-->
अनुदानमा प्राप्त चिनियाँ इन्डक्सन चुल्होको मूल्य ९२ सय !

१९ पुस, काठमाडौं । नेपाली बजारमा भारतबाट
आएको इन्डक्सन चुल्होको मूल्य सामान्यतः ४
हजारदेखि ७ हजारसम्म पर्ने गरेको छ । तर, चीनले
अनुदानस्वरुप दिएको चुल्होको दाम नेपाल सरकारले
अहिलेसम्म तोक्न सकेको छैन ।
चीनले अनुदानमा दिएको झण्डै ११ हजार ३ सयवटा
इन्डक्सन चुल्हो अहिलेसम्म साल्ट ट्रेडिङको गोदाममा
थन्किएको छ ।
वाणिज्य मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेका
अनुसार मूल्य निर्धारण नभए पनि चीनबाट आएको
इन्डक्सन चुल्हो प्रतिगोटा ९ हजार २ सय पर्ने
देखिएको छ ।
चीनले दिएको मूल्यसूची, ढुवानी खर्च र भन्सार लागत
अनुसार चीनबाट आएको इन्डक्सन निकै महंगो पर्ने
देखिएको घिमिरेको भनाइ छ । ‘एउटा इन्डक्सन ९
हजार २ सय रुपैयाँमा बेच्नुपर्ने देखिएको छ । अब के गर्ने
भनेर अर्थ मन्त्रालयमा राय मागेका छौं’ सहसचिव
घिमिरेले अनलाइनखबरसँग भने-‘अर्थले दिने सुझावका
आधारमा मूल्य तोकेर बेच्न सुरु गरिनेछ ।’
चीनले अनुदानमा दिएको इन्डक्सन चुल्हो
सर्वसाधरणलाई नेशनल ट्रेडिङले बेच्नेछ । अर्थ मन्त्रालय
पनि नियमित अनुदान कटौती हुने गरी आएको सहयोग
भएकाले त्यसलाई लागत अनुसार नै बेच्नुपर्ने पक्षमा
देखिएको छ ।
यदि अर्थ मन्त्रालयले लागतअनुसार बेच्नुपर्ने भनेर सुझाव
दिएमा एउटा चिनियाँ इन्डक्सनको मूल्य ९ हजार २
सय रुपैयाँ नै पर्नेछ । भारतीय इन्डक्सन ४ देखि ७ हजार
रुपैयाँसम्म नेपालमा पाइरहेका बेला चिनियाँ
इन्डक्सक्नको मूल्य बढी पर्ने भएको छ ।
नियमित रकमबाटै नाकाबन्दीमा चीनको अनुदान
नेपालले उर्जा र आपूर्तिको संकट बेहोरिरहेको समयमा
चीनले नेपालमा तेल, इन्डक्सन चुल्हो र खाद्यान्न
अनुदानमा पठाएको थियो । सकंट पर्दा मन खोलेर
सहयोग गरेको भन्दै आम नागरिकले चीनको निकै
प्रशंसा पनि गरे । भारतले हेपेका बेला चीनले नेपालमा
सहयोग बढाएको भनेर नेपालीले खुशी मनाए ।
तर, नाकाबन्दीमा चीनले दिएको अनुदान पूर्वघोषित
नियमित सहयोग रकमबाटै कट्टा हुने गरी आएको हो
भन्ने कुरा धेरै नेपालीले महसुस गरेनन् । ‘कतियलाई
सरकारले अनुदानमा ल्याएको तेल पनि बेचेर खायो
भन्ने परेको छ’ वाणिज्य मन्त्रालयका प्रवक्ता
शम्भुप्रसाद घिमिरेले भने- ‘तर, त्यसो हुँदै होइन, चीनले
यो अनुदान थप अनुदान घोषणा गरेर दिएको होइन,
अप्ठेरोलाई सहज गराउन नियमित अनुदानभित्रकै रकम
काटिने गरी तेेल, इन्डक्सन र खाद्यान्न पठाएको हो
।’
नियमित अनुदानबाट कट्टा हुने गरी चीनले नेपाललाई
आर्थिक सहयोग गरेका कारण कटौती भएको अनुदान
रकम उठ्ने गरी मात्रै तेल, इन्डक्सन र खाद्यन्न बेच्नुपर्ने
अवस्था आएको घिमिरेले बताए ।
चीनबाट आएको तेल नेपाल आयल निगमले बिक्री
गरिसकेको छ । अर्थ मन्त्रालयका वैदेशिक सहायता
समन्वयन महाशाखाका प्रमुख मधुरमण मरासिनीले तेल
बचेको रकम आयल निगमसँग मागिने बताए ।
‘नियमित अनुदानमा आएको रकम विकासमा खर्च हुन्छ
। आयल निगमले चीनबाट आएको तेल बेचेकै हो । अब
हामीले आयल निगमसँग त्यो रकम माग्छौं ।’
मरासिनीले भने-‘अनुदानको रकम सबै अन्यत्र खर्च गर्दा
विकास आयोजनाहरु प्रभावित हुन्छन् । त्यसैले
अनुदानमा नै आएका सामग्री पनि नबेची सुख छैन ।’
चीनले नेपाललाई यसअघि नेपाललाई १३ लाख लिटर
पेट्रोल अनुदानमा दिएको थियो । अब फेरि सोही
परिमाणमा इन्धन दिन चीन सहमत भइसकेको छ । यस्तै
११ हजार ३ सय वटा इन्डक्सन चुल्हो दिएको ३० टन
चामल, १० टन तोरीको तेल र १० टन नुन अनुदानमा
दिएको छ ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.