-->
ठग म्यानपावर र कन्सलटेन्सीमा छापा हान्ने एसएसपी खनाललाई संसदले दियो धन्यवाद

'सांसदहरुले दिएको हौसलाले काम गर्न थप प्रेरणा मिल्यो'

काठमाडौं, २४ वैशाख । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई धन्यवाद दिएको छ ।
समितिको शुक्रबार बसेको बैठकले शैक्षिक परामर्श केन्द्रको विकृति अन्त्य गर्न र ठगी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको भन्दै धन्यवाद दिइएको हो ।
समितिका सभापति प्रभु साहले वरिष्ठ उपरीक्षक खनालको नेतृत्वमा शैक्षिक परामर्श केन्द्रमाथि कारबाही सुरु गरेपछि अहिले सो क्षेत्रका धेरै समस्या समाधान हुँदै गएको भन्दै त्यसका लागि समितिको तर्फबाट धन्यवाद दिनुभयो ।
सांसद चुडामणि जङ्गली, पे्रमकिशोर साहलगायतले म्यानपावर, परामर्श केन्द्रलगायतका नाममा युवामाथि लामो समयदेखि भइरहेको शोषण हटाउन वरिष्ठ उपरीक्षक खनालले लिएको पहलकदमी स्वागतयोग्य भएको टिप्पणी गर्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
सांसदहरुले टेबुल ठोकेर वरिष्ठ उपरीक्षक खनाललाई धन्यवाद दिएका थिए । बैठकमा सहभागी खनालले सांसदहरुले दिनुभएको हौसलाले आफूलाई काम गर्न थप प्रेरणा मिलेको भन्दै समाजका विकृतिविरुद्ध आफूले कारबाहीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले केही महिनाअघि आफू मातहतको महाशाखाले ठगीमा संलग्न ४१ परामर्श केन्द्रमा छापा मारी तिनका सञ्चालकलाई नियन्त्रणमा लिएको र २४ वटा विरुद्ध मुद्दा चलाएको समितिलाई जानकारी दिनुभयो । अहिले पनि परामर्श केन्द्रबाट भएका ठगीका ६७ वटा उजुरी महाशाखाले अनुसन्धान गरिरहेको र २०८ जना विद्यार्थी विभिन्न मुलुकमा अलपत्र परेको उजुरी महाशाखामा हेरिरहेको उहाँले बताउनुभयो । 
- दैनिक नेपाल डट कम



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.