नोर्की यम्बु, सिन्धुपाल्चोक
वैशाखमा आएको महाभुकम्पले
सिन्धुपाल्चोकमा घर गर्ल्याम्मै ढल्यो
। गाउँमा सबैका घर ढले । कसैले कसैलाई
सहयोग गर्न सक्ने थिएनन् । धेरै दिनपछि
सरकारले हामीलाई ललितपुरमा ल्याएर
राख्यो । अहिले ललितपुरको नख्खुमा
टहरा बनाएर बसेका छौँ । सरकारको
राहत आउन छाडेपछि मैले चिया पसल
थापेँ । चिया र मःम बेचेर ५ जना
छोराछोरीको पेट पाल्नुपर्छ । स्कुल
पनि पठाउनै पर्यो ।
तीन महिना अघिसम्म ठिकै चल्थ्यो
पसल । नाकाबन्दीपछि त हातमुख
जोर्न पनि धौधौ परिरहेको छ । ग्यास
सकिएको दुई महिना भो, ग्राहक
आउँछन्, फर्किन्छन् । सेवा दिन सकिन्न,
नरमाइलो लाग्छ । ढोकाबाहिर आगो
बालेर चिया पकाउँछु । ‘ढिलो भो’
भनेर ग्राहक किचकिच गर्छन् । कोहि त
पाक्दापाक्दै चिया छोडेर जान्छन् ।
आगोमा नै मःम पकाउँछु । दाउरा पनि
असाध्यै महँगो छ । किलोकै ३० रुपियाँ
लिन्छन् । १० किलो दाउराले मुस्किलले
एक छाक भात पाक्छ ।
चिया तताइरहनुपर्छ । दाउरा फारो
हुन्न । अरू उपाय पनि छैन । के गरेर पेट
पाल्ने होला हामीले ?
सरकारले चाहेमा सबै कुरा सहज हुन्छ
भन्छन् । हाम्रो यति विजोग हुँदा पनि
मन नपग्लिने कस्तो होला सरकार ?
सरकारमा जो भए’नि आफ्नो दुःख
नगरी खान पाउने त होइन । कमसेकम् दुँख
गरी खान पाइयोस् । हामी
भुकम्पपीडितले कालोबजारको ग्यास
किनेर व्यवसाय चलाउन पनि त सक्दैनौ
। सरकारले कि त राहत देओस् कि त
गरिखाने वातावरण सिर्जना
गरिदियोस् ।
हिम्बा राजकोटी मगर, प्युठान
होटल चलाएर गुजारा गरिरहेको छु ।
योभन्दा अर्को विकल्प छैन ।
नाकाबन्दीपछि हाम्रो व्यवसाय
धरासायी बनेको छ । ग्यासको
अभावले ग्राहकको माग पूरा गर्न
सकिएको छैन । जाडोमा चियाको
माग बढी हुन्छ । एक हिसाबले चिया
व्यापार फस्टाउने सिजन नै जाडो
महिना । तर सरकारको झमेलाले
गरिखान पाइएको छैन । दाउरा बालेर
चिया खाजा पकाउँछु । आगोले कोठा
कालो भो भनेर घरबेटीले किचकिच
गरिरहन्छन् ।
गाउँदेखि काम गरेर खान काठमाडौं
आइयो । अब के गरेर जिवन गुजार्ने हो
थाहा छैन । पहिले मःम, चाउमिन,
कफी, ससेज आदि बेच्थेँ, अहिले मेनु नै
कटौती गरेको छु । नाममात्रैको
खाजा पसल भएको छ ।
देश नयाँ सरकारको हातमा आएपछि
भारतले नाकाबन्दी लगाएको भनेर
समाचार र साथीभाइबाट सुनिन्छ ।
सरकारमा जो आएपनि हामीलाइ के
र ? आनन्दले गरिखान पाइयोस् भन्ने हो
। हामीले नै छानेर सरकार भनौदालाई
त्यहाँ पुर्याउँछौ, तर कुर्सी स्वार्थ
नमिलेपछि हामीलाइ नै दुःख दिन्छन् ।
सरकार कान थुनेर बसिराछ कि क्या
हो ? जति गाली र आलोचना गरेपनि
समस्या समाधान गर्नेतर्फ कुनै सुरसार
देखिन्न । अब काम गर्न त परै जाओस्,
पकाएर खान नपाएर ज्यान नै पो
धरापमा पर्ला भन्ने डर छ । सरकारले
झट्टै कुनै उपाय अपनाएर हामीलाई सहज
जिवनशैलीमा फर्काइदिए हुनेथियो ।
लम्हु शेर्पा, सोलुखुम्बु
होटल चलाएर बसेको लगभग १० वर्ष भो ।
कहिल्यै यस्तो भएको थिएन । यो वर्ष
होटल चलाउन साह्रै गाह्रो भएको छ ।
ग्यास पाइएको छैन । आगो बाल्ने ठाउँ
पनि छैन । ग्राहकले अर्डर गरेअनुसार
खाजा बनाउन सकिएको छैन । कति त
त्यसै फर्किन्छन् । ब्ल्याकको ग्यास
किनेर होटल चलाइरहेकी छु । एउटै
सिलिन्डरको ९ हजार लिन्छन्,
जाडोमा टिक्दैन पनि । ब्लयाकमै ४
वटा सिलिन्डर किनिसकेँ । यस्तो
पराले त घाटामै जान्छ व्यवसाय ।
खानेकुराको भाउ बढाएकी छैन,
पहिलेकै भाउमा बेच्छु । बढाएर बेच्दा
पुराना ग्राहक भड्किन्छन् । एक मात्र
गरिखाने बाटो यही हो, भविष्यको
पनि सोच्नु पर्यो ।
हामी नेपाली जनता सोझा रहेछौँ,
जति दुःख र अभाव आइपरेपनि सामना
गरिरहेकै छौं । कहिलेसम्म सरकारले
हाम्रो सोझोपनको फाइदा उठाउने
हो ? कालोबजारले झन्–झन् उग्र रूप
लिदै छ । गरिबहरूको अवस्था झन्
खस्किदै छ । कालोबजार रोक्न
सरकारले आफ्नो निकाय प्रयोग गर्न
सक्छ नि । सोचे भन्दा धेरै निरीह पो
रहेछ हाम्रो सरकार ।Ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...