पाकिस्तान हिडेकी किशोरीको गड्डाचौकीबाट उद्दार, एजेण्ट पक्राउ
महेन्द्रनगर, ५ जेठ । कास्कीको भदौरेकी १६ बर्षीय एक बालिकालाई भारतको बाटो हुँदै पाकिस्तान लैजादै गरेको अवस्थामा माईती नेपाल कञ्चनपुरले सीमा नाका गड्डाचौकीबाट उद्धार गरेको छ ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टका अनुसार ती बालिकालाई गैर कानुनी रुपमा भारतको अबैध बाटो ‘जम्मु काश्मिर’ हुँदै पाकिस्तानको लाहोर पुर्याईन लागिएको थियो । उनलाई पोखराबाट दिल्लीसम्म पुर्याउने एजेन्ट भरत सुनारलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।
रोजगारीका लागि भारत वा दिल्ली बाट खाडी मुलुक पठाउने भनी नेपाली महिला तथा बालबालिकालाई भारत लैजाने घटनाहरु यसअघि पनि देखिएका भएपनि पाकिस्तान गन्तब्य भने यो पहिलो पटक भेटिएको हो ।
यद्यपी ती बालिका यस अघि पनि काठमाण्डौं–दुबई हुँदै पाकिस्तान पुगी फर्किसकेकी छन् । तर त्यतीखेर पनि उनका नागरिकता प्रमाण पत्र, पासपोर्ट लगायतका आवश्यक कागज पत्र भने एजेन्टले नै बनाई दिएको खुल्न आएको छ ।
बालिकाका बुवाले त्यतीबेला आफू बैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेकोले आफूलाई केही थाहा नभएको बताए । उनले भने– ‘मलाई केही थाहा थिएन । मलाई पाकिस्तानबाट फोन आएपछि मात्रै थाहा भएको हो ।’
ती बालिकाले म्याद नाघिसकेको भिजा, पहिलो पल्ट जाँदा बनाएका अन्य कागजपत्र समेत बोकेकी छन् । ती कागज पत्र मध्येकै एउटा दस्ताबेज उनका बुवा किसान दमाईको मञ्जुरीनामा पनि हो । मञ्जुरीनामामा– मेरी छोरीलाई पढाई लेखाई गराई दिने शर्तमा तपाईँका छोराछोरीको हेरचाह गर्नका लागि तपाईंसँग मेरी छोरीलाई पाकिस्तान पठाउन मञ्जुर छु भनी स्पष्ट लेखिएको छ ।
सो मञ्जुरीनामामा प्रचलित कानुन बोमोजिम औंठाछाप पनि लगाईएको छ । तर सो मञ्जुरीनामा कसले र कसरी बनायो भन्ने बारे बुवा–छोरी नै अनभिज्ञ छन ।
बालिकालाई माइती नेपालको संरक्षणमा पारिवारिक पुनर्स्थापना गर्ने तयारी भई रहेको छ भने अभियुक्त प्रहरी हिरासतमा राखिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...