथा र बेदना बोकेका मान्छेहरुसँगै
ईंटा बनाउने काममा लागेकी इन्दिरालाई मैले जस्तो
कष्ट अरुले पनि झेल्नुपरेको होला र जस्तो लाग्छ ।
एक्लो ज्यान भए त जसरी पनि गुजार्नुहुन्थ्यो, तर यो
सानी छोरीलाई यस्तो ठाउँमा कसरी हुर्काउनु मैले
नजिकैको सुत्ने ठाउँ देखाउँदै इन्दिराले भन्नुभयो, यही
पातलो ओढ्ने ओछ्याउने हो, रातभर चिसोले निदाउन
सकिंदैन । छोरीलाई जसोतसो गुटुमुटु पारेर सुत्छु,
राती उठ्दा त आफ्नो ज्यान शीतले भिजेको हुन्छ ।
श्रीमानले पहिलेजस्तो माया नगर्ने इन्दिराले
सुनाउनुभयो । माया गर्ने मान्छेले त नानीको ख्याल
गर्नु भन्नुपर्ने नि, एकछिन काम गर्न सकिन भने पनि मैले
मात्रै गर्नुपर्ने भनेर रिसाउनुहुन्छ इन्दिराले भन्नुभयो
फुर्सद हुने बित्तिकै कता पुग्नुहुन्छ, यो नानीको वास्तै
छैन ।
इन्दिरालाई आफुले दुःख धेरै गर्नुपर्यो भन्ने चिन्ता
भन्दा पनि सानी छोरीलाई कसरी बचाउन
सकिएला भन्ने ठूलो चिन्ता छ । चिसोले दिनरात
रुन्छे, कस्तो अभागी रैछे मेरी छोरी इन्दिरा
भक्कानिदै छाप्रोभित्र पस्नुभयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...