-->
डानी आल्भेसले बार्सिलोना छाड्ने

म्याड्रिड: ब्राजिलका रक्षक डानी आल्भेसले आठ वर्ष लामो बसाइपछि बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनाका निर्देशक रोबर्ट फर्नान्डेजले आल्भेसले आफ्नो क्लब छाड्न लागेको बताए । साथै उनले स्टार स्ट्राइकर नेमार बार्सिलोनासँगको अनुबन्धन नवीकरण गर्न तयार भएको पनि जानकारी दिएका छन् । 
 
ब्राजिलियन नेमारले बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न नसक्ने चर्चा थियो । उनको चालू सम्झौता सन् २०१८ मा सकिनेछ । ‘नेमार बार्सिलोनामै लामो समय रहनेछन् । क्लब र नेमारबीच केही समयमै सम्झौता नवीकरण हुनेछ', फर्नान्डेजले भने । स्पेनको कर कार्यालयसँगको विवादका कारण नेमारले बार्सिलोना छाड्न सक्ने चर्चा थियो । स्थानीय सञ्चार माध्यमका अनुसार नेमारलाई भित्र्याउन ठूला इङ्लिस प्रिमियर लिग क्लबले चासो देखाइसकेका थिए । 
 
२४ वर्षीय नेमारले यो सिजन क्लबका लागि ४८ खेलमा ३१ गोल गरेका थिए । फर्नान्डेजका अनुसार आल्भेसले बार्सिलोना छाड्ने कारण व्यक्तिगत भएको बताएका छन् । इटालियन लिग च्याम्पियन युभेन्ट्समा उनी जान सक्ने बताइएको छ । ‘आल्भेस बार्सिलोनामा धेरै माया गरिएका खेलाडी हुन् । तर उनको निर्णयको सम्मान हामीले गर्नुपर्छ', फर्नान्डेजले भने । बार्सिलोना बसाइका क्रममा आल्भेसले २३ वटा उपाधि जिते । उनी सन् २००८ मा सेभिलबाट बार्सिलोना स्थानान्तरण भएका थिए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.