आर्मीलाई हराउँदै नेपाल पुलिस झिलझिले गोल्डकपको सेमिफाइनलमा
नेपाल पुलिस क्लब झापाको झिलझिलेमा जारी प्रथम सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिभुवन आर्मी क्लबलाई १–० गोलले सोमबार हराउँदै नेपाल पुलिसले अन्तिम चार स्थानमा आफ्नो स्थान पक्का गरेको हो।
पुलिस क्लबका तीर्थ थापाको एक मात्र निर्णायक गोल निर्णायक बन्यो। उनले खेलको ५५ मिनेटमा गोल गरेर टिमलाई जिताए।
मैदानको मध्य भागबाट नेपाल पुलिस क्लबका रानाले आर्मीका टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठ, बिमल रानामगर, जितेन्द्र कार्कीजस्ता खेलाडीलाई छक्याउँदै लगेर जाली चुमाए।
पहिलो हाफमा दुबै टिमबाट कुनै गोल हुन सकेन। गोल गर्ने मौका भने दुबै टिमले पटक–पटक पाएका थिए। तर रक्षापंक्तिमा रहेका दुबै टिमका खेलाडीले अवसरलाई चुकाइदिएका थिए।
दोस्रो हाफमा भने दुबै टिमले उत्कृष्ट प्रदर्शन गरे। त्रिभुवन आर्मीका कोच चुनबहादुर थापाले गेममा फिनिसिङ राम्रो नभएका कारण हार व्यहोर्नु परेको बताए। उनले भने, ‘हाम्रो टिम नेपाल पुलिस क्लबलाई हराउने गरी मैदानमा प्रवेश गरेको थियो तर केही खेलाडीबाहेक दोस्रो रोजाईका खेलाडी मैदानमा जानुपरेकाले हार व्यहोर्नुपर््यो।’
यता नेपाल पुलिस क्लबका कोच अनन्त थापाले जित सुनिश्चित नै रहेको दाबी गरे। निरन्तरको अभ्यास अनि मेहनतले नतिजा राम्रो आएको उनले बताए।
खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता तीर्थ थापा घोषित भए। उनलाई कन्काई विकास बैंकले प्रदान गरेको नगद ५ हजारले पुरस्कृत गरिएको थियो। सो पुरस्कार झिलझिले शाखाका प्रमुख युवराज राईले प्रदान गरे। मंगलबार रमपम झापा–११ र एपिएफ काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...