क्यान्सर लाग्ने बिषादीले पकाउँछन् आँप
कञ्चनपुर, 20 जेठ: आँप पाक्ने समय अझै बाँकी रहेपनि बजारमा अहिले विषादी (कारवाइड) प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेको छ ।नेपालमा प्रतिबन्धित कारवाईड प्रयोग गरेर पकाईएको आँप कञ्चनपुर कैलालीको धनगढी, अत्तरिया लगायतका बजारमा खुलेआम बिक्री भइरहेको पाइन्छ ।
कारवाईड प्रयोग गरेर पकाइएको आँप हेर्दा पहेलो, लोभलाग्दो र आकर्षक देखिने भएपनि मानव स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरूले बताएका छन् । कारवाइड प्रयोग गरिएको आँपबाट छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायत अन्य शारीरिक समस्या उत्पन्न हुने सेती अञ्चल अस्पतालका पूर्व सुपरिटेन्डेन्ट डाक्टर गणेशबहादुर सिंहले बताए । ‘कारवाईड एक प्रकारको विषादी हो, यो मानवस्वास्थ्यका लागि हानिकारक हुन्छ,’ डाक्टर सिंहले भने, ‘त्यसैले उपभोक्ता स्वंयम् पनि सजग हुनु पर्छ ।’स्थानीयस्तरको उत्पादित आँप बजारमा आउन नसकेको र रूखमै रहेको अवस्थामा आँप व्यापारीहरूले भारतको उत्तर प्रदेशबाट काँचो आँप आयात गरी त्यसमा पाक्नका लागि जनस्वास्थ्यका लागि हानिकारक कारवाइड प्रयोग गरी बिक्री गर्ने गरेका छन् ।
भारतबाट व्यापारीहरूले आयात गरेका आँप थोक बिक्रेताहरूले बिक्रीका लागि गोदाममा कारवाइड प्रयोग गरी आँप पकाउने गर्छन् । २०७१ मा मात्र धनगढीमा ठूलो मात्रामा कारवाईड हालेर पकाइएको आँप बरामद गरिएको थियो, भने कारवाईड प्रयोग गर्ने व्यापारिहरूलाई कारवाही गरिएको थियो ।
तर, नियमन निकाय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारवाही त परै जाओस, अनुगनमन नै गरेको छैन । खाद्य प्रविधिको अगाडी रहेको हाट बजारमा खुलेआम कारवाइड प्रयोग गरी पकाइएको आँप बिक्री भइरहेको पाइन्छ ।चाडपर्वको मुखमा मात्र अनुगमन गर्ने जिल्ला अनुगमन समितिको कमजोरीको कारण धनगढीको मुख्य बजारमा आम विषादी प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेको हो ।
‘नेपालमा कारवाईड प्रतिबन्ध छ, यसले आँप पकाउन पाइदैन,’ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख उपेन्द्र रायले भने, ‘कारवाईड प्रयोग गरेको पाइए कारवाही हुन्छ ।’
कारवाईड प्रयोग गरेर पकाईको आँपको भेट्ना आसपास साह्रो हुन्छ, भने आँपको अन्य ठाउँ कमलो हुन्छ, पाकेको देखिन्छ । चिकित्सकहरूका अनुसार कारवाईड प्रयोग गरेर पकाइएको आँपको रंग, स्वाद र बास्ना पनि विकास भएको हुँदैन । कारवाईडबाट ग्यास निस्कन्छ, जसले आँप पकाउन मद्दत गर्छ ।कारवाईड प्रयोग गरेर पकाएको आँप खाँदा क्यान्सर समेत हुने भएकाले नेपालमा यसको प्रयोग बन्द गरिएको क्षेत्रीय प्रमुख रायले बताए । खाद्य ऐन २०२३ को दफा ५ उपदफा ३ मा कारवाईड प्रयोग गरेमा ७ महिनादेखि १ वर्षसम्म कैद र ५ देखि १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको रायले जनाए । ऐन संसोधन हुनु अघि १ देखि २ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको थियो ।
यसरी भारतबाट काँचो आँप आयात गरी विषादी प्रयोग गरी उपभोक्ता माथि खेलबाड गर्ने व्यापारीमाथि कारवाही हुनु पर्ने राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बताए ।‘अहिले आँप पाक्ने सिजन नै होइन, नाफा कमाउनका लागि विषादी प्रयोग गरी पकाइएको आँप खुलेआम बिक्री भइरहेको छ,’ मञ्चका अध्यक्ष रेग्मीले भने, ‘खाद्य प्रविधिले प्रभावकारी अनुगमन गरेर कारवाही गर्नु पर्छ ।’
२०७१ मा कारवाईड प्रयोग गरेर पकाईएको आँप नष्ट गर्दा धेरै हदसम्म त्यो काम रोकिएको स्मरण गर्दै रेग्मीले भने, ‘खाद्य प्रविधिकै अगाडी खुलेआम रुपमा कारवाईड प्रयोग गरेर पकाइएको आँप बिक्री भइरहेको छ, कारवाही हुनु पर्दैन ?’


0 comments
प्रतिक्रिया दिनुहोस्...