२२ पुस, पोखरा । नेपालकै पहिलो भलिवल प्रशिक्षण
केन्द्र पोखरामा बन्ने भएको छ । कास्की जिल्ला
भलिवल संघको अगुवाइमा नेपालमै पहिलोपटक
क्षेत्रीय स्तरको भलिवल प्रशिक्षण केन्द्र पोखरामा
बन्न लागेको हो ।
पचास लाखको लागतमा निर्माण गर्न लागेको सो
भलिवल प्रशिक्षण केन्द्रको बुधबार एक
कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका
सदस्यसचिव केशवकुमार विष्टले शिलान्यास गरे ।
कार्यक्रममा बोल्दै सदस्यसचिव विष्टले खेलको
माध्यमबाट भारतसँग सम्बन्ध सुधार गर्ने बताए ।
भारतको अघोषित नाकाबन्दीले मानवीय संकट
उत्पन्न भएको भन्दै जनस्तरबाट साफ गेम बहिस्कार
गर्नुपर्ने आवाज उठिरहेका बेला उनले साफ गेम
बहिस्कार गरेर थप सम्बन्ध बिगार्नुभन्दा सहभागि भएर
सम्बन्ध सुधार्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘एकथरी मान्छेहरु भारतमा हुने साफ गेम
बहिस्कार गर्नुपर्छ भन्दैछन्, तर यो सम्बन्ध सुधार्ने अवसर
हो, हामीले बहिस्कार हैन, खेल खेलेर सम्बन्ध सुधार
गर्नुपर्छ ।’ उनले भारतले दिएको दुःख र तिक्ततालाई
अभावकाबीच पनि उनीहरुकै मैदानमा गएर उनीहरुलाई
हराउँदै नेपालले खेल जितेर जवाफ दिनुपर्ने धारणा
व्यक्त गरे ।
सदस्यसचिव विष्टले भलिवल प्रशिक्षण केन्द्र ५०
लाखमा बन्न लागेको हो भने त्यसमा ५० लाख
सरकारको तर्फबाट दिने घोषणा गरे । उनले भने,-‘पचास
लाखमा भलिवल प्रशिक्षण केन्द्र बनाउने तपाईंहरुको
योजना रहेछ, यदि यो सत्य हो भने पचास लाख
तपाईंहरुले जुटाएको डकुमेन्ट पेस गर्नुस्, म तपाईंहरुलाई थप
५० लाख सरकारको तर्फबाट तत्काल निकासा गर्छु ।’
सदस्यसचिव विष्टले भलिवललाई राष्ट्रिय खेल
बनाउनुपर्ने पनि बताए । उनले भने,-‘हिमाल, पहाड,
तराई जहाँपनि खेल्न मिल्ने खेल भलिवल हो, यसलाई
राष्ट्रिय खेल बनाउनुपर्छ, तर यो मेरो वशमा छैन, यो
क्याविनेटमा गईसकेको छ, तर मलाई निर्णय गर्न दिने
हो भने म एक मिनेटमा भलिवल छनौट गर्छु ।’
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका
अध्यक्ष खगराज पौडेलले भलिवल प्रशिक्षण केन्द्र एक
वर्ष भित्रमा बनाएर राष्ट्रिय स्तरको भलिवल
प्रतियोगिता गरिछाड्ने दृढता व्यक्त गरे ।
कार्यक्रममा कास्की जिल्ला भलिबल संघका अध्यक्ष
भीम पराजुलीले विभिन्न संघसंस्थाको सहकार्यमा
भलिवल प्रशिक्षण केन्द्र बनाउन लागिएको बताए ।
कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास
समितिका अध्यक्ष यामबहादुर गुरुङले स्वागत र
समितिका कार्यालय प्रमुख प्रकाश वरालले सञ्चालन
गरेका थिए ।
एन्फा कास्कीमा विवाद, खारेज गर्ने सदस्यसचिवको
चेतावनी
यसैबीच अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीमा
विवाद चर्किएको छ । कार्यवाहक अध्यक्ष धरमबहादुर
लामिछाने र उपाध्यक्ष मिलन गुरुङबीच विवाद
चर्किएको हो । एकले अर्कोलाई एन्फा कास्कीले
सञ्चालन गरेको मनकामना केबलकार पोखरा कप फुटवल
प्रतियोगिताको रकम हिनामिना गरेको आरोप
लगाएपछि विवाद चरम उत्कर्षमा पुगेको छ । विवादकै
कारण मंसिर अघि नै सम्पन्न हुने पोखरा कप फुटवल
प्रतियोगिता यस वर्ष मिति पनि तोक्न सकेको छैन
।
विवाद मिलाउन शुरुमा एन्फा कास्कीको
कार्यसमिति र पछि सल्लाहकारसहित बैठक बसेको
थियो । तर दुवै बैठकले विवाद मिलाउन नसकेपछि
साधारणसभा बोलाइएको छ । साधारण सभाले नै
विवाद मिलाउने अपेक्षासहित बैठक डाकिएको
एन्फा कास्कीका पूर्व अध्यक्ष खेमबहादुर गुरुङले बताए
। उसो त अहिलेको समिति नै बैधानिक नभएको चर्चा
समेत चल्न थालेको छ । एक वर्षअघी निर्वाचित
अध्यक्ष गोपीबहादुर भट्टराईले घरायासी कारण
देखाउँदै राजिनामा दिएपछि कार्यवाहक अध्यक्ष
बनेका धरमबहादुर लामिछानेले अधिवेशन नगराई आफू
अध्यक्ष भएको बताउँदै आएका छन् । कार्यवाहक अध्यक्ष
६ महिना मात्रै चलाउन पाउने भएपनि उनले एक वर्ष
वितिसक्दा पनि अधिवेशन नगराउँदा समिति अबैध
भएको खेलकुद क्षेत्रकाहरु टिप्पणी गर्छन् ।
विवाद र आर्थिक हिनामिनाको आरोप बारे
प्रतिक्रिया माग्दा कार्यवाहक अध्यक्ष लामिछाने
र उपाध्यक्ष गुरुङ दुबैले सामान्य कुरा भन्दै विवाद
मिल्ने क्रममा रहेको बताए । उनीहरुले साधारणसभा
पछि विवाद मिल्ने दाबी गरे । यद्यपी दुबैले आर्थिक
हिनामिना नगरेको जिकिर गरेका छन् ।
एन्फा कास्कीको साधारणसभा आगामी सोमबार
बोलाइएको छ ।
यसैबीच, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव
केशबबहादुर विष्टले अबैध एन्फा कास्कीलाई
कार्वाही गर्ने चेतावनी दिएका छन् । पश्चिमाञ्चल
क्षेत्रीय भलिवल प्रशिक्षण केन्द्रको उद्घाटन पछि
पत्रकारहरुसँग कुरा गर्दै उनले विवाद बारे आफूलाई
थाहा नभएपनि अबैध हो भने खारेज गर्ने बताए । उनले
समयमा अधिवेशन नगरेको तथा आर्थिक हिनामिना
भएकोबारे छानविन गर्न एक उच्चस्तरीय समिति
बनेको र उक्त समितिले सिफारिस गर्ने वित्तिकै
कार्वाही प्रक्रिया अघि बढ्ने बताए ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...