जापानी नोट छापिन्छ नेपाली कागजमा
बैशाख ३१
नेपालको परम्परागत हाते कागज नेपाली कागजको प्रयोग विस्तारै नेपालमै हराउँदै गैरहेका बेला नेपालको मित्रदेश जापानले भने नेपाली कागजबाट आफ्नो नोट छापिरहेको छ ।
लोत्ताबाट बन्ने यो कागज अरु कागजको तुलनामा बलियो हुनेहुँदा जापानको ५ हजार र १० हजारको नोट यही कागजमा छापिन्छ । जापानका लागि कार्यवाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीका अनुसार नेपाली कागज बलियो हुने हुँदा जापानको५ हजार र १० हजारका नोट छापिने गरिएको हो ।
नेपाल टेलिभिजनको समाचार विवरणमा उल्लेख भए अनुसार जापानी नोट मात्र हैन नेपाली कागजबाट बनेका हस्तकलाका सामग्रीहरुमा पनि जापानीहरुको ठूलो रुची रहेको छ ।
जापानी नोटमा नेपाली कागजको प्रयोग हुने गरेको समाचार बाहिर आएपछि यसलाई अझ प्रबद्र्धन गर्न सरोकारवालाहरुसंग समन्वय गरिरहेको कार्यवाहक राजदूत राजभण्डारी बताउनुहुन्छ ।
नेपाली कागज मात्र हैन, जापानमा नेपाली तयारी पोशाक तथा अन्य हस्तकलाका सामग्री पनि जापानमा ठूलो बजार रहेको छ । जापानीको नेपाली उत्पादनप्रतिको यो मोहलाई उचित ढंगले सम्बोधन गरे निर्यात बढाउन सके मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ ।
त्यसो त नेपाली कागज ग्रामीण क्षेत्रका जनताको आयआर्जनको राम्रो माध्यम बनिरहेको छ । नेपालमा यसको प्रयोग घटिरहे पनि विदेशमा यसको माग बढ्दै गएको छ । यो उद्योगमा संस्थागत लगानी समेत हुन थालेको छ ।
नेपालभित्र सरकारी लिखत लगायतका कागजात नेपाली कागजमै लेख्नु वा छाप्ने गरिन्छ । अहिले आएर शुभकामना, निमन्त्रणा, उपहारका लागि दिइने खाम तथा अन्य सजावटका सामग्री पनि बन्न थालेको छ । यी वस्तुहरु विदेश निर्यात हुन्छन् भने कागज पनि निर्यात भैरहेको छ ।
नेपाली कागजको कच्चापदार्थ जंगल नै हो र अहिलेसम्म स्थानीयस्तरमै सहज रूपमा कच्चा पदार्थ उपलब्ध हुने भएकाले जनताको आयआर्जन बढिरहेको छ । तर कागजमा प्रयोग हुने वनस्पतिको संरक्षण गर्न नसके केही समयपछि कच्चा पदार्थको समस्या हुनसक्ने चिन्ता जागृत हुन थालेको छ ।
स्थानीय जङ्गलमा पाइने लोक्ता, बाबियो र अर्गेली नामको वनस्पतिको बोक्राबाट नेपाली कागज उत्पादन हुने गर्छ । नेपाली कागजको लोकप्रियता विश्वभरि बढ्दै गएको छ । वार्षिक एक अर्ब रुपैयाँको हाराहारीमा कागज निर्यात हुने गरेको पाइन्छ ।
-नेपालजापान डट कम


0 comments
प्रतिक्रिया दिनुहोस्...