-->
पत्नीको नजरमा सिपी मैनाली


एमालेको नौ महिने सरकार निकै
लोकप्रिय बन्यो । तर, त्यही
सरकारका स्थानीय विकासमन्त्री
सिपी मैनाली ‘आर्थिक
अनियमिततामा संलग्न भएको’ भन्दै
बर्खास्त गरिए । पछि एमाले विभाजन
हुँदा उनी मालेतिर लागे र अहिले पनि
त्यसकै नेतृत्व गरिरहेका छन् । झापाका
उनकै सहकर्मी केपी ओली प्रधानमन्त्री
भएका वेला उनी उपप्रधानमन्त्री बनेका
छन् । मैनालीका बानी र स्वभावबारे
पत्नी नीलमसँग नयाँ पत्रिकाका
खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :
प्रेम/विवाह
४. तपाईंहरूको बिहे कहिले भएको ?
०३२ सालको २६ साउनमा भएको हो ।
५. प्रेम विवाह कि मागी विवाह ?
प्रेम विवाह नै भन्नुपर्यो । उहाँले मन
पराएपछि पार्टीको अनुमति लिएर
बिहे गरेको हो ।
६. कसले पहिला प्रस्ताव गर्नुभयो ?
उहाँले गर्नुभएको नि । म १३–१४ वर्षकै
उमेरमा पार्टीमा लागेकी थिएँ ।
झापा को–अर्डिनेसन केन्द्रको बाल
रेड गार्ड थिएँ । उहाँ मभन्दा सात वर्ष
जेठो हुनुहुन्थ्यो । ‘म तिमीलाई मन
पराउँछु, बिहे गर्नुपर्छ है’ भन्नुभयो ।
७. अनि, तपाईंले एकैपटकमा मान्नुभयो ?
कहाँ मान्नु ? त्यसको छुट्टै कथा छ ।
८. कस्तो कथा नि ?
भूमिगत हुँदा म त सानै थिएँ । आरके
कमरेडसँगै हिँड्थेँ, क्षेत्र एउटै थियो ।
उहाँलाई गाउँले बूढापाकाहरूले ‘आफू
मात्रै हिँडेको भए हुने, यति सानी
छोरीलाई त सँगै नलिएर हिँडेको भए हुने’
भन्थे । उहाँले पनि ‘यो जुनीमा तिमी
मेरी छोरी त हुन सक्दिनौ, बुहारी बन’
भन्नुभयो । अनि, एकजना चिनेको
राजवंशी अग्रज हुनुहुन्थ्यो, उहाँले पनि
‘चन्द्र (सिपी)को दुलही बन’ भन्नुभयो ।
९. उहाँहरूले भनेपछि प्रस्ताव
स्विकार्नुभयो ?
अँ । ‘ठिकै छ नि त, २० वर्ष पुगेपछि बिहे
गरौँला’ भनेँ ।
१०. किन चाँडै बिहे गर्नुभयो त ?
म पक्राउ परेँ, दुई वर्ष जेल बसेँ । छुटेको डेढ
हप्तापछि भेट हुँदा फेरि त्यही प्रस्ताव
दोहोर्याउनुभयो । अनि पार्टीको
अनुमति लिएर बिहे गर्यौँ ।
११. दुवैजना भूमिगत हुनुहुन्थ्यो, बिहेपछि
सँगै बस्नुभयो कि छुट्टाछुट्टै
कार्यक्षेत्रमा खटिनुभयो ?
कहाँ सँगै बस्नु नि ? २६ गते बिहे भयो, २९
गते पार्टीले मलाई जनकपुर खटायो ।
मलाई पुर्याउन भने उहाँ आफैँ जानुभएको
थियो ।
सुत्ने/उठ्ने
१२. कति बजे उठ्नुहुन्छ ?
पहिला–पहिला उमेर हुँदा त तीन बजे
उठ्नुहुन्थ्यो । तर, अचेल पाँच बजेसम्ममा
उठ्नुहुन्छ ।
१३. चिया/कफी के रुचाउनुहुन्छ ?
