नामै नसुनेका देशमा पनि नेपालीहरु काम गर्न जान
थाले
२८ माघ, काठमाडौं । देशभित्र भनेजस्तो काम
नपाएपछि मध्य एसियाका खाडी मुलुकलाई
अधिकांश नेपाली युवाले नियति र बाध्यताको
गन्तब्य बनाएका छन् ।
भाषा र संस्कृति पटक्कै नमिल्ने, राम्रो तलब नपाइने,
जोखिम बढी हुने र ठगिने खाडीको आम यथार्थलाई
नकार्दै नेपाली युवा त्यसको बलियो विकल्प
खोजिरहेका छन् । त्यसैको परिणाम स्वरुप केही
नेपाली आफ्नो व्यक्तिगत प्रयासमा खाडी
बाहेकमा विभिन्न वैकल्पिक देशमा कामकै लागि
पुगिरहेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको सरकारी
तथ्याङ्कलाई आधार मान्दा व्यक्तिगत पहल र
प्रयासमा श्रम स्वीकृति लिएर झण्डै ४ हजार नेपाली
आकर्षक कमाइ हुने देशहरुमा पुगेका छन् । यसैगरी माग
थोरै भएपनि संस्थागत रुपमा म्यानपावरमार्फत
खाडी बाहेकका मुलुकमा जाने कामदार पनि
बढिरहेका छन् ।
यो ६ महिनाको जापान, अमेरिका, फिनल्याण्ड,
बेलायत, क्यानडा, डेनमार्क, हङकङ, सिंगापुर
लगायतका देशमा पनि नेपाली युवा कामकै लागि
गएका छन् ।
पछिल्लो समयमा खाडीबाटै पनि व्यक्तिगत पहलमा
भिसा लिनेहरु बढेको कार्यालयका प्रमुख मधुबिलास
पण्डितले बताए ।
‘खाडी नै किन जानु भन्ने भावना बढेको छ । आफ्ना
आफन्त र चिनेजानेका मान्छे सम्बन्धित देशमा छन् भने
उनीहरुको पहलमा व्यक्तिगत रुपमा भिसा लिएर
जानेहरुको संख्या वृद्धि भइरहेको छ’ पण्डितले भने ।
उनले अहिले नै खाडी वा मलेसियाको विकल्प तयार
भई नसकेको भए पनि विकल्प खोज्ने क्रम भने बढिरहेको
बताए ।
‘सकेसम्म त्यहाँ भन्दा राम्रो कमाइ हुने ठाउँमा जाउँ
भन्ने आम चहाना छ । कतिले त्यसलाई विभिन्न
माध्यमबाट साकार पारेका छन्’ उनले थपे-‘संस्थागत
रुपपमा पनि अन्य मुलुक जान सकिन्छ । तर, व्यक्तिगत
पहलमा उड्ने धेरै छन् ।’
कुन-कुन देश पुग्दैछन् नेपाली युवा ?
खाडीको विकल्प खोज्नेमध्येमा इपिएसमार्फत्
दक्षिण कोरिया जाने युवाको जमात ठूलो छ ।
यसैगरी पोर्चुगल, जापान, माल्दिभ्स, इजिप्ट,
साइप्रस, अफगानिस्तान, टर्कीलगायतका देशमा
संस्थागत रुपमै नेपालीहरु गइरहेका छन् ।
पुस मसान्तसम्म युरोपेली देश जर्मनीका लागि २ सय
४३ जना युवाले श्रम स्वीकृति लिएका छन् । यसैगरी
क्यानडाका लागि ४९ जनाले श्रम स्वीकृति लिएका
छन् भने इजिप्ट जान ६० जनाले अनुमति पाएका छन् ।
यो अवधिमा तीव्र विकास पछ्याइरहेको छिमेकी
चीनमा ५९ जना व्यक्तिगत श्रम स्वीकति लिएर
कामका लागि गएका छन् ।
यस्तै अल्जेरियामा २६, अष्ट्रेलियामा ३१,
अजरबैजनमा ७, ब्रुनाइमा ७१ र चिलीमा १५ युवा
कामका लागि गएको बैदेशिक रोजगार बिभागको
तथ्याङले देखाउँछ ।
कंगोमा २७, डेनमार्कमा २४, फिनल्याण्डमा ३०,
इजरायलमा ९६, हङकङमा १६५, इटालीमा १० र
