-->
नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र हो – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका प्रवर्तक शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताएका छन् ।

२५६०औँ बुद्ध जयन्तीका अवसरमा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको आज उद्घाटन गर्दै उनले बुद्ध भूमि र बुद्धको उद्गम थलोमा आफू रहन पाउँदा गौरवको अनुभूति भएको बताए । बुद्धदर्शन विश्व मानव जातिका लागि उपयोगी दर्शन भएको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले भने– “भगवान् गौतमबुद्ध एसियाको ज्योति मात्र नभएर समग्र विश्वको ज्योति हो । बुद्धले दर्शन शान्ति स्थापनाको बलियो आधार हो ।”

उनले बुद्धको शिक्षाले सामाजिक सद्भाव, सहिष्णुता, क्षमादान र निस्वार्थपनलाई विकास गर्न सहयोग पुर्याउने हुँदा यसले मानव समुदायलाई सत्य र अहिंसाको मार्गमा हिँड्न अभिपे्ररित गर्ने बताए।

प्रधानमन्त्री ओलीले बुद्धले प्रतिपादन गरेको बुद्ध दर्शन तथा साहित्य विश्व मानव कल्याणका लागि महत्वपूर्ण रहेको र यसले मानव सभ्यता र संस्कृतिलाई धनी बनाएको उल्लेख गरे

लुम्बिनी क्षेत्र धार्मिक तीर्थस्थलका रुपमा विकास हुँदै गएको र यसलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न सरकारले बृहत् लुम्बिनी विकास योजनालाई कार्यान्वयनमा लाने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले गोष्ठीमा विशिष्ट बौद्ध गुरु तथा बौद्ध विद्वान्ले प्रस्तुत गर्ने कार्यपत्रबाट गौतमबुद्धका विषयमा भएका विभिन्न भ्रम हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमा जनप्रतिनिधिले जारी गरेको संविधान कार्यान्वयनमा लगी मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाइने उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल शाक्यमुनि गौतमबुद्धले बुद्धत्व प्राप्त गरेकै कारण २९ वर्षको युवावस्थामा श्रीपेच, दरबार र सुन्दर परिवार त्याग गर्न सफल भएको उल्लेख गर्दै लुम्बिनी क्षेत्र गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धदर्शनको उद्गम स्थान भएको बताए ।

सरकारले संविधान जारी गरेपछि पहिलो पटक ऐतिहासिक रुपमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको आयोजना गरेको बताउँदै उहाँले यसले नेपालबाट विश्व शान्तिको सन्देश जाने विश्वास व्यक्त गरे ।

‘लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ सुरु भएको गोष्ठीमा सहभागी राष्ट्रका प्रतिनिधिहरुले बौद्ध दर्शनका विभिन्न सम्प्रदाय तथा अभ्यासका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति पाठ गरेर गोष्ठीको उद्घाटन गरेका थिए । सो अवसरमा थेरवाद, महायान र बज्रयान तीन सम्प्रदायका धर्म गुरुहरु उपस्थित थिए । समारोहमा गायिका आनी छोइङ डोल्माले बुद्ध दर्शनसँग सम्बन्धित गीत गीत प्रस्तुत गरेका थिए

शुक्रबारसम्म जारी रहने गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित २४ वटा कार्यपत्र प्रस्तुत हुँदैछ ।
गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वान्को सहभागिता रहनेछ । गोष्ठीमा भाग लिने पाहुनाको आउनेक्रम जारी छ ।

लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती समारोहको जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुनेछ भने सोही समारोहमा मूल गोष्ठीबाट निस्केको निष्कर्षसहितको घोषणापत्र बुद्ध जयन्ती समारोहस्थल लुम्बिनीमा जारी गरिने छ ।


मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार गोष्ठी आयोजनाका लागि प्रधानमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सम्मेलनको मूल आयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति र विषयगत १३ उपसमितिहरु गठन गरिएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.