कालो चिया खानुहुन्छ ।
१४. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ । मन्त्री क्वार्टरभित्रै
मर्निङवाक गर्नुहुन्छ । त्यसपछि एकछिन
एक्सरसाइज गर्नुहुन्छ ।
१५. योगा पनि गर्नुहुन्छ ?
हल्का गर्नुहुन्छ ।
१६. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ
कि ?
साँझमा त गर्नुहुन्न । भ्याउनु नै हुन्न ।
१७. राति कतिखेर सुत्नुहुन्छ ?
फुर्सद हुँदा त १० बजे नै सुत्नुहुन्छ । काम
हुँदा १२–१ बजेसम्म पनि बस्नुहुन्छ ।
१८. सुत्नुअघि केही खाने बानी छ ?
बानी नै त छैन । कहिलेकाहीँ काम गर्दै
हुनुहुन्छ भने राति आफैँ बनाएर ग्रिन टी
खानुहुन्छ ।
१९. घरमा बस्दा कस्ता लुगा लगाउन मन
पराउनुहुन्छ ?
ट्रयाक–सुट लगाउनुहुन्छ ।
खाना/खाजा
२०. बिहानको खाजामा के लिनुहुन्छ ?
सामान्यतया हामी बिहान खाजा नै
खाँदैनौँ ।
२१. खानामा के मन पराउनुहुन्छ ?
दाल, भात, तरकारी खानुहुन्छ ।
२२. दिउँसो खाजा के खानुहुन्छ ?
भुटेको मकै उहाँलाई एकदमै मन पर्छ । अरू
कुरामा पनि चिल्लो कम भएको मन
पर्छ ।
२३. रातिको खानामा के रुचाउनुहुन्छ ?
भात, रोटी जे हुँदा पनि हुन्छ ।
२४. खानामा कमेन्ट गर्नुहुन्छ कि
गर्नुहुन्न ?
नराम्रो भयो त कहिले पनि भन्नुहुन्न ।
मन पर्यो भनेचाहिँ ‘मीठो बनायौ’
भन्नुहुन्छ ।
२५. कसले पकाएको धेरै मन पराउनुहुन्छ ?
मैले पकाएको मन पराउनुहुन्छ नि ।
२६. किचनमा कहिले पस्नुहुन्छ कि
पस्नुहुन्न ?
पस्न त पस्नुहुन्छ, तर उहाँलाई
जाउलोबाहेक केही पनि पकाउन
आउँदैन । बरु, अरू काममा भने सघाउनुहुन्छ ।
२७. तपाईं आफैँ कत्तिको पकाउनुहुन्छ ?
पकाउन मन पर्छ, फुर्सद हुँदा पकाउँछु ।
रातिको खाना त प्राय: आफैँ
पकाउँछु ।
२८. तपार्इंले पकाएको उहाँलाई एकदमै
मन पर्ने परिकार के हो ?
मैले पकाएको लौकाको कोप्ता
उहाँलाई साह्रै मन पर्छ । मासु पनि मन
पराउनुहुन्छ ।
रेस्टुरेन्ट
२९. तपाईंलाई बाहिर खाना/खाजा
खुवाउन कत्तिको लैजानुहुन्छ ?
काठमाडौंमा त अहिलेसम्म उहाँले
रेस्टुरेन्ट लगेको थाहा छैन । उहिले
बनारसमा हुँदा भने कहिलेकाहीँ रोटी
खान बाहिर जान्थ्यौँ । बरु,
छोराछोरीले एक–दुईपल्ट बाहिर लगेर
खुवाएका छन् ।
३०. गुनासो गर्नुहुन्न तपाईं ?
अहिलेसम्म त त्यस्तो ‘डिमान्ड’
गरिएन । तर, गर्नुपर्ने रहेछ ।
राजनीतिमा सक्रिय भएकाहरूले यस्ता
रमाइला चिजहरूबाट वञ्चित हुनुपर्दो
रहेछ ।
३१. फर्केर हेर्दा कहिलेकाहीँ नरमाइलो
लाग्दैन त्यसमा ?
