“आफ्नो भवन हुँदा–हुँदै भाडामा बस्नु उचित होइन” – त्रिभुवनबासी “ताला बन्दी गर्नु पनि
उचित होइन” –कालिकाबासी “अहिले तत्काल कार्यालय सार्न मिल्दैन” –कार्यकारी अधिकृत
बुढा
पुनर्वास, १२ जेठ÷कञ्चनपुरको पुनर्वास नगरपालिकाको कार्यालयलाई साविकको त्रिभुवनबस्तीमा सार्न माग गर्दै एक पक्ष आन्दोलित भएपछि अर्का पक्षले त्यसको विरोध गरेको छ । नगरपालिका साविकको त्रिभुवनबस्तीमा सारिनुपर्ने माग राख्दै त्रिभुवनबस्तीका स्थानीय आन्दोलित भएपछि, कालिका गाविसका नागरिकहरुले त्यसको विरोध गरेका हुन् ।
त्रिभुवनबस्तीमा भौतिक संरचना हुदा हुदै पनि नगरपालिका भाडामा बसेकोले सार्न माग गरिएको त्रिभुवनबस्तीका नागरिकहरुको तर्क छ भने, त्रिभुवनबस्तीमा नगरपालिका सारिए आफुहरुलाई निकै टाढा पर्ने भएकाले सार्न नहुने पश्चिम–उत्तरी क्षेत्रका स्थानीयको अडान छ । फलस्वरुप, आ–आफ्ना अडान नछोडेपछि दुई क्षेत्रका नागरिकबीचको विवादले केही समय माहोल निकै उग्र बनेको थियो ।
बिभिन्न सेवा सुबिधाबाट बञ्चित भाडामा बसेको नगरपालिकालाई सबै भौतिक सुविधा सम्पन्न संरचनाले पर्याप्त साविकको त्रिभुवनबस्ती गाविस भवनमा सारिनु जायज र सान्दर्भिक हुने स्थानीय युवा अमित रोकायाको तर्क छ । साथै सबै सेवा सुविधाहरु बिकेन्द्रीकरण भइरहेको बेला आई.बी.आर.डी. बजारलाई मात्र लक्षित गरी नगरपालिका बस्नाले स्वतः त्रिभुवनबासीहरु सेवा, सुविधाबाट बञ्चित रहनु परेकोसमेत वहाँले बताउँनु भयो ।
यसैगरी, नगरपालिका सारिनु पर्ने कुरा तर्कहीन रहेको भन्दै तालाबन्दी गर्ने जस्ता अवैज्ञानिक कृयाकलाप आफूहरुलाई सैह्य नहुने स्थानीय सुशीला खत्रीको भनाई छ । साथै विकास निर्माण कार्यको लागि अग्रसर हुनु जायज भएपनि स्वार्थले प्रेरित आन्दोलन भविष्यको लागि फाइदाजनक नहुनेसमेत वहाँले बताउँनु भयो ।
नगरपालिकाको कार्यालयलाई तीनवटै गा.वि.स.हरु मध्ये एउटा गा.वि.स.मा लैजानुपर्ने समेत माग राख्दै पुनपा–६, प्रतिभानगरका बजारबासीहरुले पुनर्वास नगरपालिकाको कार्यालयमा आईतबार तालाबन्दी गरेका हुन् । शनिबार राती टान्सफर्मर ओभर लोड भएर जलेपछि आईतबार विद्युतीय विषयमा बजारबासी तथा व्यापारीहरुबीच छलफल भइरहँदा नगरपालिका अहिले बसेको भवनबाट अन्तै सरिरहेको छ भन्ने कुरा भेलामा सुन्न आएपछि सो विवाद उत्पन्न भएको थियो ।
“सरकारी भवनहरु जीर्ण बन्दै गहिरहेका छन् बरु नगरपालिकालाई यता उता सार्नु भन्दा साबिक त्रिभुवनबस्ती गाविसमा पर्याप्त भौतिक पूर्वाधारहरु हुदाँ हुदैँ पनि भाडामा बस्नु त्यति उचित नभएको” कुरा प्रतिभानगर बजार ब्यबस्थापन समितिकी उपाध्यक्ष निर्मला पोखरेलले बताउनु भयो ।
