फोरमको महाधिवेशन आजदेखि विराटनगरमा
विराटनगर: तराई मधेसमा क्षेत्रीय राजनीतिक शक्तिको रूपमा ६ वर्षअघि उदय भएको मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन सोमबारबाट विराटनगरमा सुरु हुँदैछ । महाधिवेशन तीन दिनसम्म चल्नेछ।
संसद्समेत पाँचौ ठूलो पार्टीको रूपमा रहेको लोकतान्त्रिक स्थापना भएको ६ वर्षपछि पार्टीका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारको 'प्रभाव क्षेत्र' मानिएको प्रस्तावित १ नम्बर प्रदेशको मुख्य औद्योगिक सहर विराटनगरमा हुन लागेको हो।
महाधिवेशनको प्राविधिक तथा भौतिक तयारी पूरा भई सक्दा आइतबार राति अबेरसम्म केन्द्रीय समितिको बैठक जारी रह्यो । बैठकले महाधिवेशनमा लगिने एजेन्डामाथि छलफल गरेको छ।
लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको जीवनका लागि यो महाधिवेशन महत्वपूर्ण भएको बताउँदै भने, 'नयाँ विधान पारित गर्दै पार्टीका सबै तहमा नयाँ संरचनाको खाका तयार गर्दैछौं। मधेसमा मात्र नभएर हिमाल र पहाडमा पनि लोकतान्त्रिक विधान भएको हाम्रो पार्टी बिस्तार हुनेछ।' उनले महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्टीको नाम फेर्ने वा यथावत राख्ने भन्ने पनि निर्णय गर्ने जानकारी दिएका छन्।
नेतृत्व चयन र पार्टीको नामको विषयमा भने बन्द सत्रमा छलफल खुला राखिएको बताउँदै गच्छदारले भने, 'पार्टीको मूल सिद्धान्त र मर्म लोकतान्त्रिक धार हुनेछ। म आफैं पनि लोकतान्त्रिक विधिलाई नै सर्वोपरी मान्दछु।' गच्छदारले यो महाधिवेशनले पार्टीको नयाँ विधान पारित गर्दै नयाँ कार्यदिशा तय गर्ने पनि बताएका छन्।
महाधिवेशनमा देशभरका ४२ जिल्लाका हुई हजार एक सय प्रतिनिधि, पाँच सय पर्यवेक्षक र अतिथिसहित दुई हजार ५ सयजना सहभागी हुने बताइएको छ। पार्टीका केन्द्रीय उपाध्यक्ष भारतेन्द्र मल्लिकले सहिद रंगशालमा महाधिवेशन उद्घाटन भई बन्द सत्र राति ९ बजेपछि जैन भवनमा सुरु हुने जानकारी दिएका छन्।
महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेबहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्षस्थ नेता सहभागी हुने बताइएको छ। भारतको सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारी, जनता दल युनाइटेडका महासचिव केसी त्यागी, डा. विजय सोनकर शास्त्री, बिहार र झारखण्डका क्षेत्रीय पार्टीका शीर्षस्थ नेता पनि सहभागी हुनेछन्।
समितिका संयोजक एवं पार्टीका केन्द्रीय उपाध्यक्ष मल्लिकले विदेशी पाहुनाको भव्य स्वागत हुने बताए । उनले भने, 'स्वयंसेवकमार्फत सहभागीको बसोबास, आउजाऊ र अन्य व्यवस्थापन सहज बनाउन सक्दो प्रयास गरेका छौं।'महाधिवेशनको अवसरमा लोकतान्त्रिकका झन्डा, तुल, ब्यानर, होर्डिङ बोर्ड र गेटहरूले विराटनगर झकिझकाऊ बनाइएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...