लाग्छ, कुनै दिन त्यस्ता रमाइला
ठाउँहरू घुम्न पाए, सँगै बसेर खाना–
खाजा खान पाए हुन्थ्यो भन्ने लाग्छ ।
बरु, एकपटक हाम्रो दसैँ नभएको वर्ष
काइँलो देवरले आरके (राधाकृष्ण
मैनाली) दाइसहित हामी सबैलाई
पोखरा लिएर जानुभएको थियो ।
रमाइलो भएको थियो ।
सिनेमा/गीत–संगीत
३२. सिनेमा हेर्न कत्तिको रुचि
देखाउनुहुन्छ ?
सिनेमा हेर्न त मन पराउनुहुन्छ । तर, फुर्सद
पाउनुहुन्न ।
३३. कस्ता सिनेमा रुचाउनुहुन्छ ?
नेपाली सिनेमा । देव आनन्द,
राजकपुरका पुराना हिन्दी सिनेमा
पनि मन पराउनुहुन्छ ।
३४. टेलिभिजनमा सिनेमा कत्तिको
हेर्नुहुन्छ ?
कहिलेकाहीँ हेर्नुहुन्छ । मन परेको
सिनेमा आइरहेको छ भने हेर्नुहुन्छ ।
३५. पछिल्लो समय कुन फिल्म हेर्नुभयो ?
हिन्दी सिनेमा पिके र बागवान
हेर्नुभएजस्तो लाग्छ ।
३६. गीत–संगीतमा कत्तिको रुचि छ ?
सुन्नैपर्छ भन्ने त होइन, तर वेला–वेलामा
सुन्नुहुन्छ ।
३७. कस्ता गीत मन पराउनुहुन्छ ?
नेपालीमा नारायणगोपाल,
तारादेवीका तथा पुराना हिन्दी
गीतहरू पनि रुचाउनुहुन्छ । प्रेमगीतहरू मन
पराउनुहुन्छ ।
३८. दुईजना भएर हलमा सिनेमा
हेर्नुभएको छ कि छैन ?
बनारसमा हुँदा वेला–वेला हेर्न जाने
गथ्र्यौँ । काठमाडौंमा पनि उहिल्यै
मदन भण्डारी, माधव नेपालसहित हेर्न
गएका थियौँ ।
विदेश घुमघाम
३९. विदेश जाँदा तपाईंलाई पनि सँगै
लैजान कत्तिको रुचि देखाउनुहुन्छ ?
अहिलेसम्म त लैजानुभएको छैन । भारत
भने धेरैपटक सँगै गएका छौँ ।
४०. गुनासो गर्नुभएको छैन ?
गरिएन, त्यस्तो परिस्थिति पनि जुरेन ।
अबचाहिँ लैजानुहुन्छ कि †
४१. तपार्इं आफू जाँदाचाहिँ उहाँलाई
कतिपल्ट लैजानुभयो ?
म पनि धेरै देश गएँ, तर उहाँलाई सँगै लैजान
पाइएन । सकभर राज्यलाई भार थप्ने
गरी किन जानु भन्ने हाम्रो मान्यता
भयो । अनि, आयोजकले पनि व्ययभार
थप्न मान्ने कुरा भएन । तर, अरूले त्यसरी
लैजाँदा रहेछन् ।
परिवारसँगको सम्बन्ध
४२. परिवारमा कति सदस्य हुनुहुन्छ ?
हामी दुईजना । एक छोरा, एक छोरी
छन् । दुवैको बिहे भइसक्यो ।
४३. सरकारी निवासमा कतिजना
बस्नुहुन्छ ?
हामी बूढाबूढी र मेरो भदै बस्छौँ ।
छोराबुहारी चाबहिलको घरमै बस्छन्,
त्यो पनि हेर्नुपर्यो ।
४४. परिवारलाई कति समय दिनुहुन्छ ?
‘टाइम म्यानेजमेन्ट’ एकदमै मिलेको छैन ।
व्यस्त हुनुहुन्छ, परिवारलाई समय दिन
सक्नुभएको छैन । मन्त्री भएपछि
परिवारका चारजना सँगै बसेर
अहिलेसम्म खाना खान पाएका छैनौँ ।
४० वर्षको वैवाहिक जीवनको
अवधिमा नौ महिना मात्रै
छोराछोरीसँगै बसेर एक छाक खाना
खाएका छौँ ।
४५. परिवारसँग बसेका वेला कस्ता
कुराकानी गर्नुहुन्छ ?
