सिंहदेवी (मोरङ), ३२ जेठ, चियाको ब्यवसायिक खेती भन्ने बित्तिकै आम नेपालीले इलाम र झापा जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीय नारायण राईले सुरु गरेको चिया खेती हाल आएर पूर्ण ब्यवसायिक भइसकेको छ । विकासको कुनै पूर्वाधार नभएको बेला १८ वर्ष अघि राईले ५० रोपनीमा सुरु गरेको चिया खेती हाल २५० रोपनीमा विस्तार भएको छ । गाउँमा ब्यवसायिक कामको कुनै सम्भावना नभएको बेला चिया खेतीमा लाखौं रुपैयाँ खर्चिएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउँछन् । बैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष आर्जन गरेको सबै सम्पत्ती उनले चिया खेतीमा लगाका छन् । नारायणकी पत्नी विना खजुम भन्छिन् – 'सुरुका दिनमा चिया रोप्दा धेरैले हाँसी उडाए ।' उराठ लाग्दा अनिकाले डाँडामा चिया रोप्दा कहिल्यै खुसी र सन्तुष्टि हुन नसकेको बताउँदै विनाले भनिन् – द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्नै कठिन थियो ।' राईले आफ्नो 'मातृभूमि टि स्टेट कम्पनी' ले वार्षिक ३ हजार केजी ग्रीन टी उत्पादन गरिरहेको बताए । आफ्नै प्रशोधन मेसिनले प्रशोधित ग्रीन टी (हरियो चिया) को माग उच्च भएपनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालिका विना खजुमले बताइन् । चिया बगानमा हाल गाउँ कै ३० जनाले रोजगारी समेत पाएका छन् । चिया खेतीमा लगातार लागेका राईलाई २०७१ मा सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत ग¥यो । पुरस्कृत भएछि चिया खेती प्रति झनै लगानी र झुकाव बढेको विना बताउँछिन् । विना भन्छिन् – 'धेरै जिम्मेवारी थपिएको छ । उहाँ त आजभोलि सामाजिक काम र चिया खेती विस्तार मै ब्यस्त हुन थाल्नु भएको छ ।' ०७१ मा पुरस्कृत भएपछि राई दम्पतीहरूले थप ५० रोपनीमा चिया विस्तार गरेका छन् । उनीहरुले चियाबाट चमत्कार देखाएपछि स्थानीय बुद्धमान राई, डकलसिंह राई लगायतका थुपै्र किसानले पनि आफ्नो पाखो बारीमा पैसा फलाउन थालेका छन् । डकलसिंहले भने – 'भरखरै सुरु गरेको छु । राम्रो भइरहेको छ ।' उत्तरी मोरङका ८ वटा पहाडी गाविस मध्ये सबैभन्दा दुर्गम गाउँ विकास समिति हो, सिंहदेवी । २०६८ सालको जनगणना अनुसार जम्मा २ हजार ४ सय ७८ जनसंख्या रहेको सिंहदेवीमा ५६६ घरधुरी रहेका छन् । तर, मोरङका अन्य पहाडी गाविसको तुलनामा निक्कै समृद्ध मानिएको सिंहदेवी गाविसबाट बसाई सर्ने क्रम हाल रोकिएको छ । स्थानीय मनोज अधिकारी भन्छन् – 'सिंहदेवीमा जेफाल पर्यटन विकास संस्थाको गठनसँगै होमस्टे सुरु भयो । होमस्टे, नगदेबालीको खेतीमा आकर्षण र सडक जोडिएपछि हाल आएर तराईका मानिसहरूले समेत यहाँ जग्गा किन्न थालेका छन् ।' उनले सँगै जोडिएको लेटाङ–भोगटेनी नगरपालिकाका केही वडामा अझै विद्युतीकरण हुन नसकिरहेको बेला लोडसेडिङ नहुने विद्युत उपभोग गर्ने भाग्यमानी नागरिक सिंहदेवी गाविसका भएको बताए ।
बैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष आर्जन गरेको सबै सम्पत्ती उनले चिया खेतीमा लगाए
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...