फ्रान्सका लागि ९ जनाले श्रम स्वीकृति पाएका
छन् ।
यो अवधिमा जापानमा मात्रै २ हजार १ सय ४७
जना युवा व्यक्तिगत श्रम स्वीकृति लिएर उडेका छन् ।
पुससम्म जिट्को मार्फत जापान जान ३८ जना युवाले
संस्थागत श्रम स्वीकृति लिएका छन् ।
पुस मसान्तसम्मको अबधिमा युरोपेली मुलुक
साइप्रसमा ८ सय २२ जना नेपाली गएका छन् ।
यसमध्ये अधिकंशले संस्थागत श्रम स्वीकृति पाएका छन्
। ५ जना युवालाई साइप्रस जान व्यक्तिगत स्वीकृति
दिइएको छ ।
दक्षिण एसियाली मुलुक माल्दिभ्समा पनि
नेपालीहरु जाने क्रम बढ्दो छ । ६ महिनाको
अवधिमा ३ सय १३ नेपालीले माल्दिभ्स गएका छन् ।
जसमा २ सय ८६ जना युवा व्यक्तिगत पहलमै
विदेशिएका छन् ।
यस्तै अमेरिकामा २४३ जना नेपाली श्रम स्वीकृति
लिएर गएका छन् । पोर्चुगल १ सय ४ जना गएकोमा
संस्थागत रुपमा ८९ र व्यक्तिगततर्फ १५ वटा स्वीकृति
दिइएको छ ।
असुरक्षित मानिएको अफगानिस्तानमा ६
महिनाको अवधिमा ६ सय ८१ जना युवा श्रम
स्वीकृति लिएरै गएका छन् । जसमा ६९ जना संस्थागत
तर्फबाट गएका छन् भने ६ सय १२ युवाले व्यक्तिगत श्रम
स्वीकृति लिएको विभागले जनाएको छ ।
यो अवधिमा सेसेल्समा ८८ जना, सिंगापुरमा ३९,
टर्कीमा ३० जना गएका छन् । युगान्डामा १५,
बेलायतमा ५३, अजरबैजनमा ७, पोल्याण्डमा ७,
मोरिरस ९, रोमानियामा ११ र रसियामा १४
जना पुगेका छन् ।
स्पेनमा २३, तान्जानीयामा ११, श्रीलंकामा १९,
पपुवा न्युगेनीमा १३ जना, सोमालियामा १६, केमन
इल्याण्ड २४ र मदागस्कर ७ जना नेपाली कामको
खोजीमा गएका छन् ।
यसैगरी अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, दक्षिण
अफ्रिका, ब्राजिल, कोलम्बिया, जिबुटी, ग्रीस,
गुइना, हंगेरी, इन्डोनेसिया र केन्यामा पनि नेपाली
कामका लागि गएका छन् ।
लाओस, लाटि्भया, लक्जम्बर्ग, माल्टा, मोजाम्बिक,
म्यानमार, नेदरल्याण्ड, नर्बे, पाकिस्तान, स्वीडेन,
स्वीटजरल्याण्ड, थाइल्याण्ड, भियतनाम,
जाम्बीया, सुडान, मालि, जमैकामा पनि श्रम
स्वीकृति लिएर नेपाली काम गर्न गएका छन् ।
कसरी पाउँछन् स्वीकृति ?
आवश्यक डकुमेन्ट पुर्याएर आए व्यक्तिगत श्रम स्वीकृति
लिन कुनै झन्झट बेहोर्नुनपर्ने वैदेशिक रोजगार
विभागको कार्यालय काठमाडौंले जनाएको छ ।
सम्बन्धित कम्पनीसँग भएको सम्झौतापत्र, भिसाको
अनलाइन डकुमेन्ट र व्यक्तिगत अन्य कागजात
ल्याएपछि सहज रुपमा नै स्वीकृति दिने गरिएको
कार्यालय प्रमुख पण्डितले जानकारी दिए । तर,
कतिपय भिसामा भने अनुसन्धान गर्ने गरिएको
पण्डितले बताए ।
कतिपय देशको हकमा भने एम्बेसीमार्फत पनि भिसा
लागेको प्रमाण माग्ने गरिएको छ । विभागले
अनलाइन भिसा जारी भएको लोकेसन पनि ट्रयाक
गरेर त्यसलाई पुष्टी गर्ने गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...