स्वाभाविक रूपमा राजनीतिक
कुराकानी त भइहाल्छन् । जीवन नै
राजनीति भयो । पारिवारिक
गफगाफ पनि हुन्छन् ।
४६. आफूले थाहा पाएका
राजानीतिक घटनाक्रम तपार्इंसँग
कत्तिको खुलेर सेयर गर्नुहुन्छ ?
बताउन नमिल्ने खालका छन् भने त
बताउनुहुन्न, तर प्राय: बताउनुहुन्छ ।
४७. दाजुभाइ (आरके र सिपी)को
राम्रो सम्बन्ध छैन भन्ने बजार हल्ला छ
नि ?
दुई दाजुभाइ दुई विचारको
प्रतिनिधित्व गर्नुहुन्छ । दुई विचारबीच
बहस, छलफल हुनु स्वाभाविक हो ।
त्यसलाई मिडियाले बढाइ–चढाइ लेख्ने
नै भयो ।
४८. उहाँहरूबीच कुराकानी कत्तिको
हुन्छ ?
प्राय: कार्यक्रममा भेट भइरहन्छ ।
कहिलेकाहीँ काम हुँदा फोनमा पनि
कुरा हुन्छ ।
४९. राधाकृष्ण राजाको
मन्त्रिपरिषद्मा मन्त्री हुँदा उहाँसँग
केही सल्लाह गर्नुभएको थियो ?
कुरा भएको हो । त्यस्तोमा नजानुस्
भन्नुभएको थियो । हाम्रो त
छोराछोरीले समेत नजानुस् भनेका हुन् ।
तर, एउटा कुरा के सत्य हो भने उहाँ
(आरके) राजाको मन्त्रिपरिषद्मा
जानुपर्ने बाध्यता एमालेले नै सिर्जना
गरेको हो ।
लुगा/पहिरन
५०. आफूले लगाउने लुगामा कत्तिको
सचेत हुनुहुन्छ ?
एकदमै सचेत हुनुहुन्छ । पुरानो, टालेको
लुगा भए केही फरक पर्दैन उहाँलाई, तर
सफा, चिटिक्कको हुनुपर्छ ।
५१. के लगाउन रुचाउनुहुन्छ ?
पाइन्ट, सर्ट मन पराउनुहुन्छ ।
५२. आइरन आफैँ गर्न जान्नुहुन्छ कि
जान्नुहुन्न ?
आउँछ नि । उहाँलाई त फाटेका लुगा
टाल्न, सिउनसमेत आउँछ । तर, अचेल त
भ्याउनुहुन्न, हामीले पनि गर्न दिँदैनौँ ।
५३. अचेल कसले लगाइदिन्छ त ?
हामीले लगाइदिन्छौँ ।
५४. लुगा किन्न पसलसम्म आफैँ जानुहुन्छ
कि अरूले किनिदिनुपर्छ ?
अचेल कहिलेकाहीँ जान थाल्नुभएको
छ । तर, किन्नै आउँदैन ।
५५. कुन ब्रान्डका लुगा लगाउनुहुन्छ ?
यही ब्रान्ड भन्ने छैन । जुन मन पर्यो,
त्यही लगाउनुहुन्छ ।
सहयोगी
५६. सहयोगी कत्तिको हुनुहुन्छ ?
एकदमै सहयोगी हुनुहुन्छ ।
५७. मिलेर काम कत्तिको गर्नहुन्छ ?
गर्नुहुन्छ । आफूले जानेको काम गर्नुहुन्छ ।
घर बढार्ने, घरमा दुईवटा पपी (कुकुर) छन्,
उनीहरूलाई धोइदिने, पुछिदिने
गर्नुहुन्छ ।
५८. तपार्इंका लुगा धोइदिएका, आइरन
गरिदिएका उदाहरण पनि छन् ?
