यु १८ फुटबल : लुम्बिनीले आर्मीलाई हरायो, मनाङ र झापा बराबरीमा
काठमाडौं, असार २ – अठार वर्षमुनिको ललित स्मृति फुटबल प्रतियोगितामा लुम्बिनी फुटबल क्लव विजयी भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा लुम्बिनी फुटबल क्लवले नेपाल आर्मीलाई ६–० को फराकिलो अन्तरले
हराएको छ । लुम्बिनीलाई जिताउन तेजन पुनले २ तथा दामोदार थापा क्षेत्री, जनोमलाल लिगल, मन्दिप थापा र सोवित बुढाथोकीले गोल गरे । यो नतिजापछि समूह बीका लुम्बिनी र आर्मीको समान ३ अंक छ । पहिलो खेलमा आर्मीसँग हारेको जाउलाखेलले अब लुम्बिनीसँग खेल्न बाँकी छ ।
सातदोबाटोमा नै मनाङ मर्स्याङ्दी क्लव र झापा ११ ले भने ३–३ को बराबरी खेलेका छन् । २२ मिनेट भित्रै ३–० को अग्रता लिएको भएपनि त्यसलाई जोगाउन नसक्दा झापाले मनाङसँग अंक बाँड्नु पर्यो ।
झापाका लागि ९ औं मिनेटमा सनम लिम्बुले तथा १६ औं र २२ औं मिनेटमा विकेश लिम्बुले गोल गरेका थिए । तर मनाङका लागि सुवास गुरुङले २४ औं, पासाङ शेर्पाले ५४ औं र अनिल चौधरीले ७९ औं मिनेटमा गोल गर्दै टिमलाई एक अंक दिलाए । लिग कम नक आउट प्रतियोगितामा सहभागि १२ टिमलाई ४ समूहमा बाँडिएको छ । हरेक समूहका २ टिम क्वाटर फाइनलमा पुग्ने छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...