चितवन, फागुन २५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू काठमाडौँ फर्किएलगत्तै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग भेट गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गर्ने बताएका छन् ।
पश्चिम चितवनको नारायणी नगरपालिका–४ अमृतनगरमा निर्मित सहिद स्मारक प्रतीक्षालयको उद्घाटन गर्दै दाहालले प्रमुख दलहरु सरकारमै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्नुपर्ने बताए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले १६ बुँदे सहमति अनुरुप नै कांग्रेस, नेकपा एमाले, एमाओवादी सहितका दलको सहभागितामा सरकार निर्माणका लागि समितिको बैठक बसेर पहल सुरु गरिने बताए । उनले भने, ‘संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ ।’
एक अर्को प्रसंगमा उनले माओवादीबीचको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको पनि बताए ।
उनले मङ्गलपुरबाट मेघौलीसम्म जाने सडक कालोपत्रे गर्न, चितवन राष्ट्रिय निकुञ्जका जनावरबाट प्रभावित जनतालाई उचित राहत दिलाउन र नदी कटान रोक्न आवश्यक पहल गरिने आश्वासन पनि दिए ।
सोही क्षेत्रमा विसं २०४२ मा मारिएका मित्रमणि आचार्य तथा २०५९ सालमा एकै साथ मारिएका तारा काफ्ले, कमल फुयाँल, राजु अधिकारी, कालीबहादुर तामाङ र सीता विकको स्मृतिमा एमाओवादीले सो प्रतीक्षालय बनाएको हो ।
नारायणी नगरपालिकाका एमाओवादीका अध्यक्ष विजय भुजेलका अनुसार रु तीन लाख ५० हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...