किन नहुनु नि ? लुगा धोइदिनुभएको छ ।
मैले आइरन गर्न सिकेकै उहाँबाटै हो ।
कसैले भिजाएर राखेका लुगा छन् भने आफँै
धोइदिनुहुन्छ । घरमा एकजना टुहुरो फुच्चे
पनि छ । उसले दुई दिनदेखि भिजाएका
आफ्ना लुगा धोएको रहेनछ, ती पनि
धोइदिनुभयो ।
५९. पार्टीका कार्यकर्तालाई
कत्तिको सहयोग गर्नुहुन्छ ?
एकदमै सहयोगी हुनुहुन्छ । अप्ठ्यारोमा
परेको मान्छेलाई गाँससमेत दिनुहुन्छ ।
६०. नगद माग्ने कार्यकर्ता कत्तिको
आउँछन् ?
हुन्छन् नि धेरै । उहाँ पनि नबुझीकनै
दिनुहुन्छ । एकपल्ट एकजना आएर
सोलुखुम्बुमा गोमन सर्पले टोकेर
श्रीमतीलाई उपचार गर्न टिचिङमा
ल्याएको, बितिन्, किरिया खर्चसमेत
छैन भनेर आयो । उहाँ पैसा दिन तयार
हुनुभएको थियो । मैले रोकेँ र त्यो
व्यक्तिलाई भनेँ– सोलखुम्बुमा कहीँ
गोमन सर्प पाइन्छ ? लौ मसँगै हिँड
टिचिङमा, सबै खर्चको व्यवस्था
गरिदिन्छु । त्यसपछि हच्कियो । पछि
त आउन–जान ४० रुपैयाँ त दिनुस् भन्न
थाल्यो । उहाँ ठगहरूको फन्दामा धेरै
पर्नुहुन्छ ।
६१. कस्ता ठगहरूको नि ?
ठगेर पैसा खानेहरूको । थरी–थरीका
मान्छेहरू भेटिन्छन् ।
६२. नेताहरू पनि छन् त्यस्तो सूचीमा ?
भन्न त मिल्दैन, तर के गर्नु ? नेतादेखि
पत्रकारसम्म छन् त्यसरी ठग्नेमा । पैसा
लगेर दिँदै दिँदैनन् । सापट लगेको पैसा
मागेँ भने पार्टी नै छाडेर जाने पनि धेरै
छन् । हुन त, म पनि साथीभाइलाई
सघाउँछु नै । तर, मभन्दा ९० गुणा बढी
उहाँ हुनुहुन्छ । धेरै ठगहरूको चंगुलमा
पर्नुहुन्छ ।
तलब
६३. आफ्नो तलब तपार्इंलाई दिनुहुन्छ
कि आफैँ राख्नुहुन्छ ?
तलब त थाप्दा–थाप्दै सकिइहाल्छ,
सबैतिरको खर्च मिलाउँदा । उसरी त
आउने पैसा मलाई नै दिनुहुन्छ ।
६४. आफूले कति राख्नुहुन्छ ?
आफूले थोरै खर्च राख्नुहुन्छ । मलाई दिएर
पनि के गर्नु ? पछि आफँै मागेर
सकिहाल्नुहुन्छ ।
६५. उहाँको खर्च केमा हुन्छ ?
उहाँले धेरै खर्च गर्ने त किताब र
पत्रपत्रिका किन्नमै हो । बाँडेर पनि
सक्नुहुन्छ ।
६६. सबैभन्दा धेरै रकम कहिले दिनुभएको
छ ?
कस्तो काम छ, त्यो हेरेर हुन्छ । पहिला
म प्रशिक्षकका रूपमा पनि काम गर्थेँ,
त्यतिखेर एकपटक मैले उहाँलाई जेमा खर्च
गर्नुहुन्छ गर्नोस् भनेर २५ हजार दिएकी
थिएँ ।
६७. पैसाको बारेमा बूढाबूढीबीच
कहिले किचलो भएको छ कि छैन ?
परिहाल्छ नि वेला–वेलामा । मैले
पैसाको खोजी त गरिहाल्छु । ‘तलब
कहाँ हाल्नुभयो, त्यत्रो पैसा कहाँ खर्च
गर्नुभयो’ भनेर सोधखोज गर्छु ।
६८. त्यस्तो वेला ठाकठुक कत्तिको
पर्छ ?
