बिहारको एसबीआई बैंक शाखाबाट ३४ लाख लुटियो
बिहार— बिहारको मुजफ्फरपुर जिल्लास्थित भारतीय स्टेट बैंक (एसबिआइ) को एउटा शाखा हतियारधारी एउटा समूहले लुटेको छ। लुटेरामा बैंकमा रहेको २१ लाख भारतीय रुपैयाँ (करिब ३४ लाख रुपैयाँ) लुटेर लगेको प्रहरीले जनाएको छ।
कर्मचारीलाई पेस्तोल देखाएर लुटपाट गर्न सफल समूह पैसा लिएर भाग्न सफल भएको हो। बैंक रहेको स्थानमा मुजफ्फरपुरको सदर थाना क्षेत्रमा पर्दछ। प्रहरी चौकी नजिकै एसबिआई बैंकको शाखा रहेको छ।
बुधबार बिहान कार्यालय खुल्ना साथ करिब ६ जना हतियारधारी बैंकभित्र प्रवेश गरेका थिए। उनीहरुले बैंकका सुरक्षा गार्ड तथा कर्मचारीलाई नियन्त्रणमा लिए। लुटेराले शाखा प्रबन्धक सहित अन्य कर्मचारीलाई बन्धक बनाएर लुटपाट मच्चाएका थिए। उनीहरुले कर्मचारीको कञ्चडमा पेस्तोल तेर्साएर पैसा देखाउन लगाएका थिए। २१ लाख रुपैयाँ बटुलेपछि लुटेरा समूह बैंकबाट बाहिर निस्किएको थियो।
सिसिटिभी हार्ड डिस्क लुटे
बैंक कर्मचारीले समयमै प्रहरीमा खबर गरेका थिए। तत्काल घटनास्थल पुगेको प्रहरीले अनुसन्धानका लागि सिसिटिभी फुटेज निकाल्न खोज्दा त्यसको हार्ड डिस्क नै लुटेराले लगेको थाहा भयो। प्रहरीमा लुटको उजुरी परेको छ। लुटेराको खोजीका लागि प्रहरीले विशेष टोली बनाएको जनाएको छ। लुटेराले पक्राउ गर्न सजिलो हुने ठानेर सिसिटिभी हार्डडिस्क लुटेको अनुमान बिहार प्रहरीले गरेको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...