यता सरकारले तोकेकै स्थानमा नगरपालिकाको कार्यालय हुनुपर्ने अर्का एक स्थानीय देवी पौडेलको अडान छ । जस्ले जहाँ चाह्यो त्यही लैजान मिल्ने गोजीमा लगाएर हिड्ने मोबाइल नभएको वहाँको तर्क छ ।
नगरस्तरीय सर्वपक्ष समन्वय समितिका सदस्य यमप्रसाद पौडेलले सबै बुद्धिजिबीहरुले निर्णय गरेर तीनै ओटा गाविसलाई पायक पर्ने र कार्यालयको लागि पर्याप्त जमिन (१ विगाह ६ कट्टा) रहेकोले केन्द्रको निर्णयानुसार साविकको त्रिभुवनबस्ती–२ र हालको पुनर्वास नगरपालिका–७ पुरानो इन्धनसंस्थानलाई नै केन्द्रले पुनर्वास नगरपालिकाको कार्यालय चयन गरेको बताउँनु भयो ।
यता पुनर्वास नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले भने सरकारले पुरानो इन्धन संस्थानमा भवन निर्माणका लागि निर्णय गरिसकेको हुनाले तत्काल नगरपालिका सार्न नमिल्ने बरु वडा कार्यालयको चाँडै (दुई महिना) पहल गर्ने बताउँनु भयो ।
नगरपालिकाले विकास निर्माण सम्बन्धी कार्यहरुमा आफूलाई जहिले पनि पछाडि पारिरहेको, वडा कार्यालय पनि कालिका र पराशनमा मात्र राखिएको, सामान्य कामका लागि पनि नगरपालिका नै धाउनु परेको र सेवा सुबिधाहरुमा पनि सौतिनी व्यवहार देखाएको भन्दै असन्तुष्टीपक्ष आन्दोलित भएका थिए ।
शहरी विकास मन्त्रालय अन्तर्गतको बजार क्षेत्र कालोपत्रे र ग्रायभेलिङ्गको लागि आएको बजेटं पनि अन्य स्थानहरुमा मात्र प्रयोग भएको र त्रिभुवनबस्ती टाउँन बजार क्षेत्रमा भने ग्रायभेल समेत नभएको असन्तुष्टपक्षले यस्तो निश्कर्ष निकालेका हुन् ।
ज्ञापन पत्र बुझाउनु अगावै बिना सूचना एका–एक आएर नगरपालिकामा ताला बन्दी किन गरेको भन्दै दुबै पक्ष बीच चर्का चर्कि हुदाँ नगरपालिका क्षेत्र केही समय निकै तनाब ग्रस्त बनेको थियो । तत्काल तनावग्रष्त बनेको महोललाई अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.का इन्चार्ज मदनसिंह धामीको नेतृत्वमा गएको प्रहरी टोलीले तनावग्रष्त महोललाई आफ्नो नियन्त्रणमा लिई तालाबन्दी खुलाएर नगरपालिकाको सेवा तथा कामहरु पुनः सुचारु गराएको थियो ।
नगरपालिकाको कार्यालयको लागि किचलो गर्नु भन्दा पनि सबैलाई पायक पर्ने ठाउँमा नगरपालकाको स्थापना हुनुपर्छ । त्यसैले नगरपालिकाको भवनको लागि आफू–आफूमा बैमनश्यता साँध्नु भन्दा समान सेवा सुबिधाका लागि कर्तव्यसँगै अधिकार खोज्नतर्फ लाग्ने हो की ?


0 comments
प्रतिक्रिया दिनुहोस्...