पर्छ वेला–वेलामा । अस्ति भर्खर मात्रै
‘हिटर बाल्न खोज्यो बत्ती जान्छ,
भान्सामा ग्यास छैन, मन्त्री भएर
ग्यास पनि खोज्न सक्नुहुन्न’ भनेर
कराएँ ।
६९. अनि के भन्नुभयो नि ?
‘भइहाल्छ नि ? कति कराएको ?
ह्याप्पी हुन सिक न’ भन्नुहुन्छ । मैले
यस्तोमा कसरी ह्याप्पी हुनु ? तपाईं
आफँै नै घर चलाउनुस्’ भन्छु ।
७०. रिस मान्नुहुन्न त्यस्तो भन्दा ?
मान्नुहुन्छ । कहिलेकाहीँ ‘त्यही भएर त
सिपीलाई नीलमले चलाउँछिन् भनेर
भन्छन् मान्छेहरू’ भन्नुहुन्छ ।
७१. अनि, तपाईं के भन्नुहुन्छ ?
‘तपाईं मैले चलाएर चल्ने मान्छे हो र’ भनेर
भन्छु ।
रिसाउने/ खुसी हुने
७२. रिसाउने बानी कति छ ?
पहिला त त्यति धेरै रिसाउनुहुन्थेन ।
भूमिगतकालमा एकपल्ट बेगनासमा
झर्नुभयो, उपचार गरेपछि अलि बढी
रिसाउन थाल्नुभएको हो । अचेल त झन्
धेरै रिसाउन थाल्नुभएको छ ।
७३. कस्ता कुरामा रिसाउनुहुन्छ ?
कहिले–कहिले त कुरै नबुझी पनि
रिसाउनुहुन्छ । कसैले राजनीतिक
बेइमानी गर्यो भने धेरै रिसाउनुहुुन्छ ।
७४. रिसाएपछि के गर्नुहुन्छ ?
कराउनुहुन्छ । एकछिन नबोल्ने पनि
गर्नुहुन्छ ।
७५. उहाँ बढी रिसाउनुहुन्छ कि
तपार्इं ?
म नै बढी रिसाउँछुजस्तो लाग्छ ।
हिजोआज म पनि धेरै कराउन थालेकी
छु । पहिला अलि–अलि कराउने,
नबोल्ने गर्थेँ ।
७६. रिसाएपछि कसले पहिला
फकाउँछ ?
उहाँलाई फकाउनै आउँदैन । हामी
रिसाउँदा यसले फकाउने भन्ने पनि
हुँदैन । परिस्थिति र आवश्यकताअनुसार
हुन्छ । जसको काम पहिला पर्छ, उही
पहिला बोल्छ ।
७७. रिसले वा मायाले कहिल्यै
पिट्नुभएको छ ?
अजिब प्रश्न गर्नुभयो । माया गरेर त
पिट्ने कुरै भएन । दुवै राजनीतिकर्मी
भएका कारण उहाँको कुट्ने स्वभाव छैन ।
७८. माया गरेर तपाईंलाई के भनेर
बोलाउनुहुन्छ ?
‘प्रभात’ भनेर बोलाउनुहुन्छ । पहिला
मेरो पार्टीको नाम प्रभात पनि हो ।
७९. तपार्इंले के भनेर सम्बोधन गर्नुहुन्छ ?
पहिला ‘ओ मान्छे’ भनेर बोलाउँथेँ ।
पछि छोराछोरीले ‘ड्याडी’ भने । मैले
नि अचेल ‘ड्याडी’ नै भन्छु ।
जिद्दी
८०. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
जिद्दी त अति गर्नुहुन्छ । उहाँलाई
लाग्यो भने दुनियाँ यताको उता
होस्, टसमस हुनुहुन्न । सजिलै
पुनरावलोकन गर्न मान्नुहुन्न ।
८१. कस्ता कुरामा जिद्दी गर्नुहुन्छ ?
उहाँलाई ठीक लागेका कुरामा
जिद्दी गर्नुहुन्छ ।
८२. जिद्दी गरेपछि सम्झाउँदा पनि
मान्नुहुन्न ?
