-->
मधेसी मोर्चा फुटको संघारमा, यादव, ठाकुर र महतोबीच कुरै हुन छाड्यो

काठमाडौं, १७ पुस । विगत चार महिनादेखि
जारी मधेस आन्दोलन आन्तरिक गुट र चरम
असन्तुष्टिका बीच गुज्रिएको रहस्य खुलेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको
आन्दोलनमा रहेका चार वटा दल चारतिर
विभाजित रहेको खेलेको हो ।
विशेष गरेर संघीय समाजवादी फोरम नेपालका
अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक
पार्टीका अध्यक्ष महन्थ ठाकुर एकातिर छन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अर्को
कित्तामा छन् ।
यादव र ठाकुरले मधेस आन्दोलन आ–आफूले चलाएको
भ्रम पालेर बसेका छन् । महेन्द्र राय यादव पनि तीन
शीर्ष नेताहरूसँग असन्तुष्ट छन् । आफ्नो दललाई
सानो भनेर हप्ने गरेको भन्दै रायले असन्तुष्टि जनाउने
गरेका हुन् ।
मधेस आन्दोलनको नेतृत्व आफूले गरेको भ्रम सद्भावना
पार्टीका अध्यक्ष महतोलाई पनि परेको छ । हुन
पनि अहिलेको आन्दोलन राजेन्द्र महतोले मात्रै
हाँकेका हुन् की भन्नेहरू पनि कम छैनन् ।
यस पटकको मधेस आन्दोलनमा राजेन्द्र महतोको
अलि धेरै सक्रियता देखिएको छ । महतो आफै
वीरगञ्ज नाकामा धर्ना बसेर आन्दोलनलाई शसक्त
बनाउने प्रयास गरेपछि उनको उचाइँ बढेको
राजनीतिक विश्लेषकहरूले बताएका छन् । महतोको
उचाइँ बढेको देखेपछि यादव र ठाकुरले चिन्ता
जनाउने गरेको स्रोतको भनाइ छ ।
आन्दोलनकै क्रममा विराटनगरको झडपमा घाइते
भएका महतो अहिले धरानमा उपचार गराइरहेका छन्
। मधेस आन्दोलनमा मधेसी मोर्चाका चार
राजनीतिक दलमध्ये धेरै फाइदा सद्भावना
पार्टीलाई पुगेको राजनीतिक विश्लेषकहरूको
भनाइ छ ।
यतिसम्मकी उपेन्द्र यादव र राजेन्द्र महतोबीच
सार्वजनिक कार्यक्रममै भनाभन हुन थालेका
समाचार आउन लागेका छन् । यादव र महतोको
निजी सहयोगीहरूमार्फत एकअर्काप्रति लाञ्छना
लगाउन पनि थालिएको छ ।
सामाजिक सञ्जालहरू प्रयोग गरेर यादव र महतोले
एकअर्कालाई लाञ्छना लगाउने गरेका हुन् ।
आरोप प्रत्यारोपका कारण अहिले विशेष गरेर तीन
शीर्ष नेता यादव, ठाकुर र महतोबीच राम्रोसँग
बोलचालै हुन छाडेको स्रोतको भनाइ छ ।
मिडियाको डरले तीन शीर्ष नेताहरू एकै स्थानमा
रहेको संकेत दिन खोजेपनि उनीहरूबीच सम्बन्ध
तनाबपूर्ण छ ।
एकथरी युवा नेताहरू चार शीर्ष नेताहरूलाई
मिलाएर मधेस आन्दोलनलाई आफ्नो लक्ष्यामा
पुगाउन सक्रिय पनि छन् । तर ती युवा नेताहरूलाई
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले
मन पराउने गरेका छैनन् ।
पुस १९ गते मधेसी मोर्चाको बैठक बस्ने भनेर तमलोपा
अध्यक्ष ठाकुर र संघीय फोरमका अध्यक्ष यादवले
सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
बैठक बस्ने हो की नबस्ने हो त्यसबारेमा सद्भावना
पार्टीलाई कुनै जानकारी छैन । सद्भावना
स्रोतका अनुसार पुस १९ गते मधेसी मोर्चाको बैठक
बस्ने सम्भावना अत्यन्तै न्यून छ ।
पुस १९ गते बुटवल र अन्य विभिन्न स्थानहरूमा
आन्दोलनका कार्यक्रम रहेकाले सो दिन बैठक
बस्नेमा शंका रहेको स्रोतले जनाएको छ । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.