-->
प्रधानमन्त्रीले किने उधारोमा चाँदीको नेकलेस, पाउजु देखाउँदै सोधे- घाँटीमा लगाउने हो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गहना महोत्सवमा गएर उधारोमा
साढे चार तोलाको नेकलेस किनेका छन्।पाँच तारे होटल 'याक एण्ड यति'मा आजदेखि सुरु भएको अर्न्तराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला उद्घाटनका लागि त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले एस पि गहना उद्योगको स्टलबाट ४ हजार रुपैयाँ बराबरको चाँदीको नेकलेस खरिद गरेका हुन्। चाँदीको नेकलेस लिएर प्रधानमन्त्री ओली 'बिल पठाइदिनू' भन्दै त्यहाँबाट बाहिरिए।
सुनचाँदी महोत्सव उद्घाटनका लागि गएका प्रधानमन्त्री ओलीले त्यहाँ पनि आफ्नो हँसाउने कला लुकाएनन्। चाँदीबाटै बनेको बुद्धको मूर्ति समातेर प्रधानमन्त्रीले व्यापारीलाई सोधे 'यो कति छ?'
व्यापारीले जवाफ फर्काए 'आधा किलो ।' प्रधानमन्त्रीले भने, 'अलि छैन होला आधा किलो।' व्यापारी मज्जाले हाँसे फेरि सवाल जवाफ गरेनन्।
अलि अघि बढेर प्रधानमन्त्रीले पाउजु देखाउँदै सोधे 'त्यो घाँटीमा लगाउने हो?'
व्यापारीले जवाफ फर्काए, 'हैन, त्यो पाउजु हो, खुट्टामा लाउने।'
हसाँउदै अघि बढेका प्रधानमन्त्री ओलीलाई नेपाल सुनचाँदी व्यसायी संघका अध्यक्ष मणिरत्न शाक्यले क्रिस्टल उपहार दिएर विदा गरेका थिए।
‘हामी प्राकृतिकरुपमा धनी छौं’ ,मेलाको उदघाटन गर्ने क्रममा बोल्दै ओलीले भने,’हामीले हामीसँग भएको प्राकृतिक धनको सदुपयोग गर्नुपर्ने उचित समय आएको छ।’ अरु चिज जस्तो धातुलाई उत्पादन गर्न नसकिने भएकाले यसलाई खोजेर निकाल्नु पर्ने बेला आएको उनले बताए।
सुनचाँदी जस्तो प्राकृतिक धन प्राप्त गर्नका लागि आवश्यक कदमका लागि सरकार आफ्नो तर्फबाट तयार रहेको ओलीले सुनचाँदी व्यवसायीहरुलाई बताए। उनले व्यवासयीहरुलाई आत्मविश्वास देखाउन पनि आग्रह गरे। सरकारले नियम, कानुन, विधि हरेक तवरले साथ साथ र सहयोगका लागि तयार रहेको उनले बताए।
शुक्रबारदेखि सुरु भएको अर्न्तराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला नौ गतेसम्म चल्ने आयोजकले जानकारी दिएका छन्। मेलालाई नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, हस्तकला महासंघले आयोजना गरेको हो। मेलामा करिब ६० वटा सम्मका स्टलहरु राखिएका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.