सम्झाउन अति नै मिहिनेत गर्नुपर्छ ।
८३. तपार्इंले सम्झाउँदा त मान्नुहुन्छ
होला नि ?
अन्तिममा मान्न त मान्नुहुन्छ, सम्झाउन
धेरै नै समय लाग्छ । भनेको नमान्दा
कहिलेकाहीँ अप्ठ्यारोमा पनि
पर्नुभएको छ ।
रक्सी/चुरोट
८४. चुरोट/खैनी खानुहुन्छ कि
खानुुहुन्न ?
खानुहुन्न । ४० वर्षदेखि हामी सँगै छौँ,
कहिल्यै खानुभएन ।
८५. रक्सी खानुहुन्छ कि खानुहुन्न ?
त्यस्तो धेरै खानुहुन्न । कहिलेकाहीँ
पार्टीमा गएका वेला थोरै लिनुहुन्छ ।
८६. कुन रक्सी मन पराउनुहुन्छ ?
ह्विस्की खानुहुन्छ ।
८७. तपाईं खानुहुन्छ कि हुन्न ?
म पनि त्यस्तो खाँदिनँ । त्यस्तै
पार्टीमा गएका वेला वाइन खान्छु ।
८८. दुईजना सँगै बसेर कत्तिको
खानुहुन्छ ?
दुईजना मात्रै बसेर त खाएका छैनौँ ।
पार्टीमा, साथीहरू ‘ग्यादरिङ’
भएका वेला भने खाएका छौँ ।
रोमान्टिक
८९. रोमान्टिक कत्तिको हुनुहुन्छ ?
रोमान्टिक नै हुनुहुन्छ, निराशावादी
हुनुहुन्न ।
९०. कस्तो वेला रोमान्टिक मुडमा
देखिनुहुन्छ ?
कुनै राम्रो काम भयो भने ‘ह्याप्पी’
देखिनुहुन्छ ।
९१. गीत गुनगुनाउने बानी कत्तिको छ ?
कहिलेकाहीँ गुनगुनाउनुहुन्छ । ‘छेक्यो
छेक्यो देउराली डाँडा…’
गुनगुनाउनुहुन्छ । पुराना हिन्दी गीत
पनि गुनगुनाउनुहुन्छ । स्वर त्यति मीठो
भने होइन ।
राजनीति
९२. उहाँले भूमिगतकालमै पार्टीको
नेतृत्व गर्नुभयो, धेरैपछि पार्टीको नेतृत्व
सम्हालेका माधव नेपाल, झलनाथ
खनाल हुँदै अहिले केपी ओली
प्रधानमन्त्री बन्नुभएको छ, उहाँ त्यही
सरकारको उपप्रधानमन्त्री हुनुहुन्छ ।
राजनीतिमा पछाडि परेको
ठान्नुभएको छैन ?
सैद्धान्तिक इमानदारिताका कारण
पछि पर्नुभएको हो । पानी फोहोरै भए
पनि कुलो जता लाग्यो, त्यतै लागेको
भए राम्रो पनि हुन्थ्यो होला । उहाँ
आफैँले पनि कहिलेकाहीँ एमालेका केही
नेताहरूको उदाहरण दिँदै भन्नुहुन्छ, ‘मैले
पनि उनीहरूजस्तै घुँडा टेकेर अगाडि
बढेको भए, यो विचार नलिएको भए ठूलै
बन्थेँ होला ।’
९३. एमाले विभाजनमा हुँदा सबैभन्दा
ठूलो उहाँको भूमिका थियो भन्छन्
नि ?
भन्न त सबैले त्यतिवेला बासी (वामदेव,
सिपी) गुट नै भन्थे । तर, त्यतिवेला
सैद्धान्तिक मतभेदका कारण नभएर
महाकाली नदीका विषयमा पार्टी
फुटेको हो, उहाँले अघि सार्दै आएको
नौलो जनवादका कारण होइन ।
त्यसकारण पार्टी विभाजनमा
उहाँको भूमिका प्रचार गरिएजस्तो
होइन ।
९४. पार्टी विभाजन भएका दिन चित्त
दुखाउनुभएको थियो कि ‘अब नयाँ
शिराबाट नयाँ पार्टी बनाउने’ भन्ने
उत्साह थियो ?
