-->
प्रधानमन्त्री ओली भन्छन-संसदको चुनावपछि विदा लिन्छु

सुर्खेत: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनीधि सभा (संसद) को चुनाव गराएर मात्र आफूले सरकारबाट विदा लिने बताएका छन् । सरकार परिवर्तनको वहस भइरहेका बेला प्रधानमन्त्री ओलीले तत्काल त्यो सम्भव नभएको बताए । आउँदो मंसिरमा स्थानीय निकाय र अर्को वर्षको मंसिरमा संसदको चुनाव सम्पन्न गराएर मात्र आफूले प्रधानमन्त्रीको पद छोड्ने खुलासा गरेका हुन् ।
 
सरकार परिवर्तन हुन्छ भन्ने थाहा पाएरै आफू प्रधानमन्त्री बनेको भन्दै ओलीले कसैले चाहेर तत्काल नयाँ सरकार बन्ने सम्भावना नभएको दाबी गरे । सुर्खेतमा मंगलवार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले अर्को वर्षको मंसिरसम्म वर्तमान सरकार रहिरहने जिकिर गरे । उनले भने,‘जता गयो त्यहाँ सरकार परिवर्तन कहिले हुन्छ भनेर सोध्छन्, सरकार अवश्य परिवर्तन हुन्छ । तर पहिला यो सरकारले स्थानीय र संसदको चुनाव गराउँछ, त्यसपछि कसैले नभने पनि म आफै विदा लिन्छु ।' उनले आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयास भइरहेको समेत जानकारी दिए ।
 
आफू विकास गर्नका लागि प्रधानमन्त्री बनेको भन्दै उनले अबको दुई वर्षभित्र मुलकमा विकास नभए जनताको सजाय भोग्न तयार रहेको उल्लेख गरे । देश विकासको मार्गमा प्रस्थान गरेको भन्दै उनले अबको दुई वर्षमा सबैले देख्ने गरी विकासले फड्को मार्ने दाबी गरे । त्यसो नभए आफू जनताले दिन सजाय भोग्न तयार रहेको उनको भनाइ छ । देशमा ढीलो काम गर्ने बानीको संस्कारले जरा गाढेको बताउँदै प्रधानमन्त्री ओलीले आफूले छिटो गतिमा विकास गर्छु भन्दा अल्छीहरु छक्क परेको टिप्पणी गरे । 
 
‘हावाबाट बिजुली निकाल्छु भन्दा मान्छेहरु हाँस्छन्, ग्याँस चुल्होमा पुर्याउँछु भन्दा बुद्धिजीवीहरु नै छक्क परेका छन्' प्रधानमन्त्रीले भने,‘ढीला काम गर्ने बानी परेकाहरु कुरा काट्दै रहन्छन्, म विकासको काम गर्दै अगाडि बढ्छु ।' यस्तै प्रधानमन्त्री ओलीले अबको १५ महिनाभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेका छन् । उनले थपे,‘यो मेरो अठोट नै हो, बरु अहिले बाँकी रहेका तुइनको फोटो खिचेर राख्नुस्, भविष्यमा सन्तानलाई तुइन यस्तो थियो भनेर देखाउन काम लाग्छ ।'
 
विकास आयोजनामा बजेट अभावको कारण देखाउने संस्कार हावी भएको भन्दै प्रधानमन्त्रीले भने,‘यो केवल बहाना मात्र हो, तपाँइहरु विकास आयोजना सञ्चालन गर्नुस्, दुनीयाँको जुनसुकै स्थानबाट पनि म पैसा ल्याएर दिन्छु । मेरो पालामा कोही भोकै मर्दैन, म घरमै चामल पुर्याउनेछु ।' यस्तै एमाले सुर्खेतले मंगलवार नै आयोजना गरेको जनसभामा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विदेशमा पढेर फिर्ता भएकाहरुले बजेटको विरोध गरिरहेको आरोप लगाए । 
 
विदेशमा पढेर बुद्धिजीवी भएकाहरुले नेपाललाई बुझ्न नसकेको भन्दै जनताको पक्षमा रहेको बजेटको विरोध गरिरहेको उनको भनाइ छ । एमालेले जनताको पक्षमा बजेट ल्याएकै कारण सरकार परिवर्तनको खेल सुरु भएको भन्दै उनले कुनै पनि शक्तिले एमाले र वर्तमान सरकारलाई हल्लाउन नसक्ने उल्लेख गरे । सुर्खेतको विकासका लागि सरकार गम्भिर रहेको भन्दै उनले अब मान्छेहरु टिकट काटेर हेर्नका लागी आउने गरी सुर्खेतको विकास गरिदिने बताए ।
 
विश्वविद्यालयको सिनेट सम्पन्न
 
यसैबीच मध्यपश्मिाञ्चल विश्वविद्यालयको पाँचौ विश्वविद्यालय सभा (सिनेट) मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीको अध्यक्षतामा सिनेट सम्पन्न भएको हो । सिनेटले विश्वविद्यालयको आगामी योजनाहरु स्वीकृत गरेको छ ।
 
यस्तै प्रधानमन्त्रीले २३ करोड ४० लाखमा निर्माण हुन लागेको विश्वविद्यालय केन्द्रिय प्रशासनिक कार्यालय भवनको शिलान्याश गरेका छन् । हाल विश्वविद्यालयको प्रशासनिक कामहरु भाडाको घरबाट सञ्चानल भइरहेका छन् । यो भवन तोकिएकै समयमा निर्माण सम्पन गर्न प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्री जिल्लामा आएको मौका छोपेर मंगलवार नै मध्यपश्चिम क्षेत्रीय अस्पतालको नयाँ भवनको समेत उदघाटन गरिएको छ । उक्त भवनको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।
 
यस्तै शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विश्वविद्यालयको केन्द्रिय पुस्तकालय भवनको शिलान्यास गरेका छन् । सो अवसरमा शिक्षामन्त्री पोखरेलले राजनीतिकरण र भागवण्डाका कारण विश्वविद्यालयहरु कुरुप बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । 
 
साथै उनले शिक्षाको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही, सांसदहरु पूर्णबहादुर खड्का, सीता नेपाली र पूर्वमन्त्री यामलाल कँडेलले विश्वविद्यालयको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले अबको तीन वर्षमा मप विश्वविद्यालयलाई देशकै नमूना बनाउने प्रतिवद्धता जनाए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.