१९ पुस, काठमाडौं । सरकारी निकायको संलग्नता
भएको एक अध्ययनले भूकम्प प्रभावित जिल्लाका २
लाख ४ हजार भूकम्पपीडित उच्च खाद्य संकटमा परेको
देखाएको छ । खाद्यान्नको माग नआएको भन्दै
सरकारी निकायले अनुदानमा आएको चामल
बिक्रीको तयारी गरिरहेको बेला अर्काे सरकारी
निकायको तथ्यांकले यस्तो डरलाग्दो तस्बिर
बाहिर ल्याएको हो ।
कृषि विकास मन्त्रालयअन्तर्गतको नेपाल खाद्य
सुरक्षा अनुगमन प्रणाली (नेक्साप) र विश्व खाद्य
कार्यक्रमले युरोपेली संघको सहयोगमा गरेको
अध्ययनमा ४८ हजार ६ सय घरधुरीका २ लाख ४ हजार
४ सय भूकम्पपीडित उच्च खाद्य संकटमा परेको
देखिएको राजधानी दैनिकमा खबर छ । गत साउनदेखि
कात्तिकसम्म गरेको अध्ययनले यस्तो देखाएको कृषि
विकास मन्त्रालयले जनाएको छ । कृषि विकास
मन्त्रालयका उपसचिव हेमराज रेग्मीले भूकम्प प्रभावित
जिल्लामा गरिएको अध्ययनले खाद्यान्नको अभाव
देखाएको बताए । ‘भूकम्पले खाद्यान्न उत्पादनमा
ह्रास आउँदा ती जिल्लामा थप समस्या देखिएको
छ,’ रेग्मीले भने, ‘भूकम्प प्रभावित जिल्लामा
खाद्यान्न सहयोग आवश्यक देखिएको छ ।’
यता, बंगलादेश सरकारले भूकम्पपीडितलाई गत जेठमा
पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा
आपूर्ति मन्त्रालयले बेच्न निर्देशन दिएको छ भने
यसअन्तर्गतको नेपाल खाद्य संस्थानले बेच्ने तयारी
गरिरहेको छ । अध्ययनका अनुसार भूकम्प प्रभावित
जिल्ला गोरखाका २० गाविस, नुवाकोटका १३,
रामेछापका १२, दोलखाका ११, सिन्धुपाल्चोकका
३३ र रसुवाका २ गाविसमा खाद्यान्न संकट
देखिएको छ । भूकम्पले गर्दा यो वर्ष मुख्य
खाद्यान्नको उत्पादनमा उलेख्य कमी आएकाले ती
जिल्लामा थप खाद्य संकट चुलिएको हो ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...