काठमाडौं, वैशाख २७ – एनसेलले अबको ८ महिनामा १२ करोड अमेरिकी डलर अर्थात १२ अर्ब रुपैयाँ दुरसंचार पुर्वाधार विकासमा लगानी गर्ने घोषणा गरेको छ । यो एनसेलको हालसम्मकै उच्च वार्षिक लगानी हो ।
‘२०१६ का बाँकी महिनामा हामी झण्डै १२ करोड अमेरिकी डलर लगानी गर्ने छौ । नेपालीलाई दिर्घकालसम्म सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य बमोविम यो लगानीे नेपालको लागि महत्वपूर्ण रहेको दुरसंचार पुर्वाधारको विकासमा जानेछ जसले उत्कृष्ट नेटवर्क तथा गुणस्तरीय सेवा सुनिश्चित गर्नेछ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भन्नुभएको छ ।
एनसेलको यो घोषणाले कम्पनीको दुरसंचार क्षेत्रमा आक्रामक रुपमा लगानी गर्दै आफ्ना ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने प्रतिवद्घतालाई पुष्टि गरेको छ ।
१२ अर्ब रुपैयाँको महत्वाकांक्षी योजना अन्र्तगत एनसेलले देशका ग्रामिण तथा दुर्गम क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गर्दै दुरसंचार सेवाबाट वञ्चित समुदायमा पहुँच बढाउदै नयाँ नयाँ अवसरहरु सिर्जना गर्ने लक्ष्य लिएको छ । साथै, शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घि गर्दै उच्च गतिका डाटा सेवा प्रदान गर्नेछ ।
हाल एनसेलले काठमाडौं उपत्यका र सगरमाथा क्षेत्रमा आफ्ना ग्राहकहरुलाई २१ एमबी प्रति सेकेन्ड सम्मको डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडौं उपत्यका बाहिर का शहरहरुमा पनि क्रमशःनेटवर्क आधुनिकिकरण गर्दै लैजाने लक्ष्य राखेको एनसेलले जनाएको छ । हालसम्म एनसेल नपुगेको नयाँ शहर र गाउँ विकास समितिलाई मोवाइल नेटवर्कमा जोड्ने पर्किन्स्ले जानकारी दिनुभयो ।
काठमाडौं भुकम्पीय जोखिकका हिसाबले उच्च जोखिम क्षेत्रमा रहेको कारण काठमाडौंमा भुकम्प प्रतिरोधात्मक डाटा सेन्टर निर्माण गर्ने उसको तयारी छ । एनसेलको हाल काठमाडौं, पोखरा, हेटौंडा र विराटनगरमा डेटा सेन्टर रहेको छ । यी मध्ये पोखरा र हेटौंडाका डेटा सेन्टर कन्टेनराईज्ड रहेका छन्, जुन भुकम्प प्रतिरोधात्मक छन् र अति प्रभावित हुँदा पनि एक घण्टा भित्र संचालनमा आउन सक्छन् ।
फोरजी सेवा सञ्चालन गर्न पनि ईच्छुक रहेको भन्दै एनसेलले फोर जी सेवा संचालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग अनुमति मागेको पनि स्पष्ट पारेको छ । ‘फोरजी संचालनका लागि हामी नेपाल दूरसंचार प्राधिकरणको अनुमति पर्खिरहेका छौं । यसमा चाँडै नै सकारात्मक निर्णय हुने आशा छ’ पर्किन्सले भने । एनसेल आफ्ना १ करोड ३० लाख भन्दा ग्राहकको जीवनमा बहुआयामिक लाभ प्रदान गर्न कटिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...