लुटेराहरूले लुटेर लगेको भए पनि आफूले जग
खनेर बनाएको घर भत्किँदा माया त
लागिहाल्छ नि । पार्टी फुट्दा
उहाँलाई पनि नराम्रो नै लाग्यो । तर,
सँगसँगै ‘नयाँ बनाउनुपर्छ, एमाले पनि
जिरोबाट नै सुरु गरेर बनेको हो’ भन्ने
भावना पनि थियो ।
९५. पछि पार्टी एकीकरण हुँदा पनि
उहाँ एमालेमा फर्किनुभएन नि ?
नफुट्नुपर्ने पार्टी फुटिसकेको थियो ।
त्यो पार्टीभित्र पनि उहाँको फरक
धार थियो । ‘जुन बाटोमा हिँड्नु छैन,
त्यही बाटो किन फर्किनू’ भनेर
फर्किनुभएन ।
९६ . एमालेको नौ महिने सरकार निकै
लोकप्रिय बन्यो, तर त्यही सरकारमा
स्थानीय विकासमन्त्री रहनुभएका
उहाँ ‘चिनीकाण्ड’मा मुछिनुभयो,
मन्त्रीबाट बर्खास्त गरियो । के भएको
थियो त्यतिवेला ?
उहाँलाई ‘चिनी, चिनी’ भन्छन् । तर,
त्यतिवेला उहाँले बेथितिविरुद्ध काम
गर्नुभएको थियो । एकजना
व्यापारीलाई त घोक्रयाएर नै बाहिर
पठाउनुभएको हो । तर पछि, ती
व्यापारी ठूला मन्त्रीबाट तोक
लगाएर आए । यो कुरा अझ माधव
नेपाललाई सोध्नुभयो भने राम्रो
हुन्थ्यो होला । उहाँ (सिपी)लाई
मन्त्रालय परिवर्तन गर्न भनियो, मलाई
माधव नेपालले निवासमै बोलाएर पनि
भन्नुभयो । तर, सिपीले मान्नुभएन ।
अन्तत: बर्खास्त गरियो ।
मन्त्री क्वार्टरबाट निस्किँदा सबै
मन्त्राणीहरूले झ्यालबाट चियाएर हेरे,
बिदा गर्नसमेत आएनन् । गायत्री (माधव
नेपालपत्नी) त मेरो क्लासमेट पनि हुन् ।
उनीसमेत आइनन् । तर, जनताले
पुल्चोकबाट बाहिरिँदा फूलमाला र
सडक–किनारमा पानीका घडा राखेर
स्वागत गरे ।
एमालेको अहिले ‘आफ्नो गाउँ, आफैँ
बनाऔँ’ र ‘वृद्धभत्ता’ कार्यक्रमको
प्रशंसा हुन्छ । त्यो कार्यक्रम स्थानीय
विकासमन्त्रीका रूपमा उहाँले नै
ल्याउनुभएको हो ।
उपहार
९७. तपाईंलाई उपहार कत्तिको
दिनुहुन्छ ?
दिनुहुन्छ वेला–वेलामा ।
९८. उपहारमा कस्ता चिजहरू दिनुहुन्छ ?
यही भन्ने हुँदैन । फूलदेखि घडी,
लुगाहरूसम्म दिनुहुन्छ ।
९९. विदेशबाट आउँदा केही
ल्याइदिनुहुन्छ कि हुन्न ?
त्यो बानी त एकदम राम्रो छ । जहाँ
गए पनि केही न केही ल्याइदिनुहुन्छ ।
१००. जन्मदिन, म्यारिज एनिभर्सरीमा
‘विस’ गर्नुहुन्छ कि हुन्न ?
गर्नुहुन्छ । तर, कहिलेकाहीँ बिर्सनुहुन्छ ।
१०१. उहाँले दिएको तपाईंलाई सबैभन्दा
मन परेको उपहार के हो ?
भूमिगतकालमा डायरी दिनुभएको
थियो । पार्टी खुला भएपछि सुनको
सिक्री ल्याइदिनुभएको थियो ।Ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.